अस्पतालको लापर्वाही : जिउँदाे शिशुलाई मृत घोषणा

 भदौ २७, २०७६ शुक्रबार १७:२४:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

बाँके – नेपालगञ्जको भेरी अस्पतालले मृत घोषणा गरेको नवजात शिशुलाई अन्त्येष्टि गर्ने क्रममा जीवितै पाइएको छ । ती शिशुकाे अहिले भेरी अस्पतालमा उपचार भैरहेको छ । 

जाजरकोटको छेडागाड नगरपालिका–९ की कमला अधिकारी श्रीमान मिलन अधिकारीसँगै शुक्रबार बिहान साढे ५ बजेतिर अस्पतालमा भर्ना हुनुभयो । भर्ना हुने बित्तिकै उहाँले शिशु (छोरी) लाई जन्म दिनुभयो ।

शिशु जन्मिएलगत्तै स्वास्थ्यकर्मीहरुले शिशुको मृत्यु भएको जानकारी गराएको नवजात शिशुका पिता मिलनले बताउनुभयो । अन्त्येष्टिका लागि श्मसान घाट लिएर गएको र खाडल खन्ने क्रममा शिशु रोएको सुनेर फेरि अस्पताल लगेको  बुवा मिलनले बताउनुभयो । 

गर्भवती भएको ६ महिना पुगेपछि अधिकारी दम्पती नियमित स्वास्थ्य जाँचका लागि बिहीबार नेपालगञ्ज पुग्नुभएको थियो । तर शुक्रबार बिहान पेट दुखेपछि उहाँलाई अस्पतालमा भर्ना गरिएको हो । 

भेरी अस्पतालका निमित्त प्रमुख डा. बद्री चापागाईँले २२ हप्ता पहिले जन्मिएका र ५०० ग्राम तौल भएका बच्चालाई जन्माउन विकसित मुलुकमा समेत सम्भव नहुने भन्दै यसलाई ‘गर्भपतन’ भनिने बताउनुभयो । 

पूर्वानुमान गर्न गाह्रो हुने शारीरिक अवस्थाको कारणले गर्दा घटना भएको भन्दै अस्पतालले यो आफूहरुका लागि पाठ भएको उल्लेख गरेको छ । आगामी दिनमा यस्तो असावधानी हुन नदिने अस्पतालले प्रतिबद्धता जनाएको छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया