विदेशी टोलीद्वारा भक्तपुरको सम्पदा अवलोकन

 भदौ २९, २०७६ आइतबार १९:२३:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर - काठमाण्डौ उपत्यकाको ऐतिहासिक सम्पदाको अवलोकन गर्न काठमाण्डौ महानगरपालिकाको निमन्त्रणमा आएका विदेशी टोलीले आइतबार भक्तपुरको सम्पदाहरुको अवलोकन गरेको छ ।

काठमाण्डौ महानगरपालिकाको पहिलो र औपचारिक निमन्त्रणामा नेपाल आएका विदेशी पाहुनाहरूले आइतबार भक्तपुरको विश्व सम्पदा क्षेत्रमा पर्ने दरबार क्षेत्रको विभिन्न सम्पदा र पाँचलते मन्दिर अवलोकन गरेका हुन् ।

चीनको लाञ्जााउ कमिटी अफ द सीपीपीसीसीका उपाध्यक्ष ज्याङ् सिओहाङले नेपाल भ्रमणबाट उत्साहित भएको बताउनुभयो । ‘नेपाल कला, संस्कृति र सम्पदाको धनी देश रहेछ,’ भन्दै उहाँल भन्नुभयो, ‘काठमाण्डौ बसाइ धेरै रमाइलो भयो, इन्द्रजात्रामा नेपाली जनताको उत्साह र नेपाली जनताको सम्पदाप्रतिको सम्मान देखेर म थप प्रभावित भएँ ।’

काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यसहितको विदेशी पाहुनाको टोली चन्द्रागिरीको अवलोकन भ्रमणपछि स्वयम्भू पुगेर आइतबार भक्तपुर आइपुगेकाे हाे । 

भक्तपुर भ्रमणपछि भारतको नर्थ दिल्ली नगरपालिकाका प्रमुख सरदार अवतार सिंंहले नेपालको प्रकृति र सम्पदाबाट प्रभावित भएको बताउँदै आफ्नो देश र नगरका जनतालाई पनि यसबारेमा जानकारी दिँदै पर्यटन वर्षमा नेपाल भ्रमण गर्न सन्देश प्रवाह गर्ने बताउनुभयो । उहाँले विज्ञान संग्राहलयको अवलोकनपछि थप प्रभावित भएको भन्दै नेपाल भ्रमण वर्ष २०२० को सफलताको कामना गर्नुभयो ।

त्यसैगरी भूटानको थिम्पू नगरका मेयर किन्ले दोर्जीले सम्पदाको संरक्षण गर्ने र विकासको गतिमा अघि बढेको देशका जनता खुसी हुने भन्दै नेपाली जनताको मुहारमा खुशी देखेको बताउनुभयो । आफू पनि बौद्धमार्गी भएकाले यहाँको संस्कृतिबाट थप प्रभावित भएको बताउँदै मेयर किन्ले दोर्जीले काठमाण्डौका पुराना बौद्ध बहाःबहीहरूमा पुग्दा आफूमा आध्यात्मिक भावना उत्पन्न भएकोमा खुसी व्यक्त गर्नुभयो ।

महानगरपालिका प्रमुख शाक्यले यहाँको पर्यटन क्षेत्रलाई उद्योगका रुपमा विकास गर्न र इन्द्रजात्रालाई विश्वसामु चिनाउने उदेश्यले विदेशी पाहुनालाई आमन्त्रण गरेको बताउँदै नेपालको संस्कृति, संम्पदा र परम्पराका बारेमा जानकारी गराउन पाउँदा खुशी लागेको बताउनुभयो ।

काठमाण्डौमा हेर्न लायकका सम्पदा धेरै छन् भन्ने सन्देश दिनका लागि पनि विदेशी पाहुनालाई बोलाएको जानकारी दिदै उहाँले पर्यटन प्रवर्द्धनमा यो भ्रमणले टेवा पुग्ने बताउनुभयो । 

भक्तपुर पुगेका विदेशी पाहुनाहरुलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र उपप्रमुख सर्जनी जोशीसहितको टोलीले स्वागत गर्दै भक्तपुरको विश्व सम्पदा क्षेत्रमा पर्ने दरबार स्क्वायर, पाँचतले मन्दिर र भक्तपुरको कला संस्कृतिको महत्वको विषयमा जानकारी गराउनुभएको थियो । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया