गायिका विष्णुमाया: पहिले ८ वर्ष दोहोरीमा काम, अहिले आफ्नै दोहोरीमा दिन्छिन् २५ जनालाई रोजगारी !

 भदौ २१, २०७६ शनिबार १४:९:५ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – गायनमा औधी रुचि । त्यसैले सानै उमेरदेखि नै गीत गाउन थाल्नुभयो, लमजुङ, हिले–बन्सारकी विष्णुमाया गुरुङले । 

उहाँ मेलापात, वनपाखा, उकाली–ओराली गर्दा गीत गुनगुनाउनुु हुन्थ्यो । गाउँघरमा हुने पूजा–आजा, बिहेवारी, पुटपुटे, लगायतका काममा पनि उहाँ गीत गाउन पुग्नु हुन्थ्यो । 

जिल्लामा हुने विभिन्न मेला, पर्व उत्सवमा पनि उहाँ गीत गाउन पुग्नु हुन्थ्यो । ‘गाउनमा रुचि थियो, त्यसैले सानैदेखि गीत गाउँथे,’ उहाँले भन्नुभयो, ‘आदरणीय दाजु राजु परियार र बिमाकुमारी दुरा दिदीको गीत खुबै सुनिन्थ्यो । उहाँहरुको गीत गाइन्थ्यो ।’

उहाँको गायन कला र गला देखेर/सुनेर धेरैले प्रशंसा गर्थे । ‘स्वर मिठो छ, काठमाण्डौ गइ संगीत सिकेर लोक दोहोरी गायनलाई अघि बढाउनू, संगीत क्षेत्रमा तिम्रो राम्रो भविष्य छ’ भनेर उहाँलाई हौसला, सुझाव दिन्थे अग्रजहरुले ।

‘भ्वाइस टेस्ट’ पास

त्यसै अनुरुप संगीत सिकेर लोक गायनमा अघि बढ्ने सपना बोकेर उहाँ लमजुङदेखि काठमाण्डौ पुग्नु भयो । । विसं २०६४ सालमा काठमाण्डौ आएर उहाँले रेडियो नेपालमा ‘स्वर परीक्षा’ दिएर उत्तीर्ण पनि हुनुभयो । 

‘काठमाण्डौ गएपछि रेडियो नेपालमा ‘भ्वाइस टेस्ट’ का लागि फर्म खुलेको अग्रज दाइहरुले जानकारी गराउनु भयो र म पास पनि भएँ’, उहाँले खुशी हुँदै भन्नुभयो । 

उहाँका अनुसार रेडियो नेपालबाट ‘भ्वाइस टेस्ट’ पास भएपछि मान्यता नै छुट्टै हुन्थ्यो । 

दोहोरीमा काम सुरु

काठमाण्डौ गएपछि उहाँले ‘कालीगण्डकी दोहोरी’ मा गाउन सुरु गर्नुभयो । उहाँले त्यहाँ तीन वर्ष काम गर्नुभयो । ‘खासमा संगीत सिक्न काठमाण्डौ गएको । दोहोरीमा गाउन सुरु गरेँ,’ उहाँले भन्नुभयो, ‘अनौपचारिक रुपमा संगीत सिक्ने काम दोहोरीमै भयो ।’ 

काठमाण्डौका विभिन्न दोहोरी साँझमा गरी उहाँले झण्डै आठ वर्ष गीत गाउनु भयो । 

‘संगीतमाला रोधी घर’ सञ्चालन : २५ जनालाई रोजगारी 

आफ्नै लगानीमा दोहोरी साँझ चलाउने उहाँमा सोच आयो । र उहाँले नयाँबसपार्क मित्रनगर, काठमाण्डौमा ‘संगीतमाला रोधी घर’ सञ्चालन गर्नुभयो ।

‘आठ वर्ष दोहोरीमा काम गरेँ । अहिले आफ्नै लगानीमा रोधी घर सञ्चालन गरेको छु । मेरो रोधी घरमा २५ जनाले रोजगारी पाएका छन्’, उहाँले भन्नुभयो ।

उहाँले रोधी घर सञ्चालनमा ल्याउनु भएको चार वर्ष बितिसकेको छ । रोधी घरमा आउने अतिथिले मौलिक लोक गीतहरु सुन्न चाहने उहाँ बताउनुहुन्छ । रोधीमा उहाँले नयाँ प्रतिभालाई विशेष स्थान दिँदै आउनु भएको छ । 

लोकदोहोरी क्षेत्रका साथै लोक गीत–संगीत प्रेमीहरुको माझमा अहिले उहाँले आफ्नो छुट्टै स्थान बनाइसक्नु भएको छ । उहाँको गायकीलाई धेरैले रुचाउँछन् ।

पहिलो गीत नै हिट !

विसं २०६४ सालमा रेकर्ड भएको विछोडको भाव झल्कने ‘रानी वनको जोडी मजुर’ गीत धेरै दर्शक–स्रोताको रोजाइँमा पर्यो । यो उहाँको आवाजमा रेकर्ड भएको पहिलो गीत हो ।

‘पहिलो गीत धेरैले रुचाइदिनु भयो । यो गीत सुनेर धेरैले तिम्रो श्रीमानसँग विछोड भएको हो र ! सम्बन्ध छुटेको हो र ! भनेर धेरैले सोध्ने गर्थे,’ उहाँले मुस्कुराउँदै भन्नुभयो, ‘यो त गीतको भावना मात्रै थियो ।’

सुरुकै गीत चलेपछि लोकदोहोरी क्षेत्रमा उहाँको खोजी हुन थाल्यो । त्यसपछि गीत गाउनका साथै देश विदेशमा हुने विभिन्न सांगितिक कार्यक्रममा सांगीतिक प्रस्तुतिका लागि उहाँको ‘डिमाण्ड’ हुन थाल्यो ।

‘पहिलो गीत चल्यो,’ उहाँले भन्नुभयो, ‘सांगीतिक प्रस्तुतिका लागि विभिन्न ठाउँमा बोलाउनु हुन्थ्यो । पहिलो पटक हङकङमा गएर सांगीतिक प्रस्तुति राखेको थिएँ ।’

घर–परिवारको पनि साथ छ

उहाँले गाएको अर्को गीत ‘सल्ला धुपैले...’ धेरैले रुचाए ।  नाचगानमा उहाँले गाएको यो गीत धेरै घन्कियो । अझै पनि गाउँघर, टोल बस्तीमा हुने रमझममा यो गीतले स्थान पाउँछ । घन्किन्छ ।

यो सँगै उहाँले गाएको ‘भेना बेइमान मेरै’, ‘आमा तिम्रो मन’, ‘एैशेलु पहेँलै’, ‘सुन्तलाको रस कति मिठो’ लगायतका थुप्रै गीत चर्चित छन् । उहाँले लोक दोहोरीसँगै कौरा, सालैजो लगायतका गीत गाउँदै आउनु भएको छ । दुई दर्जन बढी लोक गीतमा आवाज भरिसकेको उहाँ बताउनु हुन्छ ।

संगीत कर्मलाई अघि बढाउने उहाँको सोच छ । ‘जानेको सीप यही हो । त्यसैले गीत–संगीत कर्मलाई नै अघि बढाउँछु,’ उहाँले भन्नुभयो, ‘यो क्षेत्रमा लाग्दै गर्दा घर–परिवारबाट राम्रो साथ पाएको छु ।’

अन्तिम अपडेट: चैत १४, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया