ज्येष्ठ नागरिकलाई हवाई यात्रामा ५० प्रतिशत छुट दिने मन्त्री भट्टराईको अडान, सुझाव दिन कार्यदल गठन

 भदौ २५, २०७६ बुधबार १७:५६:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – ७० वर्षभन्दा माथिका वृद्धवृद्धालाई हवाई यात्रामा ५० प्रतिशत छुट दिने विषय संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले कार्यान्वयन गरेरै छाड्ने बताउनु भएको छ । आफ्नो एक वर्ष कार्ययोजनामा समावेश गरेको यो विषयमा केही विमान कम्पनीले आपत्ति जनाएका थिए ।

तर बुधबार मन्त्रालयले ७० वर्षमाथिका नागरिकलाई जहाज भाडामा ५० प्रतिशत छुट दिने विषय कार्यान्वयनको आधारसहित सुझाव पेश गर्न ८ सदस्यीय कार्यदल गठन गरेको छ ।

पूर्व सचिव सुरेशमान श्रेष्ठ अध्यक्ष रहने कार्यदलको सदस्यमा संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका हवाई शाखा हेर्ने सहसचिव, अर्थ मन्त्रालयका एक जना सहसचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव, नेपाल नागरिक  उडड्यन प्राधिकरणका निर्देशक, वायुसेवा निगमका निर्देशक, लेखा विज्ञ सौरभ रिजाल र वायुसेवा सञ्चालक संघका प्रतिनिधि रहेका छन्

कार्यदलले ३० दिनभित्र ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने, महँगो हवाई इन्धनको भाउ घटाउने, स्वदेशी र विदेशी यात्रुबीचको हवाई भाडामा एकरुपता ल्याउने, अन्तरप्रदेश उडानको सम्भावना खोजी गर्नेलगायतका विषयमा ३० दिनभित्र प्रतिवेदन पेश गर्नुपर्ने मन्त्रालयले जनाएको छ । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया