घरबहालमा बस्नेसँग बढी महसुल नउठाउन आग्रह

 भदौ ३०, २०७६ सोमबार ७:४८:२९ | रासस
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ उपत्यकालगायत शहरी क्षेत्रमा घर बहालमा बस्नेलाई घरबेटीले मनलाग्दी विद्युत् महसुल लिइएको विषयमा नेपाल विद्युत् प्राधिकरणले ध्यानाकर्षण भएको जनाएको छ ।

प्राधिकरणद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भन्नुभयो, ‘प्राधिकरणसँग विद्युुत् लिएर मनलाग्दी तवरले व्यापार नगर्नूस्, जति महसुल उठेको हो, सोही अनुसार मात्रै घर बहालमा बस्नेसँग महसुल लिनूस् ।’ 

प्राधिकरणले २० युनिटसम्मको विद्युत्मा रु ३० सेवा शुल्क लिएको छ भने प्रतियुनिट तीन रुपैयाँका दरले लिने गरेको छ । यस आधारमा २० युनिट विद्युत् प्रयोग गर्नेले ९० रुपैयाँ महसुल तिर्नुपर्छ । यस्तै २१ देखि ३० युनिटसम्म सेवा शुल्क ५० रुपैयाँ र प्रतियुनिट सात रुपैयाँका दरले लिने गरेको छ । यस आधारमा १२० रुपैयाँ महसुल तिर्नुपर्छ । यस्तै, ३१ देखि ५० युनिटसम्म विद्युत् खपत गर्ने ग्राहकले सेवा शुल्क ७५ रुपैयाँ र प्रतियुनिट आठ रुपैयाँ ५० पैसाका दरले तिर्नुपर्छ ।

प्राधिकरणको महसुल दरअनुसार ५१ देखि १५० युनिटसम्म खपत गर्ने ग्राहकले सेवाशुल्क १०० रुपैयाँ र प्रतियुनिट १० रुपैयाँका दरले तिर्नुपर्छ । एक सय ५१ देखि २५० युनिटसम्म सेवा शुल्क १२५ रुपैयाँ र प्रतियुनिट ११ रुपैयाँ, २५१ देखि ४०० युनिटसम्म खपत गर्ने घरायसी ग्राहकले सेवा शुल्क १५० रुपैयाँ र प्रतियुनिट १२ रुपैयाँ महसुल तिर्नुपर्छ भने त्यसभन्दा माथि सेवा शुल्क १७५ रुपैयाँ र प्रतियुनिट १३ रुपैयाँका दरले तिर्नुपर्ने व्यवस्था छ । 

यो महसुल पाँच एम्पियर विद्युत् लिने ग्राहकको हकमा लागू हुने गरेको छ । यस्तै १५ एम्पियर, ३० एम्पियर र ६० एम्पियरको महसुलमा भने सामान्य बढी मात्रै रहेको छ । तर शहरी क्षेत्रमा घर बहालमा बस्नेले मनलाग्दी शुल्क लिएको विषयमा गुनासो पनि आएको भन्दै प्राधिकरणले विद्युत्मा अनावश्यक व्यापार नगर्न भनेको हो ।  

घिसिङले भन्नुभयो, ‘प्राधिकरणले तोकेकाभन्दा बढी दरमा महसुल असुल्नु गैरकानूनी हो, प्राधिकरणसँग तोकिएको दरमा किनेको विद्युत् त्योभन्दा बढीमा बेचेर व्यापार गर्न पाइँदैन ।’ उहाँले त्यस्तो व्यवहारले प्राधिकरणप्रति नै नागरिको धारणा गलत हुने भएकाले अनावश्यक व्यापार नगर्न र महसुल के कति हो सो आधारमा मात्रै महसुल तिर्न घरबहालमा बस्नेलाई आग्रह गर्नुभयो ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया