घरेलु कामदारलाई पुनः श्रम स्वीकृति दिन सुरु, आवश्यक कागजात ल्याउन विभागको अनुरोध

 भदौ २३, २०७६ सोमबार १५:५२:४५ | उज्यालो सहकर्मी

काठमाण्डौ – सरकारले घरेलु कामदारलाई पुनः श्रम स्वीकृति दिन थालेको छ । गएको शुक्रबारदेखि घरेलु कामदारलाई पुनः श्रम स्वीकृति दिन थालिएको श्रम कार्यालय ताहाचलका प्रमुख देवेन्द्र कार्कीले जानकारी दिनुभयो । 

यसअघि प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले एकपटक घरेलु कामदारको रुपमा बसेर फर्किएकाहरुलाई पुनः श्रम स्वीकृति दिन निर्देशन दिएको थियो । 

अवैधानिक बाटो हुँदै जाने तथा राम्रो काम र तलब हुनेले पनि पुनः श्रम स्वीकृति नपाउने समस्या भएपछि घरेलु कामदारको पुनः श्रम स्वीकृति खुला गरिएको हो । काठमाण्डौ, जनकपुर, विराटनगर, बुटवल र पोखरास्थित श्रम कार्यालयबाट पुनः श्रम स्वीकृति दिन थालिएको वैदेशिक रोजगार विभागका सूचना अधिकारी भोलानाथ गुरागाईँले जानकारी दिनुभयो ।

तर सोमबार दिउँसोसम्ममा एक जनाले पनि पुनः श्रम स्वीकृति भने पाएका छैनन् । 

पुनः श्रम स्वीकृतिका लागि कामदार स्वयमले आफू पूर्ण रुपमा सुरक्षित भएको पुष्टी हुने कागजपत्र पेश गर्नुपर्ने भएकाले कागज नपुगेका कारण सेवाग्राहीलाई पुनः श्रम स्वीकृति दिन नसकिएको प्रमुख कार्कीले बताउनुभयो । 

‘धेरै जना आउनुभएको छ, तर रोजगारदातासँगको करार सम्झौता र दूतावासले प्रमाणित गरेको पत्र नभएकाले हामीले पुनः श्रम स्वीकृति दिन सकेका छैनौं, उहाँले भन्नुभयो, ‘कतिपयले कार्यालयमा आएपछि आफ्नो रोजगारदातासँग आवश्यक कागजात मगाइरहनुभएको छ ।’

गन्तव्य देशमा रहेका नेपाली दूतावासले पनि घरेलु श्रमिकलाई पुनः श्रम स्वीकृतिका लागि आवश्यक पर्ने कागजातका लागि दूतावासमा सम्पर्क गर्न सूचना जारी गरेका छन् ।

के के कागजात चाहिन्छ ?

एकपटक घरेलु कामदारको रुपमा बसेर फर्किएका घरेलु कामदारले आफू कार्यरत देशका नेपाली दूतावासको सिफारिस अनिवार्य ल्याउन पर्छ । 

पुनः श्रम स्वीकृतिको सिफारिसको लागि अवधि कायम भएको भिसा, राहदानी र करार सम्झौताको प्रमाणित प्रतिलिपि, रोजगारदाताको राहदानीको प्रतिलिपि, घरेलु कामदारको रुपमा श्रम स्वीकृति लिइ वैदेशिक रोजगारीमा आएको निस्सा प्रमाण र विदामा स्वदेश गइ पुनः वैदेशिक रोजगारीमा फर्कँदा साविककै रोजगारदाताकोमा जाने सुनिश्चिता हुने कागज वा निस्सा चाहिने विभागले जनाएको छ । 

विभागबाट श्रम स्वीकृति लिई रोजगारीमा गएका घरेलु कामदारको करार सम्झौता बमोजिम अवधि बाँकी देखिए, भिसाको अवधि बाँकी भए, कल्याणकारी कोष र बीमा भए पुनः श्रम स्वीकृति दिइनेछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले घरेलु कामदारका सम्वन्धमा उचित निर्णय गर्न विशेष पहल गर्नुभएको थियो ।
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया