चितवनमा २५१५ जनामा डेंगी, ५५ जनालाई स्क्रब टाइफस

 असोज २, २०७६ बिहिबार २०:३९:३७ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन – चितवनमा डेंगीको समस्या बढ्दै गएको छ । हरेक दिन बिरामी बढ्दै गएका छन् ।

डेंगीको महामारी देखिएको चितवनमा स्क्रब टाइफसका बिरामी पनि उत्तिकै देखिएका छन् । बेलैमा नियन्त्रणतर्फ चासो नदिए यसले पनि डेंगीझैँ महामारीको रुप लिन सक्ने भन्दै स्वास्थ्यकर्मीहरुले सचेत हुन आग्रह गरेका छन् ।

चितवनमा ८ हजार २२१ जना बिरामीको परीक्षण गर्दा २ हजार ५ सय १५ जनामा डेंगीको संक्रमण देखिएको छ । भरतपुर महानगरपालिकामा मात्र १ हजार ७ सय ५७ जनालाई डेंगीको संक्रमण भएको छ । चितवनमा साउनदेखि हालसम्म ५५ जना संक्रमित भएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कतिपय निजी अस्पतालले स्क्रब टाइफस बिरामीको तथ्याङ्क अपडेट नगर्दा अझै संख्या यकिन गर्न नसकिएको कार्यालयको भनाइ छ ।

स्क्रब टाइफस रोगका कारण चितवनको अस्पतालमा उपचार गराएका रौतहट र नवलपरासीका एक–एक जनाको केही दिनअघि ज्यान गएको छ । केही दिनको उपचारपछि यो रोग निको हुने डाक्टरहरु बताउँछन् । ढिला गरी रोग पत्ता लागेर उपचार भएमा निको हुन गाह्रो हुने डाक्टरहरु बताउँछन् ।

जिल्लाको ग्रामीण क्षेत्रमा भन्दा शहरी क्षेत्रमा डेंगीको प्रभाव धेरै देखिएको छ । रत्ननगर नगरपालिकामा ८१, खैरहनी नगरपालिकामा २७, राप्ती नगरपालिकामा १६, कालिका नगरपालिकामा ३०, माडी नगरपालिकामा २९ र इच्छाकामना गाउँपालिकामा १४ जनामा डेंगी देखिएको जिल्ला स्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीले जानकारी दिनुभएको छ ।

चितवनका अस्पतालमा परीक्षण भएको तथ्याङ्क अनुसार मकवानपुर जिल्लाका ५४ जना, नवलपरासी जिल्लाका २६१ जना र अन्य जिल्लाका २४६ जना गरी २ हजार ५१५ जनामा डेंगीको संक्रमण देखिएको उहाँले बताउनुभयो । अस्पतालका सबै बेडहरु बिरामीले भरिएका छन् । ज्वरोका कारण चितवनका निजी अस्पतालमा मात्रै दैनिक ६ सय बिरामी पुग्ने गरेका छन  जसमध्ये २० प्रतिशतमा डेंगी देखिने गरेको छ । 

मुसा प्रजातिको जीवमा बस्ने माइट नामक किर्नाको टोकाइबाट स्क्रबब टाइफस रोग लाग्छ । स्क्रब टाइफस संक्रमण गराउने माइट खासगरी खेत, झाडी र घाँसमा रहने मुसा प्रजातिमा रहन्छ । संक्रमित व्यक्तिलाई अत्यधिक टाउको दुख्ने, सास फेर्न गाह्रो हुने, १०३ देखि १०४ डिग्रीसम्म ज्वरो आउने, जीउ दुख्ने, आँखा हल्का रातो हुने, पसिना बढी आउनेलगायत लक्षण देखिन्छ ।

सरकारले यसअगाडि नै डेंगी परीक्षण जथाभावी नगर्न÷नगराउन सरकारले सचेत गराइसकेको छ । संयमित भएर उपचार गर्न भन्दै सरकारले सार्वजनिक अपिल नै गरेको थियो । जेठको अन्तिम हप्ता सरुवा रोग महाशाखाले विज्ञप्ति प्रकाशन गरी ३ विशेष अवस्थामा मात्र डेंगी परीक्षणका लागि सचेत गराएको थियो । कम्तीमा ३ दिनदेखि उच्च ज्वरो आएमा, बिरामीको रगमा सेतो रगत ४ हजार सेलभन्दा कम भएमा र प्लेटलेट १ लाखभन्दा कम भएमा डेंगी परीक्षण ठिक हुने विज्ञप्तिमा उल्लेख गरिएको थियो । 

डेंगी रोगका कारण बिरामी भएकालाई सेतो रगतको आवश्यक पर्दछ । चितवनमा अहिले सेतो रगतको अभाव देखिएको छ । रक्तसंचार केन्द्र भरतपुरले दैनिक १ सय युनिट माग भएकोमा ७० युनिट मात्र उपलब्ध गराउन सकेको छ । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलले नियमित रक्तदान नहुँदा डेंगी संक्रमितलाई आवश्यक पर्ने सेतो रगत पुर्‍याउन कठिन भइरहेको बताए । गएको वर्ष यो स्क्रब टाइफस रोगको संक्रमित संख्या ३ सय ३३ रहेको कार्यालयका कीट निर्देशक राम केसीले बताउनुभयो । 

डेंगी लागेको अनुमानकै भरमा उपचार गर्ने क्रम बढेका कारण सेतो रगको अभाव हुन थालेको हो । डेंगी लागेको आशंकामा धमाधम रगत चढाउने क्रम बढेकाले रगतको अभाव भएको देखिन्छ । सेतो रगत स्वस्थ व्यक्तिमा ४ हजारदेखि १० हजार सम्म र प्लेटलेट १ लाख ५० हजार देखि ४ लाख सम्म हुन्छ । 

नेपालमा सन् २००४ मा पहिलोपटक चितवनमै एक व्यक्तिमा डेंगीको संक्रमण पाइएको थियो । जिल्ला स्वास्थ्य कार्यालयले दिएको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०६७/०६८ मा तीन हजार २९८ जनाको डेंगी परीक्षण गरिएकोमा ७३९ जनामा संक्रमण देखिएको थियो । त्यस आर्थिक वर्षमा पाँच जनाको मृत्यु भएको कार्यालयले जनाएको छ । 

आर्थिक वर्ष २०७०/०७१ मा दुई हजार २६१ जनाको परीक्षण गरिएकोमा ३७१ जनामा डेंगीको संक्रमण देखिएको थियो । आर्थिक वर्ष २०७३/०७४ मा दुई हजार ५६२ जनामा परीक्षण गर्दा ६८७ जनामा डेंगी फेला परेकोमा एक जनाको मृत्यु भएको थियो । आर्थिक वर्ष २०७४/०७५ मा १ हजार २ सय ९१ जनामा परीक्षण गर्दा ५९  जनामा डेंगी फेला परेकोमा एक जनाको मृत्यु भएको थियो ।

अन्तिम अपडेट: चैत १४, २०८०

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया