चितवनमा राजमार्ग सुरक्षा सशस्त्र प्रहरीले गर्ने

 असोज २, २०७६ बिहिबार १७:५८:८ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन - चितवन जिल्लामा पर्ने राजमार्गमा सुरक्षाका लागि सशस्त्र प्रहरी बललाई खटाइने भएको छ ।

राजमार्गमा सुरक्षाका लागि सशस्त्र प्रहरी खटाइनेगरी जिल्ला सुरक्षा समितिको बैठकले निर्णय गरेको चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिनुभयो । 

राजमार्ग क्षेत्र अवरोध तथा बन्द गर्न नपाइने निर्देशिका जारी भइसकेको, राजमार्गमा सवारी चाप बढ्दै गएको र सबै सडकखण्डमा सुरक्षाका लागि खटिन जिल्ला प्रहरी कार्यालय अन्तर्गत रहेको प्रहरीको जनशक्ति अपुग भएकोले सशस्त्र प्रहरी बललाई खटाइने निर्णय गरिएको प्रजिअ बस्नेतले बताउनुभयो ।

सडक यात्राको सुरक्षालाई ध्यानमा राखेर जिल्लामा रहेका बाहिरी राजमार्ग र भित्री राजमार्गमा समेत सशस्त्र प्रहरीलाई परिचालन गर्नेगरी निर्णय भएको बताउदै उहाँले चाडपर्व लक्षित विशेष सुरक्षा योजनालाई समेत यसले सहयोग पुग्ने बताउनुभयो । 

दशैँ, तिहार, छठलगायतपर्वमा नेपाल प्रहरीको जिम्मेवारी धेरै हुने र मुख्य राजमार्गमा सशस्त्रले गस्ती गरिदिँदा धेरै सहज हुने भएकाले यस्तो निर्णय गरिएको उहाँले बताउनुभयो । चितवनको क्षेत्र अन्तर्गत ९३ किलोमिटर मुख्य राजमार्ग पर्दछ । चितवन र मकवानपुरको सिमाना लोथल खोलादेखि धादिङ र चितवनको सिमाना मौवाखोलासम्मको सडक क्षेत्र मुख्य राजमार्ग हो । 

राजमार्ग क्षेत्रको सुरक्षाका लागि सशस्त्र प्रहरी खटिँदा जिल्लाको शान्ति सुरक्षामा थप बल पुग्ने जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख (एसपी) दानबहादुर मल्लले बताउनुभयो । जिल्ला प्रहरी अन्तर्गत जिल्लामा ३३ वटा स्थायी पोष्ट र ६८ वटा अस्थाइ पोष्टमा बाँडिएर काम गर्नुपर्दा सबै क्षेत्रमा पहुँच विस्तार गरी काम गर्न असहज भएको बेला सशस्त्र प्रहरी बलले राजमार्ग क्षेत्रको सुरक्षामा सहयोग गरिदिँदा धेरै राहत हुने उहाँले बताउनुभयो । 

चितवनमा ९३ किलोमिटर राजमार्ग,३०८ किलोमिटर पक्की सडक,१३२० किलोमिटर ग्राभेल सडक र ५५५ किलोमिटर कच्ची सडक गरी २१८३ किलोमिटर सडक रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख चन्द्र गिरीले बताउनुभयो ।

जनशक्तिको अभावले सबै सडकखण्डमा सोचे अनुसारका ट्राफिक प्रहरी परिचालन गर्न नसकिएको उहाँले बताउनुभयो । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया