प्रदेश २ का ८ वटै जिल्लामा भेटिए डेंगीका बिरामी, लामखुट्टेबाट सतर्क रहन आग्रह

 भदौ २६, २०७६ बिहिबार १४:३३:२१ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा - प्रदेश २ को आठ वटै जिल्लामा डेंगी रोग भेटिएको छ ।

बिहीबार दिउँसोसम्म प्रदेश २ का आठ वटै जिल्लाका विभिन्न स्थानमा डेंगी रोगका ७२ जना बिरामी फेला परेको प्रदेश स्वास्थ्य निर्देशनालयका अधिकृत एवं सूचना अधिकारी विजय झाले बताउनुभयो ।

फेला परेकामध्ये सबभन्दा बढी पर्सा जिल्लामा २५ जना फेला परेको छन् जसमध्ये वीरगञ्ज महानगरपालिका भित्रका १७ जना र बाँकी बाहिरका छन् । उनीहरुको वीरगञ्जमा रहेकाे नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अधिकृत झाका अनुसार उपक्षेत्रीय अस्पतालमा बारा, पर्सा र अन्य बाहिरका गरी ३९ जनाको उपचार भइरहेको जानकारी प्राप्त भएको बताउनुभयो । 

यस्तै बारामा सिमरा र जीतपुर नगरपालिकामा गरी जम्मा ८ जना, रौतहटमा चपुर नगरपालिकामा ५ जना, कटहरिया नगरपालिका र मधेपुरा गाउँपालिकामा १।१ जना गरी जम्मा ७ जना, सर्लाहीकाे हरिवन नगरपालिकामा २ जना, महोत्तरीको बर्दिवास नगरपालिकामा २ र औरही नगरपालिकामा १ जना गरी जम्मा ३ जना डेंगीका बिरामी फेला परेको अधिकृत झाले बताउनुभयो ।

धनुषाकाे धनुषाधाम नगरपालिकामा २ जना र मिथिला नगरपालिकामा १ जना गरी ३ जना, सिरहाकाे गोलबजार नगरपालिकामा ९ जना र धनगढी नगरपालिकामा ३ जना गरी जम्मा १२ जना र सप्तरीमा सप्तकोसी नगरपालिकामा ४ जना, कञ्चनरुप नगरपालिकामा २ जना र डाकेश्वर नगरपालिकामा १ गरी जम्मा ७ जना बिरामी भेटिएको जनाइएको छ ।

बिरामीहरुको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको निर्देशनालयले जनाएको छ । निर्देशनालयले डेंगी रोग रोकथामको जनचेतनाका लागि प्रचार प्रसार तथा प्रभावित स्थलहरुमा पुगेर डेंगी रोग जाँच्ने किट उपलब्ध गराइरहेको अधिकृत झाको भनाइ छ ।

‘डेंगी रोग सार्ने लामखुट्टेले प्लास्टिक, टायर, भाँडाकुडामा जमेको पानीमा अण्डा पार्ने एवं प्रजनन गर्ने गर्छ, त्यस्तो जमेको पानीलाई सफा गर्ने, पानी जम्न नदिने जस्तो उपाय अपनाउनुपर्छ’, अधिकृत झाले भन्नुभयो, ‘सरसफाइमा ध्यान दिने र लामखुट्टेको टोकाइबाट बचे डेंगीबाट बच्न सकिन्छ ।  ’

डेंगी रोग नियन्त्रणका लागि पालिकाहरुसमेत सक्रिय भएर लाग्नुपर्ने अधिकृत झाको भनाइ छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया