मनकारी जनप्रतिनिधि: वडाध्यक्षकाे पारिश्रमिक छात्रवृत्तिका लागि अक्षयकोषमा

 भदौ २१, २०७६ शनिबार १९:४०:२९ | डीबी बिष्ट
unn.prixa.net

बझाङ - जयपृथ्वी नगरपालिका, वडा नम्बर-१० का वडाध्यक्ष दल बहादुर विष्टले आफ्नो पारिश्रमिकबाट सत्यवादी उच्च मावि भोपुरमा अध्यनरत जेहेन्दार विद्यार्थीका लागि अक्षय कोष स्थापना गर्नुभएकाे छ ।

आफ्नाे तलब र भत्ता सबै केपी फाउन्डेशनको खातामा जम्मा गरी सत्यवादी उमाविमा अध्यनरत २ जना छात्रा र २ जना छात्रका लागि अक्षय कोष मार्फत छात्रवृत्ति दिने उहाँले बताउनुभयाे। सत्यवादी उमाविको वार्षिक उत्सव कार्यक्रममा बोल्दै वडाध्यक्ष विष्टले आफूले अध्यन गरेको विद्यालयलाई सकेसम्म सहयोग गर्ने बताउँदै तलब भत्ता र थप २ लाख गरेर १५ लाखको अक्षय स्थापना गर्नुभएको हो ।

आफूले कक्षा ६ देखि १० सम्म छात्रवृत्ति पाएर नै पढेको बताउँदै विष्टले सबैका छोराछोरी विद्यालय पढ्न नसक्ने भएकाले छात्रवृत्ति ठूलो महत्व रहेकाे बताउनुभयाे ।

उहाँका अनुसार सानो सहयोगले भोलि ती बालबालिकाहरु देशका कर्णदार भएर देश नै बदल्न सक्ने भएकाले आफुले आफ्नी आमा स्वर्गीय देवमति विष्टको सम्झनामा अक्षय कोष स्थापना गरेकाे सुनाउनुभयाे । केपी फाउन्डेशसन जिल्ला प्रशासन कार्यालयमा दर्ता भएर अबको केही दिनमा नै सबै प्रक्रिया पूरा गरेर कोषलाई सञ्चालनमा ल्याउने उहाँको भनाइ छ ।

सत्यवादी उमाविका प्राचार्य रामदत्त उपाध्यायले अध्यक्ष विष्टलाई विषेश धन्यबाद दिँदै विदालयमा अध्ययनरत धरै बालबालिकाहरुलाई छात्रवृत्ति आवश्यक रहेकाले अध्यक्ष विष्टकाे कदम सराहनीय भएकाे बताउनुभयाे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुभक्त जोशीले अध्यक्ष विष्टले गरेको कामको प्रशंसा गर्दै यहाँका जेहेन्दार र गरीब विपन्न समुदायका बालबालिकाहरुका लागी अक्षय कोषले ठूलो राहत पुग्ने बताउनु भयो ।   
 

अन्तिम अपडेट: चैत १६, २०८०

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया