‘रक्सी र पैसाका ब्रिफकेस उपहार पाउँदा नेता दङ्ग, पुस्तक उपहार पाउँदा खिन्न !’

 असोज १, २०७६ बुधबार १७:२२:५२ | रघुजी पन्त
unn.prixa.net

सरकारले यसै आर्थिक वर्षदेखि विदेशमा छापिएर आउने पुस्तकमा १० प्रतिशत भन्सार शुल्क लगाइदिएको छ । यसले पठन संस्कृतिलाई असर गर्छ ।

मेरा परिवारका एक जना सदस्यले पहिले महिनामा ३/४ वटा पुस्तक किनेर पढ्थे, अहिले प्रविधिको विकासले गर्दा  उनले अहिले ल्यापटपमै पुस्तक किनेर पढ्न थालेका छन् । अझ सरकारले विदेशबाट आउने पुस्तकमा भन्सार लगाइदिएकाले यहाँ पुस्तक नै नपाउने र मूल्य पनि बढ्ने समस्याले गर्दा अब सबैजसो पुस्तक इन्टरनेटबाटै किनेर पढ्ने बानी हुन थालेको छ ।

म सानैदेखि पुस्तक पढ्ने वातावरणबाट आएँ, मैले सानो पनि धेरै पुस्तक पढ्ने मौका पाएँ । मैले सानोमा पढेका पुस्तक जतन गरेर राखेँ, र म छोरीको बाउ हुने बेलासम्म मैले बालक हुँदा पढेका किताब जतन गरेर राखेको थिएँ । र मेरा सन्तानले पनि पढ्न पाए । अहिले मेरी सानी छोरीले पनि दराजभरि किताब राखेर सानो लाइब्रेरी जस्तो बनाएकी छिन् ।

मैले कुनै दल विशेषका नेताहरुलाई भनेको छैन, यो सबै दलका नेतामा लागू हुन्छ । अहिले कुनै पनि नेताले पुस्तक पढ्छन् जस्तो मलाइ लाग्दैन ।

मेरी छोरीलाई जस्तो हामी आफ्ना सन्तानलाई पढ्ने वातावरण दिन चाहन्छौँ, कि चाहन्नौँ ? तपाईँले आफ्ना सन्तानलाई जति धेरै पुस्तक पढाउनुहुन्छ, त्यति नै तपाईँले सुसंस्कृत र सुसभ्य समाज बनाउन सक्नुहुन्छ । अहिले सरकारले आयातित पुस्तकमा लगाएको करले त हामीले पठन संस्कृतिको विकास गर्न सक्दैनौँ । यदि हामीलाई सुसंस्कृत र सभ्य अनि लोकतान्त्रिक समाज चाहिएको हो भने पुस्तकमाथि लगाइएको भन्सार गलत छ । यो ज्ञानमाथिको प्रहार हो । 

जसले हामी लोकतन्त्रलाई बलियो बनाउँछु भनेका छन्, तर उनैले ज्ञानमाथि भन्सार लगाएर घुमाउरो पारामा लोकतन्त्रमाथि नै प्रहार गरिरहेका छन् । हाम्रा धेरै नेताहरु पहिले–पहिले पुस्तकसँग असाध्यै प्रेम गर्थे । पुस्तकलाई माया गर्थे, पुस्तक उपहार पाउँदा खुशीले दङ्ग पर्थे ।

बीपी कोइरालाले कति धेरै पुस्तक पढ्नुभएको थियो होला, उहाँ आफैले कति धेरै पुस्तक लेख्नुभयो । कम्युनिष्ट पार्टीका धेरै नेताले पनि भूमिगत कालमा धेरै पढ्थे । धेरै नेता त कवि पनि थिए । तर जब नेताहरु खुला भए, स्वतन्त्र भए, व्यवस्था फेरियो, हाम्रा नेता पनि फेरिए ।

एउटै फैसलाले अरबौँ रुपैयाँ डुब्दा सरकार र नेताहरु चुप छन्, पुस्तकमा भन्सार लगाएर आउने १० करोडमा  खुबै आँखा लगाएका छन् ।

विदेशबाट आउँदा ड्युटी फ्रीमा १/२ बोत्तल रक्सी भन्सार शुल्कबिना नै ल्याउन पाइन्छ भन्ने हल्ला भर्खरै सुनेँ । तर पुस्तकको त त्यस्तो पाइँदैन । अहिले तपाईँहरु रेड लेबलको रक्सी बोकेर नेताहरुकोमा जानुस्, उहाँहरु एकदमै खुशी हुनुहुन्छ, ब्ल्याक लेबल बोकेर जानुभयो भने त नेताहरुको अनुहार झनै उज्यालो हुन्छ । त्यसमाथि ब्ल्यू लेबल बोकेर जानुभयो भने त नेताहरुको खुशी बयान गरेर साध्य लाग्दैन ।

अझै भरिएको ब्रिफकेस बोकेर जानुस्, त्यसपछि धेरै नेताहरुले तपाईँहरुलाइै सधैँका लागि भित्राइहाल्नुहुन्छ । तर तपाईँहरु किताब बोकेर जानुस्, नेताहरुको अनुहार भावशून्य हुन्छ, हरे ! यो कस्तो लण्ठु आइलाग्यो भन्दा हुन् मनमनै ।

मैले कुनै दल विशेषका नेताहरुलाई भनेको छैन, यो सबै दलका नेतामा लागू हुन्छ । अहिले कुनै पनि नेताले पुस्तक पढ्छन् जस्तो मलाइ लाग्दैन । कम्युनिष्ट दर्शनका किताब पाइने ठाउँ जागरण बुक सेन्टरमा म कहिलेकाहीँ जान्छु, साहुजीलाई नेताहरु कत्तिको आउँछन् भनेर सोध्छु । तर साहुजी भन्छन्, ‘पहिले पहिले त कम्युनिष्ट नेता र कार्यकर्ता खुब आउँथे, अहिले आउनै छाडे, बरु विप्लवका युवा कार्यकर्ताले यसो पुस्तक किन्छन्, ठूला कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताले पढ्दै पढ्दैनन् ।’

अब माथिका नेताले पनि नपढ्ने, तलका कार्यकर्ताले पनि नपढ्ने, यस्तो परम्पराले लोकतन्त्र कसरी बलियो हुन सक्ला त ?

सरकारले अहिले पुस्तक आयातमा लगाएको १० प्रतिशत भन्सारले समाजलाई राम्रो गर्दैन । सरकारले यो निर्णयलाई उल्ट्याउनुपर्छ र पुस्तक पढ्ने हामी सबैले सरकारको यस्तो निर्णयको विरोध गर्नुपर्छ ।

वार्षिक १ अर्बको पुस्तक आयो भने पनि सरकारले १० करोड रुपैयाँ उठाउला । तर यहाँ त एउटै फैसलाले अरबौँ रुपैयाँ डुब्दा सरकार र नेताहरु चुप छन्, पुस्तकमा भन्सार लगाएर आउने १० करोडमा  खुबै आँखा लगाएका छन् ।

मैले यी कुरा एउटा नेताको रुपमा भन्दा पनि एउटा पाठकको रुपमा बोलेको हो । एउटा लोकतान्त्रिक समाजको नागरिकको हिसाबले बोलेको हो । सरकारले पठन संस्कृति बिगार्ने गरी पुस्तक आयातमा लगाइरहेको भन्सार शुल्क खारेज गर्नुपर्छ ।

–विदेशबाट आउने पुस्तकमा १० प्रतिशत भन्सार लगाइएको विषयमा नेपाल राष्ट्रिय पूस्तक विक्रेता तथा प्रकाशक संघले काठमाण्डौमा गरेको कार्यक्रममा नेकपाका नेता रघुजी पन्तले राखेको विचारको सम्पादित अंश

अन्तिम अपडेट: चैत ६, २०८०

रघुजी पन्त

लामाे समय पत्रकारितामा सक्रिय रघुजी पन्त नेकपाका नेता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया