महाकालीमा पानीकाे बहाव बढ्याे, भारतबाट नेपाल आउँदै गरेका चार पाङ्ग्रे गाडी पारि नै रोकिए

 भदौ २१, २०७६ शनिबार १५:५८:२१ | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर – शुक्रबार रातिदेखि परेको भारी वर्षापछि महाकाली नदीमा पानीको बहाव बढेपछि चार पाङ्ग्रे गाडीकाे आवत जावत प्रभावित भएको छ। कञ्चनपुरलगायत चुरे क्षेत्रमा परेको भारी वर्षापछि महाकाली नदीमा पानीको बहाव बढेको हो । 

शनिबार दिउँसो २ बजेको मापन अनुसार महाकाली नदीमा पानीको बहाव एक लाख ३४ हजार ८ सय क्यूसेक रहेको इलाका प्रहरी कार्यालय गड्डा चौकीले जनाएको छ । 

नदीमा पानीको बहाव एक लाख नाघेपछि भारतीय पक्षले शारदा ब्यारेजमा चारपाङ्ग्रे गाडीको आवागमनमा रोक लगाएको छ । सामान्यता पानीको बहाव एक लाख नाघेपछि पुलको सुरक्षाको कारण देखाउँदै भारतीय पक्षले चार पाङ्ग्रे गाडीको आवागमनमा रोक लगाउने गरेको छ ।  

आवागमन बन्द भएपछि भारतबाट नेपाल आउँदै गरेका सवारीसाधन पुल पारि रोकिएका छन् । यस्तै, साइकल तथा पैदल यात्रीलाई भने आवतजावत गर्न दिइएको छ । 

यता, नदीमा पानीको बहाव बढेपछि स्थानीय प्रशासनले भीमदत्त नगरपालिका–११, १२ तथा महाकाली नगरपालिकाको तटीय क्षेत्रका स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । 

अन्तिम अपडेट: चैत ९, २०८०

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया