निजी अस्पतालमा पनि डेंगी बिरामीको चाप, अहिलेसम्म ५ हजार ९५ जना संक्रमित

 भदौ २५, २०७६ बुधबार १८:३०:२३ | विना न्याैपाने
unn.prixa.net

काठमाण्डौ – डेंगीको प्रकोप बढेसँगै निजी अस्पतालमा पनि डेंगी रोगका बिरामीको चाप बढेको छ ।  

सरकारी अस्पताल बाहेक उपत्यकाका अल्का अस्पताल, नर्भिक अस्पताल, ग्राण्डी अस्पताल, ग्रीन सिटी, पिपल्स, कान्तिपुर लगायतका अस्पतालहरुमा डेंगी रोगका बिरामीको चाप बढेको हो ।  

विगतका तुलनामा अहिले  ६० प्रतिशतका दरले बिरामी बढेको प्राइभेट हस्पिटल एसोसियशन अफ् नेपाल (अफिन) का वरिष्ठ उपाध्यक्ष तथा अल्का अस्पतालका अध्यक्ष कुमार थापाले जानकारी दिनुभएको छ । ४० जना डेंगीका बिरामी अल्का अस्पतालमा भर्ना भएको जानकारी दिँदै उहाँले भर्ना नहुने बिरामी ओपीडीबाटै फर्कने गरेको बताउनुभयो । 

यस्तै ग्रीनसिटी अस्पतालमा अहिले पनि पाँच जना गम्भीर प्रकृतिका डेंगी रोगका बिरामी भर्ना गरेर उपचार गराइरहेको अस्पतालका अध्यक्ष एलबी टण्डनले बताउनुभयो । आफू चक्रपथ एरियाको सरसफाइ संयोजक रहेकोले सरसफाइका क्रममा आफूलाई पनि डेंगी लागेको र दुई हप्तापछि मात्रै ठिक भएको जानकारी दिनुभयो । टण्डनले ३० जना बिरामीको उपचारपछि डिस्चार्ज गरिएको बताउनुभयो । 

टोखामा रहेको  ग्राण्डी अस्पतालमा ३० जना बिरामी भर्ना गरेर उपचार भैरहेको  निर्देशक डा. चक्रराजा पाण्डेले बताउनुभयो । ठिक भएर डिस्चार्ज हुने र थपिनेक्रम जारी रहेको भन्दै उहाँले डेंगी पोजेटिभ भएका बिरामीहरुलाई भने अस्पतालमै भर्ना गरेर उपचार गर्ने गरेको बताउनुभयो । 

वीर अस्पतालमा  ४५ जना

वीर अस्पतालमा गएको आइतबार र सोमबार डेंगी परीक्षण गरिएकोमा ४५ जनामा डेंगी पोजेटिभ देखिएको छ । अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले ९८ जनाको डेंगी परीक्षण गरिएकोमा ५५ जनामा पोजेटिभ देखिएको बताउनुभयो । 

उहाँले तीमध्ये केहीलाई अस्पतालमै भर्ना गरेर उपचार सुरु गरिएको जानकारी दिनुभयो । अस्पतालले डेंगीका बिरामी सरुवा रोग अस्पतालमा रेफर गर्ने गरेकोमा बिरामीको चाप बढेपछि वीरमै डेंगी किटको व्यवस्थासहित उपचार गर्न सुरु गरेको हो । 

साउनदेखि हालसम्म ५ हजार ९५ जनामा डेंगी

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार साउनदेखि भदौ २३ सम्म पाँच हजार ९५ जनामा डेंगी संक्रमित भएको तथ्याङ्क रहेको छ । 

महाशाखाका जनस्वास्थ्य अधिकृत उत्तम प्याकुरेलले गएको वैशाखदेखि असारसम्म तीन हजार ४ सय २५ र साउनदेखि हालसम्म पाँच हजार ९५ जनामा डेंगी भएको बताउनुभयो । उहाँले तीमध्ये काठमाण्डौ, डोटी, रुपन्देही, चितवनमा पाँच जनाको ज्यान गैसकेकाे जानकारी दिनुभयो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

विना न्याैपाने

विना न्याैपाने उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया