सार्वजनिक बसमा घर जाने यात्रुले ध्यान दिनुपर्ने कुराहरु

 असोज ३, २०७६ शुक्रबार १०:३१:५७ | सिताराम हाछेथु
unn.prixa.net

दशैँ मुखैमा आइसक्यो । अब काठमाण्डौ छोडेर आफ्नो घर जाने यात्रुको घुइँचो बढ्छ । दशैँमा घर जाने यात्रुहरुले धेरै कुरा थाहा नपाएकै कारण यात्रा झञ्झटिलो हुने गर्छ ।

ट्राफिक महाशाखाको तथ्याङ्कअनुसार २०७५ सालको कुरा गर्ने हो भने २२ लाख मान्छेले दशैँमा काठमाण्डौ छाडेको तथ्याङ्क छ । यसमा सानो लापर्वाही र ध्यान नदिएकोले दुर्घटना भएको कुरा हामीलाई थाहा छ । घर जाने बेलामा मात्रै होइन न घर जानुअघि देखि नै तयारी सुरु गर्नुपर्छ ।

टिकटबारे जानकारी

यो वर्ष असोज ५ गतेदेखि टिकट बुकिङ सुरु हुने भएको छ । अब जो–जो घर जाँदै हुनुहुन्छ, उहाँहरुले आफूले जाने ठाँउको टिकट काउन्टर कहाँ छ, त्यो थाहा पाउनुपर्छ । रातभर कुरेर टिकट काटेको भन्ने कुराहरु हामीले देखेका र सुनेका छाैँ ।  यस्तो दुःख नपाउन पहिले कहाँ कहाँ टिकट काउन्टर छन् त्यो सबै बुझ्नुपर्छ । आफ्नो टिकट पाउने ठाँउमा सकेसम्म भिड नहुँदै गएर टिकट काट्नुपर्छ ।
 
धेरै यात्रुहरु फूलपातीको बेलामा जाने तयारीमा रहेको हामीले पाएका छौँ । यसले गर्दा यो बेला गाडीको पनि, यात्रुको पनि चाप बढी हुने, टिकट नपाउने, कोचाकोच गरेर जानुपर्ने हुन्छ । यस्तो नहुन यात्रुले सकेसम्म फूलपातीभन्दा पहिला वा पछाडि अलि कम चाप भएको बेला जाने हो भने यात्रा धेरै सहज हुन्छ ।

भिडमा टिकट काट्न जाँदा पाकेटमारी हुने सम्भावना धेरै हुन्छ । यसमा यात्रु स्वयम नै निकै चनाखो हुनुपर्छ । यो कुरा सानो देखिए पनि यसमा निकै ध्यान पु¥याउनुपर्छ भन्छु म त । कहिलेकाहीँ पाकेटमारीका कारण घर जानै नपाउने स्थिति आउन सक्छ, त्यसैले यो कुरामा यात्रुले ध्यान दिनै पर्छ ।  
त्यस्तै आफू जुन ठाँउमा जाने हो, त्यो ठाँउको भाडादर कति छ ? केही छुट छन् भने त्यसको बारेमा पनि यात्रुले जानकारी लिनुपर्छ ।

यात्रुले आफू जाने बसको बारेमा बुझ्नुपर्‍यो । हामीलाई दशैँमा घर जानुपर्ने हुन्छ र हामी केही नबुझी टिकट काट्छौँ । हामी जाने गाडी कस्तो छ ? पुरानो छ कि नयाँ छ ? त्यो गाडी कन्डिसनमा छ कि छैन ? हामीलाई केही थाहा हुन्न । त्यसैले यात्रुले गाडीको बारेमा बुझ्नुपर्छ । पहिलो त्यो गाडीको नम्बर थाहा पाउनुपर्छ ।

अर्काे दशैँमा गाडी कम हुने भएकोले पुरानो गाडीहरुलाई बनाएर ल्याएको हुन्छ, त्यसैले पुरानो र थात्रा गाडी छन् भने त्यसको टिकट काट्नु भएन । पैसा थोरै बढी तिरेर भए पनि नयाँ बस र राम्रो सिट भएको गाडी छान्नुपर्छ । कतिपय टिकटमा त गाडी नम्बर पनि हुन्न, कुन गाडी हो भने पनि हुन्न । यसका लागि यात्रुले कुन गाडी हो, कुन दिन जान्छ, कहाँबाट गाडी लाग्छ, कहाँसम्म जान्छ ? कति बजे जान्छ यो सबै कुरा बुझ्नुपर्छ ।

अनि घर पुग्नुपर्छ भनेर हामी जुनसुकै  रुटको गाडीमा चढ्छौँ । बस वा माइक्रो रिजर्भ गर्छाैँ, तर यसो गर्नु हुँदैन । नयाँ ड्राइभरलाई त्यो बाटो र ठाउँको बारेमा थाहा नहुने भएकोले सकेसम्म आफू जुन ठाउँमा जाने हो, त्यही ठाउँमा जाने बस वा माइक्रो र त्यही बाटो गाडी चलाउने ड्राइभरले चलाएको गाडीमा मात्र जानुपर्छ ।  गाडी रिजर्भ गर्दा धेरै पैसा लिन सक्छन्, यसमा पनि ध्यान दिनुपर्छ ।

हामीले देखेको अर्काे कुरा चाहिँ अभिभावकले बच्चालाई आफ्नै काखमा राखेर यात्रा गरेको हुन्छन् । यसो गर्दा काखमा राख्ने बुवाआमालाई पनि गाह्रो अनि बस्ने बच्चालाई पनि । अब बच्चाहरु ठूला छन् भने उनीहरुको पनि टिकट काटेर गयो भने दुवैले सजिलोसँग जान सक्छन् । 

ट्राफिकको आँखा छलेर धेरै यात्रुहरु गाडीको छतमा बसेर पनि जाने गरेका हुन्छन् । यो निकै खतरापूर्ण हुन्छ । हामीले यसका लागि जाँच गर्दा ट्राफिक र प्रहरीलाई देख्दा ओर्लिने अनि त्यहाँबाट अघि बढेपछि, ट्राफिक नदेखेपछि फेरि छतमा चढेर जाने गरेको छन् ।  यसो गर्दा एकछिन ढाँटेर के गर्नु यसबाट यात्रु आफै असुरक्षित हुने भएकोले यसो नगर्न हामी सबै ट्राफिक प्रहरी अनुरोध गर्छाैँ ।

हामीले सधैँ कुरा गरिरहेकै हुन्छौँ । गाडीको झ्यालबाट टाउको ननिकालौँ भनेर तर पनि धेरैले यसो गर्नुहुन्छ । त्यसो गर्दा बाहिर अझै रोडमा त एकदमै खतरा हुन्छ । जस्तै बान्ता आउने भयो भने झोलाको प्रयोग गर्न सकिन्छ नि बाहिर टाउको निकाल्नु परेन नि । 

त्यही भएर गाडीमा जादाँ बान्ता, रिगँटा जस्ता केही स्वास्थसँग सम्बन्धित समस्या हुन सक्छन् । यसका लागि प्राथमिक उपचारका सामान र औषधिहरु पनि आफैसँग लिएर जान सकिन्छ । जस्तो बान्ताका झोला, पेट टुखेको, टाउको दुखेको, ज्वरोको जस्ता औषधिहरु बोकेर जाँदा अप्ठेरो पर्दा सजिलो हुन्छ ।
अब कहिलेकाहीँ बाटोमा जाँदा पहिरो र जामले गरेर लामो समय बाटोमै बस्न पर्ने हुन्छ । यस्तो समस्या आउन सक्ने भएकोले ब्यागमा केही खानेकुराहरु बोक्नु राम्रो हुन्छ ।

यात्राका क्रममा अपरिचित मान्छेले दिएको सकेसम्म खानु भएन । हामीले धेरैपल्ट यसरी अरुले दिएको खाँदा बेहोस भएर लुटिएको भनेर गुनासो पाएका छौँ । त्यही भएर कसैले दिएको सकेसम्म नखाने ।

यात्रा गर्दा धेरैले धेरै गहना लगाएर गएका हुन्छन् । त्यो पनि नगर्दा हुन्छ नि । सामान्य र सजिलो किसिमको लुगा र लगाउन परे मात्रै सामान्य गहना  लगाएर बाँकी आफ्नो सामान पनि राम्रोसँग प्याक गरेर देख्ने गरी राख्ने पनि गर्न सकिन्छ  । अनि धेरै सामानहरु बोकेर जाँदा पनि यात्रा असहज हुन्छ । त्यस्तै गाडीमा कसैको व्यवहार अलि अनौठो र शकांस्पद लाग्यो भने ट्राफिक प्रहरी वा प्रहरीलाई खबर गर्नुपर्छ । 

विदेशबाट भर्खर दशैँ मनाउन आएको मान्छेहरु बढी लुटपाटमा पर्न सक्ने हुँदा उहाँहरु अझ सचेत हुनुपर्छ । अनि उहाँहरुले आफू जाने ठाँउको बारेमा पनि राम्ररी बुझ्नुपर्छ । टिकट पाउने ठाँउदेखि आफू जाने बस र बाटोको बारे सबै कुरा ।

सबैभन्दा महत्वपूर्ण भनेको गाडी चलाउने ड्राइभरले गाडी बढी गतिमा हाँकेमा, जथाभावी दायाँबायाँ गरेर चलाएमा यात्रुले सचेत गराउनुपर्छ । ‘ए दाइ, अलि बिस्तारै ध्यान दिएर चलाउनुस्’ भन्नुपर्छ । गाडीहरुको दुर्घटना कम गर्न यसले निकै मद्धत गर्छ । अनि बीचमा मान्छे र सामान पनि हाल्न लाग्यो भने ‘यस्तो गर्न हुन्न, पाइँदैन’ भनेर यात्रुले भन्नुपर्छ । यात्रु जागरुक भए मात्रै पनि धेरै हदसम्म दुर्घटना कम गर्न सकिन्छ ।

यो सबै गर्दा पनि केही समस्या आएमा नागरिक सहायता कक्षमा गएर सम्र्पक राख्यो भने तत्काल समाधान हुन्छ । काठमाण्डौमा १४ वटा ठाउँमा सहायता कक्ष छन् । र यो भन्दा बाहिर केही समस्या आयो, केही बुझ्नुपर्यो भने ट्राफिक कन्ट्रोल १०३ मा फोन गर्न सकिन्छ ।

अन्तिम अपडेट: चैत १३, २०८०

सिताराम हाछेथु

हाछेथु ट्राफिक प्रहरीका अवकाश प्राप्त निरीक्षक हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया