चावहिल–जोरपाटी सडक अलपत्र पार्ने ठेकेदारलाई ७ दिनभित्र स्पष्टीकरण दिन निर्देशन

 भदौ ३१, २०७६ मंगलबार १३:७:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ उपत्यका सडक विस्तार आयोजनाले सडक निर्माणमा ढिलाइ गरेको भन्दै युनाइटेड विल्डर्स एण्ड इञ्जिनियर्स प्रालीलाई स्पष्टिकरण सोधेको छ ।

चावहिल–जोरपाटी–साँखु सडकको चावहिल–जोरपाटी–बाग्मती खण्डको काम ढिलाइ गरेको भन्दै आयोजनाले ७ दिनभित्र चित्तबुझ्दो जवाफसहित कार्यालयमा उपस्थित हुन निर्देशन दिएको हो ।

चावहिलदेखि बाग्मती पुलसम्मको सडक विस्तारको लागि युनाइटेड विल्डर्स प्रालीसँग २०७२ सालको असोज १३ गते सम्झौता भएको थियो ।

पटक–पटक म्याद थप्दा पनि सडक पूरा नभएपछि अन्तिम पटकलाई भन्दै आउँदो मंसिरसम्म काम पूरा गर्ने सहमति भएको थियो । तर सडकमा अहिले भैरहेको काम, कामदार, मेसिन र आवश्यक सामग्री हेर्दा मंसिरसम्म पनि निर्माण नसकिने देखिएको सडक विस्तार आयोजनाले जनाएको छ ।

अहिले भैरहेको निर्माणलाई बाँकी समयभित्रै काम सक्ने स्पष्ट आधारसहित ७ दिनभित्र उपस्थित हुन निर्देशन दिइएको आयोजनाले जनाएको छ ।

अन्तिम अपडेट: असोज २९, २०७६

तपाईको प्रतिक्रिया