यस वर्षकाे इन्द्रजात्रामा विभिन्न देशका ५ मेयरसहित विदेशी पाहुना सहभागी हुने

 भदौ २५, २०७६ बुधबार १४:२२:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – उपत्यकाको सबैभन्दा ठूलो जात्रा इन्द्रजात्रामा यस वर्ष विश्वका विभिन्न शहरका ५ जना मेयरसहित ४८ जना विदेशी पाहुना पनि सहभागी हुने भएका छन् । 

काठमाण्डौ महानगरपालिकाले बुधबार पत्रकार सम्मेलन गरी यस वर्षको इन्द्रजात्रामा विदेशी पाहुनालाई पनि सहभागी गराउन लागिएको जानकारी गराएको हो । इन्द्रजात्रालाई पनि नेपालको पर्यटन उद्योगको विकाससँग प्रत्यक्षरुपमा जोडेर अघि बढाउन पहिलो पटक विश्वका विभिन्न मुलुकका ५ मेयरसहित ४८ जना पाहुनालाई पनि सहभागि गराउने योजना तय गरिएको मेयर विद्यासुन्दर शाक्यले बताउनु भयो । 

नेपालको धर्म, संस्कृति र परम्पराको प्रचार गरेर ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सघाउ पुर्‍याउन पनि उनीहरुलाई इन्द्रजात्रामा पनि सहभागी हुन निमन्त्रणा गरिएको उहाँले बताउनु भयो । बिहीबारबाट उनीहरु नेपाल आउन सुरु गर्नेछन् । आगामी २७ गते शुक्रबार ती विदेशी पाहुनाहरु इन्द्रजात्राको विशेष कार्यक्रममा सहभागी हुनेछन ।

मंगलबारबाट विधिवत् रुपमा सुरु भएको इन्द्रजात्राको विशेष दिन शुक्रबार राष्ट्रप्रमुखको रुपमा राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्तपुरमा कुमारीको रथयात्रामा सहभागी भइ टीका, प्रसाद ग्रहण गर्ने कार्यक्रम छ ।

त्यही दिन विदेशी पाहुनाहरुलाई पनि कुमारीको रथमा सहभागी गराइ काठमाण्डौ उपत्यकाको सम्पदाहरुको पनि अवलोकन गराउने काठमाण्डौ महानगरपालिकाको योजना छ । त्यसका लागि इन्द्रजात्रा व्यवस्थापन समिति र स्थानीय क्लबहरुसँग पनि सहकार्य गरिएको छ ।

काठमाण्डौ महानगरपालिकाकाले इन्द्रजात्रा व्यवस्थापन समितिका लागि १० लाख खर्चको व्यवस्था गरिसकेको छ । मेयर शाक्यले इन्द्रजात्रामा सहभागी हुन आउने ४८ जना विदेशी पाहुनाहरुको खर्चको व्यवस्था पनि महानगरपालिका आफैँले गर्न लागेको जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया