हटेन जातीय छुवाछुत: दलित भएर घरमा छिरेको भन्दै निर्घात कुटपिट

 भदौ २४, २०७६ मंगलबार १७:५५:२२ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु - ओखलढुंगाको सिद्धिचरण नगरपालिका-६, जन्तरखानीका मइते विश्वकर्मा जातीय छुवाछुतको सिकार बन्नुभएकाे छ ।

दलित भएर घरमा पसेकाे भन्दै स्थानीय कुमार मगरले विश्वकर्मालाई कुटपिट गरी घाइते बनाएका हुन् । सोमबार साँझ ५ बजे काम परेकाेले कुमार मगरको घरमा पुगेका उहाँलाई दलित भएर घरमा पसेकाे भन्दै निर्घात कुटपिट गरेको पीडितका भाइ शम्भु विश्वकर्माले बताउनुभयो ।

कुटपिटबाट अनुहारमा चोट लागेकोले उहाँको अहिले मिसन अस्पताल ओखलढुंगामा उपचार भइरहेको छ । घटना हुन साथ ठाढे प्रहरी चौकीलाई तत्काल खबर गरे पनि प्रहरीले बेवास्ता गरेको पीडित पक्षको भनाइ छ ।

यता ओखलढुंगाका प्रहरी प्रमुख डीएसपी पुष्पराज मल्लले घटनाको विषयमा मंगलबार बिहान मात्रै प्रहरीमा जानकारी आएको बताउनुभएको छ । दोषीलाई कानुन अनुसार कारबाही हुनेमा कुनै शंका नगर्न समेत डिएसपी मल्लले आग्रह गर्नुभयो ।

यस्तै प्रमुख जिल्ला अधिकारी (सीडीओ) गणेश आचार्यले २१ सौँ शताब्दीमा पनि जातीय विभेद जस्तो जघन्य अपराध गर्ने जोकोहीलाई कानुनी दायरामा ल्याइने बताउनुभयो ।

पीडित पक्षले मंगलबार नै जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा जाहेरी दिने बताएको छ । कुटपिट गर्ने कुमार मगर भने फरार भएको स्थानीयले बताएका छन् । कानुनमा जातीय छुवाछुत गर्ने उपर जातीय छुवाछुत कसुर ऐन अन्तरगत तीन महिनादेखि ३ वर्ष सम्म कैद सजाय र ५० हजारदेखि २ लाख रुपैयासम्म जरिबाना हुने व्यवस्था  रहेको छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया