कर्णाली सरकारले ल्यायाे सबै नागरिकका लागि सामूहिक दुर्घटना बीमा सुविधा

 असोज १, २०७६ बुधबार १७:४८:१० | मुना हमाल
unn.prixa.net

सुर्खेत - कर्णाली प्रदेश सरकारले प्रदेशका नागरिकहरुको सामूहिक दुर्घटना बीमा शुभारम्भ गरेको छ ।

यसका लागि प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राष्ट्रिय बीमा बोर्डसँग दुर्घटना सम्झौता गरेको छ । बुधबार वीरेन्द्रनगरमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव वीरेन्द्रकुमार यादव र राष्ट्रिय बीमा कम्पनीका  प्रमुख डिल्लीराज अर्यालले सहमति पत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

कार्यक्रम अन्तरगत कर्णालीका १७ लाख ७० हजार नागरिकको दुर्घटना बीमा गरिनेछ ।बीमा कार्यक्रमका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा १ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको थियो । प्रदेश सरकारले ल्याएको बीमा कार्यक्रममा यहाँका हरेक नागरिकले एक लाख रुपैँयाको निशुल्क दुर्घटना बीमाको सुविधा पाउनेछन् । 

सरकारले विपद् दुर्घटनाका कारण घरमा क्षति भएमा पनि  प्रति घर ५ लाख रुपैयाँको बीमा सुविधा प्राप्त गर्ने व्यवस्था गरिएको छ । 

बीमा कार्यक्रमको शुभारम्भ गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशमा बाढी पहिरो, आगलागी, चट्याङलगायतका प्राकृतिक प्रकोपको जोखिम भएकाले दुर्घटना बीमा कार्यक्रम ल्याएको बताउनुभयो ।

उहाँले बीमा कार्यक्रमले विपद्का समयमा जनतालाई राहत पुग्ने पनि विश्वास व्यक्त गर्नुभयो । मुख्यमन्त्री शाहीले बीमा कार्यक्रमलाई प्रभावकारी गराउन सबैलाई आग्रह पनि गर्नुभयो ।

‘कर्णाली प्रदेश प्राकृतिक विपद्को उच्च जोखिममा रहेको छ । त्यसैले हामीले जनताको सुख र दुखमा साथ दिनेगरी यो कार्यक्रम ल्याएका हाै’, उहाँले भन्नुभयो, ‘यस कार्यक्रमलाई प्रभावकारी बनाउन सबैलाई आग्रह गर्दछु ।’

उहाँले बीमा कम्पनीलाई प्रदेशका सबै जिल्लामा गएर प्रभावकारी रुपमा नागरिकको बीमा गर्न पनि अनुरोध गर्नुभयो ।      
    

अन्तिम अपडेट: चैत १४, २०८०

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया