अलिबाबाको अध्यक्षबाट ज्याक माले दिए राजीनामा

 भदौ २४, २०७६ मंगलबार २०:१५:१८ | रासस
unn.prixa.net

विश्वकै सर्वाधिक ठूलो ई-कमर्स कम्पनी अलिबाबा समूहका संस्थापक ज्याक माले कम्पनीको अध्यक्षको पदबाट मंगलबार राजीनामा दिएका छन् । अमेरिका–चीन करयुद्धका कारण व्यवसाय नै संकटमा पर्न लागेको अवस्थामा संस्थापक ज्याकले एकाएक राजीनामा दिएका हुन् ।

चीनमा स्थापित यस अनलाइनले विश्वमै ई–कमर्सका क्षेत्रमा प्रभाव सिर्जना गरेको छ । चीनकै एकजना सर्वाधिक धनी व्यक्तिको सूचीमा रहेका ज्याक माले आफ्नो ५५औं जन्मदिनका दिन समूहको अध्यक्ष पद छाडेको घोषणा गरेका हुन् । उनले एक वर्षअघि नै अध्यक्ष पद त्याग्ने बताउँदै आएका थिए ।

उनी अलिबाबा पार्टनरसिपको सदस्यका रुपमा भने कम्पनीमा रहनुहुनेछ । छत्तीस जना सदस्य रहने यो अलिबाबा पार्टरनसिपले कम्पनीका सञ्चालक सदस्यहरु छान्ने अधिकार राख्दछ ।
 
विगतमा अंग्रेजी शिक्षक रहेका माले सन् १९९९ मा अलिबाबा ई–कमर्स अनलाइन सेवा शुरु गरेका थिए । शुरुमा यो कम्पनीले चिनियाँ निर्यातक र अमेरिकी खुद्रा व्यापारीलाई जोड्ने पुलको रुपमा काम गर्दथ्यो ।

चीनको बढ्दो उपभोक्ता बजारलाई शुरुका दिनमा केन्द्रित गरे पनि पछि यस कम्पनीले अनलाइन बैंकिङ, मनोरञ्जन र कम्प्युटिङका क्षेत्रमा लगानी बढाएको थियो । गएकाे जुनमा पहिलो त्रैमासिक विवरणमा कम्पनीको कूल राजश्व करिब १७ अर्ब डलर रहेको थियो जसमा चीनभित्रैबाट व्यवसायको हिस्सा करिब ६६ प्रतिशत रहेको कम्पनीले जनाएको छ ।

चिनियाँ खुद्रा बजारमा हाल अमेरिकी करवृद्धिले ठूलै असर पारेको छ । अमेरिकी करवृद्धिले चिनियाँ सामानको अमेरिकी बजारमा प्रवेश महंगो हुँदै गएको छ । 

अनलाइन बिक्रीमा पनि सन् २०१९ को आधा समयमा करिब १८ प्रतिशतले कमी आएको छ । चीनकै पनि आर्थिक वृद्धिमा मन्दी आएको छ । 

अलिबाबाका अनुसार, तैपनि अघिल्लो वर्षको तुलनमा कम्पनीको नाफा करिब तीन अर्ब डलरले बढेको छ । तर यो वृद्धिको मुख्य कारण सन् २०१८ को राजश्व आम्दानीका कारण सिर्जना भएको हो ।

अलिबाबाको ई–कमर्स प्लेटफर्मबाट गत वर्ष ८५३ अर्ब अमेरिकी डलर बराबरको कारोबार भएको थियो । जबकी अमेरिकाको सर्वाधिक ठूलो ई–कमर्स कम्पनी अमेजनबाट २७७ अर्ब अमेरिकी डलरको कारोबार भएको थियो ।

ज्याक माको स्थानमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डानियल झाङ नियुक्त हुने सम्भावना छ । झाङ यसअघि एकाउन्टेन्ट रहनुका साथै अलिबाबा कम्पनीका प्रमुख योजनाकार हुन् । उनले यसअघि कम्पनीकै अर्को सहायक टीमाल डट कमको बिजनेस एकाईको अध्यक्षका रुपमा जिम्मेवारी सम्हालिसकेका छन् ।

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया