‘ठेक्का होल्ड गर्ने र समयमै काम नसक्ने निर्माण व्यवसायीलाई कालाे सूचीमा राखिन्छ’

 भदौ २८, २०७६ शनिबार १४:३९:३० | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले निमार्ण व्यवसायीको लापर्वाहीका कारण कतिपय योजनाहरु अलपत्र परेको बताउनु भएको छ । 

मन्त्री ज्ञवालीले कतिपय व्यवसायीहरुले ठेक्का होल्ड गरेर राख्ने र १० ठाउँमा हात हालेर समयमा काम सम्पन्न नगर्ने कुरा अब सरकारका लागि सह्य नहुने समेत चेतावनी दिनुभएको छ । 

मन्त्री ज्ञवालीले आफ्नो निर्वाचन क्षेत्र गुल्मीको क्षेत्र नम्बर १ मा लामो समयदेखि अलपत्र अवस्थामा रहेका योजनाहरुको शनिबार अनुगमन र निरीक्षण गर्ने क्रममा यस्तो बताउनुभएको हो । उहाँले निर्माण व्यवसायीहरुले देशलाई केन्द्रमा राखेर र जनताको हितलाई ध्यानमा राखेर काम गर्नसमेत आग्रह गर्नुभयाे ।

मन्त्री ज्ञवालीले योजनाहरुको काम समयमै सम्पन्न नगर्दा जनताले दुःख पाउनु परेको समेत बताउनु भयो । गुल्मीको क्षेत्र नम्बर १ मा अलपत्र अवस्थामा रहेको सत्यवती गाउँपालिका अन्तरगत उल्ली खोलाको पक्की पुल, रुरुक्षेत्र गाउँपालिका अन्तरगतका पुल, रुद्रवेणी–वामीटक्सार सडक, सिस्ने खोलाको पुल र चोरकाटे लगायतका स्थानमा रहेका पक्की पुल र सडकको अनुगमन गर्नुभयो । 

ज्ञवालीले अलपत्र अवस्थामा रहेका योजनाहरु समयमै सम्पन्न गर्नका लागि आवश्यक प्रक्रियाहरु अघि बढाउन सम्बन्धित कार्यालयलाई निर्देशनसमेत दिनुभयो । केही योजनाहरुमा निर्माण व्यवसायीहरुले प्राविधिक कारण देखाएर लामो समयदेखि योजना सम्पन्न नगरिकन आलटाल गर्ने काम भैरहेको भन्दै ज्ञवालीले अब कुनै पनि बहानामा त्यस्ता व्यवसायीहरुलाई छुट नहुने तर्क गर्नुभयो ।

उहाँले समयमा काम नसक्ने निर्माण व्यवसायीहरुलाई अब कालो सूचीमा राखेर कारबाहीको दायरामा ल्याउनुको समेत विकल्प नभएको बताउनु भयो । 

परराष्ट्र मन्त्री ज्ञवालीले गुल्मीको धार्मिक स्थल रुरुक्षेत्रमा शनिबारदेखि सञ्चालन हुन गैरहेको श्रीमद्भागवत पितृमोक्ष विराट ज्ञान महायज्ञको उद्घाटन गर्नुहुने कार्यक्रम छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया