यसरी टुंगियो चितवन मेडिकल कलेजकाे विवाद

 असोज ४, २०७६ शनिबार २१:१९:४१ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन - चितवन मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरुको लगातार १९ दिनसम्मको आन्दोलन वार्तामार्फत समाधान भएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनमा अभिभावक, विद्यार्थी र कलेज प्रशासनबीच शनिबार छलफलपछि सहमति भएको हो । 

विवाद समाधानका लागि मेडिकल कलेजका सञ्चालक हरीश न्यौपाने, आन्दोलनरत विद्यार्थीको तर्फबाट प्रकाश चन्द, अभिभावक र चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत लगायतकाबीचमा जिल्ला प्रशासन कार्यालय चितवनमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म वार्ता चलेको थियो ।

चितवन मेडिकल कलेजले विद्यार्थीबाट लिएको बढी शुल्क बढीमा ३० दिनभित्र फिर्ता गर्ने सहमति भएको छ । कलेजले विद्यार्थीहरुसँग सरकारले तोकेको भन्दा बढी लिएको शुल्क फिर्ता गर्ने अथवा समायोजन गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिनुभयो । सहमति अनुसार २०७६ कार्तिक १८ गते भित्र कलेजले बढी लिएको रकम विद्यार्थीहरुलाई फिर्ता वा शुल्कमा समायोजन गर्नुपर्ने हुन्छ । 

विद्यार्थीले आन्दोलन र विरोधका कार्यक्रम स्थागित गर्ने र पठनपाठन आइतबारबाटै सञ्चालन हुने सहमति भएको बताउँदै प्रजिअ बस्नेतले आन्तरिक समस्या र मागका विषयमा कलेज प्रशासन र विद्यार्थीबीच आन्तरिक रुपमा समाधान गर्ने सहमतिसमेत भएको जानकारी दिनुभयो ।

सरकारले तोकेभन्दा धेरै शुल्क लिएको भन्दै चितवन मेडिकल कलेजका विद्यार्थीले गरेको आन्दोलनका कारण १९ दिनदेखि पठनपाठन ठप्प भएको थियो । चितवन मेडिकल कलेजको २६ वटा संकायमा दुई हजार विद्यार्थी अध्ययनरत छन् ।

विद्यार्थीहरुले कलेजको आन्तरिक विभाग अन्तर्गत देखिएका केही समस्याका विषयमा माग पनि राखेका थिए । कलेजको आन्तरिक प्रशासन र विद्यार्थी बीच छलफल गरेर टुंग्याउने सहमति भएको छ ।

विद्यार्थीले कलेजमा बुझाएको ज्ञापनपत्र अनुसार डेन्टल साइन्सको हकमा ७ वटा र चिकित्सा शिक्षा अध्ययन सम्बन्धमा ६ ओटा माग पेस गरेका छन् । छात्रवृत्तिमा अध्ययन गर्न आउने विद्यार्थीसँग कुनै पनि शुल्क लिन नहुने माग उनीहरुको छ ।

सरकारले तोकेभन्दा १२ देखि १५ लाख रुपैयाँसम्म बढी रकम कलेजले विद्यार्थीहरुसँग लिने गरेको र त्यो रकम तत्काल फिर्ता हुनुपर्ने विद्यार्थीको माग थियो।तोकिएकोभन्दा बढी शुल्क लिँदा कलेजले कुनै भर्पाइ नदिएको विद्यार्थीले बताएपछि फिर्ता वा समायोजन गर्दा आउने विवाद समाधान गर्न ७ सदस्यीय समिति समेत गठन गरिएको छ । 

अभिभावक टेकप्रसाद चापागाईँको संयोजकत्वमा सुकराम पौडेल(विद्यार्थी),कला अधिकारी (विद्यार्थी), अरुण कोइराला (कलेजका प्रतिनिधि) एक जना अधिकृत (जिल्ला प्रशासन) अधिकृत (शिक्षा कार्यालय) र सदस्य सचिवमा राम अशिस थापा (कलेज) रहनेगरी समिति बनाइएको प्रजिअ बस्नेतले जानकारी दिनुभयो ।

विद्यार्थीको संघर्ष समितिले देशैभरका मेडिकल कलेजको समस्या भनेर आन्दोलन गर्दै आएको भए पनि चितवनमा भएको सहमति चितवन मेडिकल कलेजका विषयमा लागि मात्र भएको उहाँले बताउनुभयो । 

अस्पतालका सञ्चालक डा हरीश न्यौपानेले सरकारले तोकेभन्दा बढी रकम नलिएको बताउँदै आउनुभएकाे थियाे । चिकित्साशास्त्र अध्ययन सस्थान आईओएमले एमबीबीएसका लागि शैक्षिक शुल्क ४२ लाख रुपैयाँ तोकेको र अन्य परीक्षणलगायतका केही शुल्क पारदर्शी रुपमा नै लिएको उहाँको भनाइ थियाे ।

आईओएमलाई जानकारी गराएर परीक्षा शुल्क, इन्टर्नशिप शुल्क र समुदायमा जाँदा हुने खर्च गरी ६ लाख रुपैयाँमात्र अतिरिक्त शुल्क लिइएको उहाँले बताउनुभएको छ ।

शुक्रबार त्रिभुवन विश्वविद्यालयले विज्ञप्ति जारी गर्दै शुल्क बढी लिएको भए तत्काल फिर्ता गर्न चितवन मेडिकल कलेजलाई आग्रह गरेको थियो ।
 

अन्तिम अपडेट: चैत ४, २०८०

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया