संसारकै अग्लो भवन बुर्ज खालिफामा नेपाली झण्डा यसरी फहरायो

 असोज ४, २०७६ शनिबार ८:०:४५ | उमाकान्त पाण्डे
unn.prixa.net

यूएई – झमक्क साँझ परिसकेको थियो । गगनचुम्बी भवनहरुमा बलेका बत्तीहरुले दुबई त्यसै उज्यालिएको थियो । संसारभरका नागरिकहरुको जमघट हुने थलो भएर पनि होला मान्छेहरुको चहलपल उत्तिकै बाक्लो थियो ।

दुबईको ‘रेडलाइन’ मा चल्ने मेट्रोमा बर दुबई तथा जबिलआलीबाट टनाटन नेपाली आइरहेका थिए । मेट्रोभित्र नेपाली भाषा बोलेको सुन्दा नेपालकै कुनै जमघटमा पुगेको महसुस हुँदै थियो । सबैले नेपाल र नेपाली गौरव तथा पुर्खाको बयान गरिरहेका थिए ।

मेट्रोमा आएको नेपालीको भिड तितरवितर हुँदै आ–आफ्ना तरिकाले संसारको अग्लो भवन बुर्ज खालिफाको आँगनमा पुगे । बुर्ज खालिफाको चारै दिशाका आँगनमा नेपाली नागरिकको बाक्लो उपस्थिति थियो ।

त्यसो त त्यो भिडमा विदेशी नागरिक झन धेरै देखिन्थे । सबै आ–आफ्नो सुरमा । शुक्रबार खाडीमा सार्वजनिक बिदाको दिन हुने भएकाले यहाँ कार्यरत धेरै नेपाली दिनभर बर दुबई तथा आसपासमा जमघट गरी कोठा फर्किन हतारै भए पनि बुर्ज खालिफाको आँगन टेकेका थिए । बुर्ज खालिफाको काखैमा टाँस्सिएको दुबई मल, आडैमा छेकेर ल्याएको सामुन्द्रिक तट, पारीपट्टिको शुक अल बहार (पुरात्वात्विक बजार क्षेत्र)मा कार्यरत नेपाली सबैका आँखा बुर्ज खलिफामा केन्द्रित थिए ।

नेपालीहरु त्यसरी बुर्ज खालिफाको आगनमा पुग्नुको एउटै कारण थियो ‘संसारकै अग्लो भवन बुर्ज खालिफामा पहिलो पटक नेपाली झण्डा’ फहराउँदै थियो । यूएईको स्थानीय समयानुसार शुक्रबार साँझ ९ः१० (१० बजेर ५५ मिनेट नेपाली समय) मा एक मिनेट चहकिलो सेतो पर्दा बाहिर चन्द्र सूर्य अंकित नेपालको झण्डा चम्कियो ।

आँगनमा भेला भएका नेपालीको ‘हुटिङ’ र उल्लासले त्यहाँको माहोल ऐतिहासिक बनायो । ‘नेपाल नेपाल’ गुञ्जियो । ताली बज्यो । हो...को हल्ला चारैतिर फैलियो । नेपालीका साथै विदेशीले पनि नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवसमा खुशीयाली मनाए ।  

कसरी सम्भव भयो ?

यसरी संसारकै अग्लो भवन बुर्ज खालिफामा पहिलो पटक नेपाली झण्डा झलमलाउने प्रयास नेपाली दूतावास आबुधाबीले गरेको थियो । आफू राजदुतको रुपमा आएलगत्तै नेपाली पत्रकारसँगको छलफलका क्रममा राजदूत कृष्णप्रसाद ढकालले आफूले सकेको प्रयास गरेर बुर्ज खालिफामा नेपाली झण्डा फहराउने बताउनु भएको थियो ।

ढकाल राजदूत भएर यूएई आएको एक वर्ष नहुँदै दूतावासको प्रयासमा यस् पटक झण्डा फहराउन सकेकोले त्यहीँबाट दूतावासको धेरैले प्रशंसा गरे ।

सबै चाँजोपाजो मिलाएर १ मिनेटका लागि नेपाली झण्डा फहराउने निशिचत भयो । यूएई सरकार, बुर्ज खालिफा व्यवस्थापन तथा इमार होल्डिङ कम्पनीले नेपाली झण्डा फहराउने पक्कापक्की भएको कुरा सार्वजनिक भने गरेको थिएन ।

झण्डै साढे दुई महिना पहिलेबाट प्रयोग गर्न छोडेको दूतावासको फेसबुक पेजमार्फत बुर्ज खालिफामा नेपाली झण्डा झलमलाउने सूचना शुक्रबार बिहान मात्रै प्रकाशन भयो । विभिन्न सञ्चार माध्यममा त्यही सूचानका आधारमा सामग्री प्रकाशन भए । लामो समयसम्म प्रयोग नगरिएको फेसबुक पेजबाट आएको सूचना सही नै हो भन्न पनि सकिने अवस्था थिएन । 

कतैबाट दुरुपयोग पो भयो कि भन्ने पनि थियो । उज्यालोले राजदुत ढकालसँग ‘कन्फर्म’ गर्‍याे । राजदूत ढकाल त्यो बेला पनि त्यही कामको औपचारिक बैठकमै हुनुहुँदो रहेछ । तर उहाँले झण्डा झलमलाउन लागेको कुरा पुष्टि गरेपछि उज्यालोमा त्यो समाचार प्रकाशन भयो । दूतावासको फेसबुक पेज, उज्यालोलगायत विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचार सामाजिक सञ्जालमार्फत भाइरल भयो । र समय मिल्ने सबै जना बुर्ज खालिफाको आँगनमा जम्मा हुने अभियान नै चल्यो ।

राजदूत ढकालको प्रशंसा

आफूले जिम्मेवारी लिएदेखि राजदूत कृष्णप्रसाद ढकालले यहाँको सरकारसँग बुर्ज खलिफामा नेपालको झण्डा फहराउन आग्रह गर्नु भएको थियो । उज्यालोसँग कुरा गर्दै राजदूत ढकालले भन्नुभयो, ‘संसारकै सबैभन्दा अग्लो भवनमा इतिहासमै पहिलोपल्ट नेपालको राष्ट्रिय झण्डा झलमलाउँदा गर्वले छाती चौडा र शिर ठाडो भएको छ ।’

नेपालसहित दर्जनौं देशका हजारौँ मान्छेले नेपालको राष्ट्रिय झण्डा फरफराएको अवलोकन गरेको विषय अभूतपूर्व भएकोले यूएई सरकारलाई धन्यवाद दिँदै नेपाल र नेपालीको सम्मानमा यूएईले देखाएको सदाशयताकलाई नेपालले सम्मानपूर्वक ग्रहण गरेको उहाँले बताउनुभयो ।

१ मिनेट राष्ट्रको झण्डा फहराउँदा खुशीका आँसु चुहिए

झण्डै एक दशक यूएईमा काम गर्दा कैयौँ पटक ओहोरदोहोर गरेको संसारको अग्लो भवनमा आफ्नो देशको चन्द्र सूर्य अंकित झण्डा फहराउँदा आफ्नो आँखाबाट आँसु चुहिएको दाङका सुवास शर्माले बताउनुभयो । यूएईमा कार्यरत धेरै नेपालीले नेपाली श्रमको गुन सम्मानपूर्वक तिरेको भन्दै यूएई सरकारलाई धन्यवाद दिएका छन् ।

दुबईमा रहेको संसारकै सबैभन्दा अग्लो मानव–निर्मित भवन (८२३ मिटर अग्लो) मा इतिहासमै पहिलो पटक नेपाली झण्डा फहराएको हो ।
 
त्यस्तै ‘आबुधाबी नेसनल ओइल कम्पनी’ले पनि ७५ औ तल्लाको आफ्नो केन्द्रीय कार्यालय आबुधाबीमा रहेको भवनमा नेपाली झण्डा फहराएको थियो ।

शुक्रबार साँझ यूएईको समयअनुसार सात बजेदेखि बिहान १ बजेसम्म झण्डा फहराइएको थियो । भवनको ३ तल्लाबाट ६५औँ तल्लासम्म झण्डै २ सय मिटर लामो नेपाली झण्डा झलमलाएको थियो ।

यसैबीच नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा गएको तीन दिनबाट दूतावासमा दीप प्रज्ज्वलन गरिएको छ । बिहीबार दूतावासमा पनि झण्डोत्तोलनसमेत गरिएको थियो । शुक्रबार साँझ यूएईमा रहेका नेपाली संघसस्थाको उपस्थितिमा दूतावास परिसरमा कार्यक्रमसमेत गरिएको थियो ।

त्यस्तै आउँदो आइतबार दूतावासकै आयोजनामा बोब अल क्युसार होटेलको सभा हलमा १ सय २० भन्दा धेरै देशका प्रतिनिधिको उपस्थितिमा कार्यक्रम गरिने दूतावासकी सूचना अधिकारी विष्णुकुमारी अधिकारीले उज्यालोलाई जानकारी दिनुभयो ।

भिडियाे हेर्नुहाेस् 

अन्तिम अपडेट: चैत ५, २०८०

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

1 Comments

  • dhama paudyal

    Sept. 21, 2019, 12:20 p.m.

    यो हो देश प्रेम । त्यहाँ बस्ने नेपाली आफ्नो देश को झान्डा त्याहा देख्दा कती खुशी भएका । यस्को पहल जस्ले गरेको भए पनि त्यो मान्छे धन्यबाद को पात्र छ । यहिं का लोन्डुपे हरुले बरु देश को झान्डा फेर्नु पर्छ समेत भनेर आफ्ना मालिक लाई खुशी पार्न खोजेका हुन ।

  •  0 Reply

तपाईको प्रतिक्रिया