युक्रेन र इजरायललाई ८७ अर्ब डलर सहयोग दिने प्रस्ताव अमेरिकी स...
बैशाख ८, २०८१ शनिबार
लमजुङ – यतिबेला लमजुङका अलैँची उत्पादक किसानलाई अलैँची टिप्न, सुकाउन भ्याइनभ्याइ छ । उनीहरु भदौको पहिलो साताबाट अलैँची टिप्न जुटेका हुन् ।
७ सय मिटरदेखि १२ सय मिटर उचाइसम्ममा लगाइएका अलैँची टिप्न किसान जुटिरहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, अलैँची जोन सञ्चालक समिति लमजुङका संयोजक अजय तामाङले बताउनुभयो ।
‘अहिले लमजुङका किसान अलैँची टिप्न, सुकाउन जुटिरहेका छन् । धेरै किसानले अलैँची टिपी सकेका छन्,’ उहाँले भन्नुभयो, ‘जिल्लाको ७ सय देखी १२ सय मिटर उचाइसम्ममा लगाइएका अलैँची किसानले टिपेका हुन् ।’
उहाँका अनुसार ताराचोक शेरा, ङादी, खुप्लिङ, घाम्राङबेसी लगायतका ठाउँका किसानले अलैँची टिप्दै छन् ।
७ सय देखि १२ सय मिटर उचाइसम्म लगाइएका अलैँची भदौ मसान्तसम्ममा किसानले टिपिसक्छन् भने १२ सय मिटर देखिमाथि उचाइमा लगाइएका अलैँची किसानले असोज पहिलो साताबाट टिप्न सुरु गर्छन् ।
लमजुङका किसानले डम्बरसाइ, गोलसाइ, भर्लाङ्गे र साउने जातका अलैँची लगाउँदै आएका छन् ।
यसवर्ष जिल्लामा अलैँची उत्पादन बढ्नुका साथै विगतको वर्षको तुलनामा यस वर्ष अलैँचीले राम्रो मूल्य पाउनसक्नेमा किसान आशावादी छन् ।
गएको वर्ष जिल्लामा ७ सय ५० क्विन्टल अलैँची बिक्री भएको थियो । अहिले जिल्लामा अलैँचीको क्षेत्रविस्तार भएको छ । अलैँची जोन सुरु हुँदा ६ सय ५० हेक्टर क्षेत्रफलमा अलैँची खेती हुँदै आएकोमा अहिले १२ सय हेक्टर क्षेत्रफलसम्ममा अलैँची खेती विस्तार भएको छ ।
गएको वर्ष किसानले अधिकतम ७ सय ५० रुपैयाँसम्ममा अलैँची बिक्री गरेका थिए ।
‘अलैँचीका हव मानिने जिल्लामा पनि अलैँची उत्पादन घट्दो छ । उत्पादन घटेपछि माग बढ्छ र उत्पादनले मूल्य पाउँछ,’ अलैँची उतपादक किसान समेत रहनुभएका तामाङले भन्नुभयो, ‘यस वर्ष लमजुङमा उत्पादन पनि बढ्ने देखिन्छ । उत्पादित अलैँचीले राम्रो मूल्य पाउन सक्छ ।’
अलैँची राम्रोसँग सुकाउनुका साथै ग्रेडिङ, प्याकेजिङमा किसानले उचित ध्यान दिई अलैँचीको गुणस्तर कायम गर्न सकेमा अलैँचीले राम्रो मूल्य पाउन सक्ने संयोजक तामाङले बताउनुभयो ।
श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।