आर्थिक समृद्धि हासिल गर्ने साझा संकल्प पूरा गर्न सबै राजनीतिक दल एक भएर अघि बढ्नुहाेस् : राष्ट्रपति

 असोज ३, २०७६ शुक्रबार १८:२१:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - राष्ट्रपति विद्या भण्डारीले देशको आर्थिक समृद्धि हासिल गर्ने साझा संकल्प पूरा गर्न सबै राजनीतिक दलहरुलाई एकजुट भएर अग्रसर हुन आह्वान गर्नु भएको छ ।

राष्ट्रपति भण्डारीले संविधान सफलताका साथ कार्यान्वयन हुँदै गैरहेको उल्लेख गर्दै संविधान निर्माणमा एकतावद्ध भएका राजनीतिक दलहरुले देशको आर्थिक समृद्धि हासिल गर्न पनि एकजुट भएर अग्रसर हुने विश्वास पनि व्यक्त गर्नुभयो ।

संविधान दिवसको अवसर पारेर शुक्रबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सबै राजनीतिक दलहरुसँग सहकार्य गरेर संविधान निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गर्नु भएका पूर्व प्रधानमन्त्री सुशील कोइरालाको पनि प्रशंसा गर्नुभयो । राष्ट्रपति भण्डारीले तत्कालीन नेपाली का‌ंग्रेसका सभापति समेत रहनु भएका स्वर्गीय कोइरालाले नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्‍याउनु भएको योगदान पनि चर्चा गर्नुभयो ।

कार्यक्रममा बोल्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवास नेम्वाङले संविधान निर्माणमा सबै राजनीतिक दलहरुको योगदान रहेको चर्चा गर्नुभयो ।

संविधान सभाका अध्यक्ष समेत रहनु भएका उहाँले संविधान निर्माणमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै का‌ंग्रेस नेता कृष्णप्रसाद सिटौलाको पनि प्रशंसा गर्नुभयो । उपनेता नेम्वाङले संविधानमा असन्तुष्टि भए जनतालाई विश्वासमा लिएर संशोधन गर्दै अघि बढन सकिने पनि स्पष्ट पार्नुभयो ।

कार्यक्रममा राष्ट्रपति भण्डारीले पूर्व प्रधानमन्त्री कोइरालालाई ‘मरणोपरान्त जनआन्दोलन स्वर्ण पदक’ बाट सम्मान गर्नु भएको थियो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया