माध्यमिक विद्यालय चलाउन सामुदायिक वनकाे सहयाेग

 भदौ २४, २०७६ मंगलबार १७:२८:२५ | नेत्र शाही
unn.prixa.net

जुम्ला - पातारासी गाउँपालिकामा रहेको सरस्वती माध्यमिक विद्यालय खालाढिकमा स्थानीय फुर्केसल्ला सामुदायिक वनले ५ जना शिक्षककाे मासिक तलब ब्यहाेरेकाे छ । 

सामुदायिक वनले शिक्षककाे तलब ब्यहाेरेपछि स्थानीयले पनि विद्यालय सञ्चालन गर्न ठूलो सहयोग गरेको विद्यालयका प्रधानाध्यापक बासुदेव यादबले जानकारी दिनुभयो ।  उहाँका अनुसार फुर्केसल्ला सामुदायिक वनले मासिक ८५ हजार रुपैयाँ सहयोग गरेको छ । ३ शिक्षककाे तलबमा १५ हजार र दुई जनाकाे लागि २० हजार रुपैयाँ सहयोग गरिएको प्रधानाध्यापक यादवले जानकारी दिनुभयो ।

विद्यालयमा ४  जना प्रावि र एक जना राहतको शिक्षककाे दरबन्दी रहेको छ । शिक्षा विकास समन्वय इकाइले एक जना माध्यमिक शिक्षक सहयोग गरेको  र माध्यमिक तहका अन्य शिक्षक सामुदायिक वन उपभोक्ता समितिले सहयोग गरेको विद्यालयले जनाएको छ । 

फुर्केसल्ला सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष पूर्णसिंह बाेहराले शिक्षा क्षेत्रमा पहिलो प्रथामिकताका साथ लगानी गरिएको बताउनुभयो । उहाँले सामुदायिक वनले शिक्षामा गरेको लगानीले गाउँमै माध्यमिक विद्यालय सञ्चालन भएकाेले अलि सजिलो भएको बताउनुभयो । 

फुर्केसल्ला बाहेक जुम्लाका धेरै सामुदादिक वनले शिक्षा क्षेत्रमा लगानी गर्दै आएका छन् । यहाँको गाडापानी सामुदायिक वनले ७० हजार रुपैयाँ बराबरको काठ विद्यालय भवन बनाउन सहयोग गरेको सामुदायिक वन उपभोक्ता महासंघ जुम्लाका अध्यक्ष गोकर्ण चौलागाईँले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत ११, २०८०

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया