सेप्टेम्बर ११ आक्रमण : कम चर्चित तर प्रभावशाली तस्बिरको कथा !

 भदौ २५, २०७६ बुधबार २०:५१:४९ | एजेन्सी
unn.prixa.net

रिचर्ड ड्रयू/एपी

सेप्टेम्बर ११, २००१ को आक्रमण । अमेरिकी इतिहासमा भएको सबैभन्दा ठूलो आतंककारी आक्रमण ।

न्यूयोर्कमा रहेको वर्ल्ड ट्रेड टावरमा आक्रमणपछि आगोको मुस्लोसहितको तस्बिर नै सबैभन्दा चर्चा भएको तस्बिर हो । सेप्टेम्बर ११ को आक्रमणको चर्चा हुँदा ११० तले टावरमा जहाज ठोक्किँदै गरेको तस्बिर नै देखाइन्छ ।

तर सेप्टेम्बर ११ कै एउटा तस्बिर थोरै चर्चा भएर पनि अमर भएको छ । यो तस्बिरमा आक्रमणपछि आफूलाई बचाउनका लागि भवनबाट हाम फाल्दै गरेका एक व्यक्ति छन् । छटपटाहटका बीच उनी कुनै तीर झैँ भुईँमा झरिरहेका देखिन्छन् । फोटो पत्रकारिताको इतिहासमा यसलाई ‘द फलिङ म्यान’ नामले चिनिन्छ ।

यो तस्बिर एसोसियटेड प्रेस(एपी) का फोटोपत्रकार रिचर्ड ड्रयूले खिचेका थिए । एक साक्षात्कारमा रिचर्डले त्यो पलको सम्झना गर्दै भनेका थिए, ‘मानिसहरु आक्रमण भएको ठाउँबाट भागिरहेका थिए । तर हाम्रो पेशा यस्तो छ कि हामीलाई त्यस्तै ठाउँतर्फ भाग्नुपर्छ ।’

रिचर्डका कैयौँ मानिसहरु ११० तले टावरका माथिल्ला तलाबाट ज्यान बचाउन हाम फालिरहेका थिए । तस्बिरमा देखिएका व्यक्ति पनि १०६ तलाबाट हाम फालेका थिए । रिचर्डले तस्बिर खिचेको भोलिपल्ट न्यूयोर्क टाइम्ससहित धेरै सञ्चार माध्यमले यो तस्बिर प्रकाशित गरेका थिए ।

तर पाठकहरुले यो तस्बिर छापिएकोमा कडा आलोचनासमेत गरे । धेरै पाठकले केही समयपछि मृत्यु निश्चित भएको व्यक्तिको तस्बिर छापेर प्रेसले राम्रो काम नगरेको प्रतिक्रिया दिए । त्यही कारणले त्यतिबेला यो तस्बिरको चर्चा पनि निकै कम भयो । तर आज त्यतिबेलाको त्रासदीपूर्ण अवस्थाको प्रभावशाली तरिकाबाट वर्णन गर्नकै लागि यो तस्बिरलाई ऐतिहासिक मानिएको छ ।

तर यी व्यक्ति को थिए ? अमेरिकी सरकारले अहिलेसम्म सार्वजनिक गरेको छैन । त्यस दिन त्यसरी हाम फाल्नेमा झण्डै २०० जना थिए । पहिले १०६ तलामा रहेको विन्डोज अन द वर्ल्ड नाम गरेको रेस्टुरेन्टमा काम गर्ने नोर्बेर्तो हेर्नान्डिस भएको बताइयो । उनका परिवारले पनि त्यसै भनेका थिए । तर पछि रिचर्डको सबै तस्बिर र त्यो व्यक्तिले लगाएको कपडा हेरेर उनी नभएको पुष्टि भयो ।

त्यस्तै अर्को अनुमानमा त्यही रेस्टुरेन्टमा काम गर्ने अडियो टेक्निसियन जोनाथल बिली भएको पनि बताइयो । उनका एक सहकर्मी र भाइले यस कुराको पुष्टि गरे पनि आधिकारिक रुपमा भने पुष्टि हुन सकेन ।

तस्बिरमा देखिएका व्यक्तिका बारेमा अहिलेसम्म आधिकारिक जानकारी आएको छैन । तर यस तस्बिरले दुई पक्षको लडाइँमा कसरी निर्दोष व्यक्ति सिकार हुन्छन् भन्ने कुरा देखाएको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया