घरैमा बसेर बालबच्चा हुर्काउँदै, व्यापार गर्दै (भिडियाे कथा)

 असार २९, २०७५ शुक्रबार १६:४५:२८ | सन्जिता देवकोटा

सुनसरी– व्यापार गर्ने भनेपछि मानिसहरु बजार, चोक अथवा चहलपहल धेरै हुने ठाउँ नै रोज्छन् । तर सुनसरीको दुहवीका राधा भुजेल र बिनिता माझीले व्यापार गर्ने ठाउँ आफ्नै आँगन रोजे । घरको काम पनि भ्याइने, बालबच्चाको पनि रेखदेख हुने । र, व्यापार गर्न पनि सजिलो । 

पैसा कमाउने बाटो देखेपछि आफ्नै आँगनमा राधा र बिनिताले व्यवसाय सुरु गरेका हुन । राधा र बिनिता सानैदेखिका मिल्ने साथी हुन् । उनीहरु दुवैका श्रीमान् विदेशमा छन् । बिनिता श्रीमान् कतार बस्न थालेको लामो समय भइसक्यो ।

बिनिताको श्रीमान् पनि पोहोर सालको चैतमा मलेसिया लागे । श्रीमान् विदेशबाट पैसा पठाउँथे । उनीहरु चाहिँ बालबच्चाको हेरचाह गर्थे । बालबच्चा हुर्काउँदै आम्दानीको मेलो पनि समात्न सकिन्छ भन्ने उनीहरुले सोचेकै थिएनन् ।

जब वित्तीय शिक्षाले उनीहरुलाई आम्दानीको बाटो सिकायो, तब राधा र बिनिताले बालबच्चासँगै व्यवसायलाई पनि हुर्काउन थाले । थोरै लगानीबाट आम्दानी सुरु भएको उनीहरुको आलुचपको व्यापार दिनहुँ बढिरहेको छ ।

व्यापारसँगै छोराछोरी पनि बढिरहेका छन् । अनि बचत पनि बढिरहेको छ । आफैले व्यवसाय गर्न थालेदेखि उनीहरु आफ्नो खर्च पनि आफैं जुटाउन सक्ने भएका छन् । 

अन्तिम अपडेट: बैशाख २, २०८१

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया