‘लिगलिग गोरखा म्याराथन’ को उपाधि आरुघाटका गुरुङलाई

 भदौ २५, २०७६ बुधबार १५:११:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

गोरखा – ‘लिगलिग गोरखा म्याराथन’मा  गोरखा आरुघाटका भीमबहादुर गुरुङ प्रथम हुनु भएकोे छ ।

निर्धारित ४२ किलोमिटर दूरी ३ घण्टा १७ मिनेट २ सेकेण्डमा पार गर्दै उहाँले १ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नुभयो । 

नेपाली सेनाको जागिर छोडेर गुरुङ विदेशमा समेत अल्ट्रा म्याराथनमा सहभागी हुँदै आउनुभएको छ । १ सय १४ जना सहभागी दौडमा रुकुमका दुर्गाराज बूढाले ३ घण्टा १७ मिनेट ४५ सेकेन्डमा दौड पूरा गर्दै दोस्रो हुनुभयो । उहाँले १ लाख रुपैयाँ पुरस्कार पाउनुभयो । यस्तै ३ घण्टा ३० मिनेट २ सेकेण्डमा दौड पूरा गरी तेस्रो हुनुभएका सबिन लामाले ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नुभयो । 

प्रतियोगितामा उत्कृष्ट १० स्थानमा रहन सफल धावकहरूलाई पुरस्कार प्रदान गरिएको थियो । 

पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका, गोरखा नगरपालिका र नेपाली सेनाको रणसिङ दल गणको संयुक्त आयोजनामा म्याराथन गरिएको हो ।ऐतिहासिक लिगलिगकोट, सिरानचोकगढी र गोरखा दरवार क्षेत्रको प्रवर्द्धनसँगै नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी म्याराथन गरिएको सिरानचोक गाउँपालिकाका अध्यक्ष राजु गुरुङले बताउनुभयो । 

द्रव्य शाहले विक्रम संवत १६१६ साल भदौ २५ गते गोरखा राज्यको राजाको रूपमा राज्याभिषेक गरेको ऐतिहासिक दिन पारेर हरेक वर्ष म्याराथन गर्ने पालुङटार नगरपालिकाका मेयर दीपकबाबु कँडेलले बताउनुभयो । नेपाल राज्यको उत्पत्तिदेखि जगसम्म नारा दिएर आयोजना म्याराथन गरिएको हो ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया