काठमाण्डौका सडकमा बिजुली बस, यस्ता छन् विशेषता

 भदौ २३, २०७६ सोमबार १५:४०:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौका सडकमा धुलो, धुवाँरहित र वातावरणमैत्री विद्युतीय बस सञ्चालनमा आएको छ । 

नेपालको सार्वजनिक यातायातमा यात्रा गर्दा भोगिने सकस र दुरावस्थालाई केही हदसम्म भए पनि कम गर्न निजी क्षेत्रको सुन्दर यातायातले सार्वजनिक विद्युतीय बस सञ्चालनमा ल्याएको हो । 

भृकुटीमण्डपमा रहेको नेपाल पुलिस क्लबमा भएको विशेष कार्यक्रममा उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले सार्वजनिक विद्युतीय बसको उद्घाटन गर्नुभयो । बसको उद्घाटन गर्दै मन्त्री पोखरेलले आउँदा दिनमा विद्युतीय बसको संख्या बढाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । 

मंगलबारदेखि नै चार ओटै बस सञ्चालनमा ल्याउने भनिए पनि दुई ओटा बसमात्रै सञ्चालनमा ल्याइएको छ । सञ्चालनमा आएका बस पनि प्राविधिक जाँचका लागि सडक विभाग लगिने छ । कम्पनीले दुई ओटा बस पनि अबको केही दिनभत्रै नै सञ्चालनमा ल्याउने जनाएको छ । 

नेपालको सडक सुहाउँदो किसिमले डिजाइन गरिएको बसले रिंगरोडको रुट पाएको छ । सुन्दर यातायातले थप ११ ओटा बस भित्राउन चिनियाँ कम्पनीसँग सम्झौता गरिसकेको छ भने यही वर्षभित्र नै २५ ओटा विद्युतीय बस सञ्चालनमा ल्याउने जनाएको छ । महँगो मूल्य तिरेर ल्याइएको एउटा बसको मूल्य नै १ करोड ६२ लाख रहेको कम्पनीले जनाएको छ । 

यस्ता छन् बसका विशेषता

सडकमा गुड्दा यी बसहरु प्रस्टै छुट्याउन सकिन्छ । लामा आकारका ४० सिटे र ३५ सिटे बसको मुख्य आकर्षण भनेको भित्री बनावट हो । मुख्यतया सार्वजनिक यातायातमा यात्रा गर्दा यात्रुको सुरक्षा प्रमुख चुनौती र महत्वपूर्ण हुने गर्दछ । यही अवस्थालाई ध्यानमा राख्दै सुन्दर यातायातले बसमा प्रशस्त सीसी क्यामेराको जडान गरेको छ । 

यसका साथै बसको सिटसँगै रहेका डस्टबिन, आगो निभाउने यन्त्र र आपतकालीन अवस्थामा सीसा फोरेर बाहिर निस्कनका लागि ह्याम्बरलगायतका उपकरण पनि छन् ।

सुन्दर यातायातको विद्युतीय सार्वजनिक यातायातमा यात्रा गर्दा एयरकण्डिसनर सुविधाका साथै ध्वनी प्रदूषण र धुवाँ प्रदूषणबाट मुक्ति पाइन्छ । विद्युतीय बसको भाडा १५ देखि २० प्रतिशत सस्तो गराउने पहल गरिरहेको सुन्दर यातायातले जनाएको छ । कम्पनीले २१५ रुपैयाँको कार्ड खरिद गर्दा यात्रीले २६५ रुपैयाँ बराबरको यात्रा गर्न सकिने पनि बताएको छ ।

‘चक्रपथमा गुड्ने डिजेलबाट चल्ने गाडीले दैनिक चार हजार रुपैयाँ बराबरको इन्धन खपत गर्दा विद्युतीय सवारी साधनले सात सय रुपैयाँ बराबरको बिजुली खपत गर्छ’, अध्यक्ष थापाले भन्नुभयो । यसबाट यातायात सेवा सरल र सहज बन्नुका साथै ६ वर्षभित्रमा नाफामा जान सक्ने अवस्था रहेको कम्पनीले जनाएको छ ।

बसका अरु सुविधा

बसमा आरक्षण सिट पनि सहजै पहिचान गर्न सकिन्छ । त्यस्ता सिटहरु यात्रुको चाप नहुने भागमा राखिएको छ । सीसी क्यामेराको प्रशस्त प्रयोग, जीपीएस ट्रयाकिङ, एयरकण्डिसनको सुविधाले झन् बसलाई अझ यात्रुमैत्री बनाउने सुन्दर यातायातले जनाएको छ ।

त्यस्तै उभिएका यात्रुलाई सहजरुपमा समात्नको लागि प्रयोग गरिएको ह्याङ्गर नरम र लचकदार हुँदा जुनसुकै उमेरका र उचाइका यात्रुलाई यात्रा गर्दा थप सहज हुने कम्पनीको दाबी छ । 

कम्पनीका अनुसार भाडा तिर्नका लागि यात्रुले अत्याधुनिक प्रविधिको कार्ड र ई–पेमेन्टलाई अपनाउन सक्नेछन् । यात्रुहरुले मोवाइलबाट ‘क्यूआर कोड’ स्क्यान गरेर पनि रकम भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ ।

यस्तो छ बसको रुट

सुन्दर यातायात प्रालीले काठमाण्डौका पाँचवटा रुटमा बिजुली बसको सेवा सुरु गर्ने बताएको छ ।  चक्रपथ परिक्रमा, नारायणथान, जावलाखेल–मेडिसिटी अस्पताल, गोगंबु–सामाखुशी–गौशला–कोटेश्वर हुँदै भक्तपुरको सल्लाघारी, ढुंगेअड्डा–कलंकी–त्रिपुरेश्वर–वीर अस्पताल–जमल–कृष्णपाउरोटी–रातोपुल–गौशला–चावहिल–बौद्ध–जोरपाटी अत्तरखेलसम्म र भक्तपुरको सूर्यविनायक–कोटेश्वर–बानेश्वर– जमल रुटमा बिजुली बस चल्ने कम्पनीले जनाएको छ । 

बिजुली बसको संख्या र रुट थप्ने तयारी पनि भइरहेको सुन्दर यातायात सञ्चालन समितिले जनाएको छ । 

अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया