हिजोआज झ्याप्प झ्याप्प बिजुली किन गैरहन्छ ?

 भदौ २९, २०७६ आइतबार २०:१०:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल विद्युत प्राधिकरणले औपचारिक घोषणा गरेर नेपाल लोडसेडिङमुक्त भएको बताएको २ वर्ष पुगिसकेको छ ।

देशकै उत्पादन व्यवस्थित गर्ने, पुराना संरचना फेर्ने, थला परेका आयोजना पुरा गरेर र भारतबाट बिजुली आयात गरेर प्राधिकरणले देशलाई लोडशेडिङमुक्त बनाइसकेको छ । अहिले बर्खाको समयमा त लगभग नेपालमै उत्पादन भएको बिजुलीले पुग्ने अवस्था छ । 

तर पनि हिजोआज झ्याप्प झ्याप्प बिजुली गैरहन्छ । सामाजिक सञ्चालमा व्यङग्य गर्दै ‘कुलमान जानुभयो, कुलमान हराउनुभयो’ जस्ता प्रतिक्रिया आइरहन्छन् । 

प्राधिकरण सम्हालेको ३ वर्ष पुगेको अवसरमा भएको पत्रकार सम्मेलनमा कार्यकारी निर्देशकलाई प्रश्न आयो, ‘लोडसेडिङ हट्यो भन्नुहुन्छ तर बत्ती किन झ्याप्प झ्याप्प गैहरन्छ ?’

कार्यकारी निर्देशकले जवाफ दिनुभयो, ‘हामीसँग बिजुली अपुग भएर बिजुली काटिएको होइन, त्यसैले यसलाई लोडशेडिङ भन्न मिल्दैन, बरु हाम्रा पुराना संरचनाले धान्न छाडेका हुन्, हामीले हजारौँ पोल र ट्रान्सफर्मर फेरिसक्यौँ तर अझै धेरै ठाउँमा पुराना संरचनाको कारणले बत्ती गएको हो ।’

यस्तै चैत वैशाखदेखि भदौ असोजसम्म हावाहुरी र बर्खाको कारण धेरै ठाउँमा खम्बा र रुख ढाल्ने अनि बाढीका कारण विद्युतगृह नै बन्द गरिदिनुपर्नेसम्मका समस्या आएकाले कहिलेकाँही विना योजना र विना सूचना नै बिजुली काट्नुपर्ने बाध्यता रहेको कार्यकारी निर्देशक घिसिङले बताउनुभयाे । 

तर असोजदेखि फागुनसम्म भने यस्ता प्राविधिक समस्या निकै कम हुने उहाँको भनाई छ ।

यस्तै सडक र ढल बनाउँदा खम्बा सार्ने काम भैरहँदा पनि बिजुली गएको हुनसक्ने भन्दै घिसिङले भन्नुभयो, ‘उदाहरणको लागि चाबहिलमा सडक बनाउने काम भैरहेको हुन्छ, तर त्यहाँ खम्बा सार्दा कहाँ कहाँसम्मको बिजुली गएको हुनसक्छ, हामी मात्रै नभएर अरु निकायको कारण पनि बत्ती गैरहेको छ ।’

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया