संघीय संसद्को चौथो अधिवेशन टुंगिँदै

 असोज २, २०७६ बिहिबार ८:४०:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – संघीय संसद्को चालु चौथो अधिवेशन बिहीबार टुंगिँदै छ । बिहीबार बस्ने प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठकमा राष्ट्रपति कार्यालयबाट आएको पत्र पढेर सुनाएपछि चौथो अधिवेशन टुंगिने संसद् सचिवालयले जनाएको छ । 

बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले पनि दुवै सदनमा छुट्टाछुट्टै सम्बोधन गर्ने तय छ । सभामुख कृष्णबहादुर महरा शनिबार एक हप्ताको लागि काजकिस्तानको भ्रमणमा जाने भएकाले केही दिनअघि नै अधिवेशन टुंग्याउन लागिएको सचिवालयले जनाएको छ । 

यससँगै एक वर्षअघिदेखि संसदमा अड्किएको नागरिकतालगायतका विधेयक अघि बढ्न कम्तीमा अर्को तीन महिना कुर्नुपर्ने भएको छ । २०७५ साल साउन २२ गते प्रतिनिधिसभामा दर्ता भएको यो विधेयकमा विदेशी महिलाले नेपाली पुरुषसँग विवाह गरे तत्काल नागरिकता दिने कि सात वर्षपछि मात्रै दिने भन्नेमा राजनीतिक दलहरूबीच सहमति नजुट्दा पारित हुन नसकेको हो । 

अब यो विधेयकमाथि पुसको पहिलो हप्ता सुरु हुने हिउँदे संसद्मा छलफल हुने सम्भावना छ । बिहीबार प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया