खेल पत्रकार सिलवाल र राई सम्मानित

 भदौ २५, २०७६ बुधबार १८:२७:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ –  यस वर्षको एनएसजेएफ खेल पत्रकारिता सम्मानबाट नेपाल टेलिभिजनका वरिष्ठ पत्रकार राजु सिलवाल र सुमन भोम्जन स्मृति युवा खेल पत्रकारिता पुरस्कारबाट खेलपाटी डट कमका समाचार प्रमुख निशान राई ‘सुच्चा’लाई सम्मानित भएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्चले २४ औ स्थापना दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उहाँहरुलाई सम्मानित गरेको हो । ‘अग्रजलाई सम्मान र युवालाई प्रोत्साहन’ भन्ने नाराका मञ्चले हरेक वर्ष स्थापना दिवसमा यो कार्यक्रम गर्दै आएको छ ।

युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार र नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले वरिष्ठ पत्रकार सिलवाललाई २५ हजार नगद, ताम्रपत्र र दोसल्ला ओढाएर सम्मान प्रदान गर्नुभयो ।

त्यस्तै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवाल र नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले युवा पत्रकार राईलाई ल्यापटप, ताम्रपत्र र दोसल्ला ओढाएर सम्मानित गर्नुभयो । युवा पत्रकारिता पुरस्कार एसियाली खेलकुद पत्रकार महासंघबाट उपलब्ध गराइएको हो ।

नेपाल पत्रकार महासंघको एसोसिएट शाखाको रुपमा रहेको मञ्चले यसअघि एनएसजेएफ खेल पत्रकारिता सम्मानबाट वरिष्ठ पत्रकार श्याम चित्रकार, पी खरेल, पुष्करलाल श्रेष्ठ, गोपाल बस्नेत, सीताराम अग्रहरिलाई सम्मानित गरिसकेको छ ।

सुमन भोम्जन स्मृति युवा खेलपत्रकारिता पुरस्कार गएको वर्षबाट मात्र प्रदान गर्न थालिएको हो । गएको वर्ष राजधानी दैनिकका खेल पत्रकार दिल तामाङले त्यो पुरस्कार प्राप्त गर्नुभएको थियो ।

सम्मानपत्र ग्रहण गर्दै वरिष्ठ खेल पत्रकार सिलवालले खेलकुद पत्रकार मञ्चको गठनसंगै खेल पत्रकारिता संस्थागत ढंगले अघि बढेको बताउँदै आफू खेलकुदमा समाचार संकलनमा क्रममा भोगेका अनुभव सुनाउनुभयो ।

सुमन भोम्जन स्मृति युवा खेल पुरस्कारबाट सम्मानित राईले मञ्चले प्रदान गरेको अवार्डबाट आफूलाई खेलकुद पत्रकारितामा जिम्मेवार भएर अघि बढ्न प्रेरणा मिलेको बताउनुभयो ।

 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया