कुलमानको ध्यान अब उद्योगतर्फ, उद्योगसम्म पुग्ने प्रसारण लाइन र सब-स्टेशन धमाधम निर्माण

 असोज ५, २०७६ आइतबार १३:०:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रदेश नम्बर ५ को रुपन्देही तथा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) र गण्डकी प्रदेशको नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा सञ्चालित र आगामी दिनमा खुल्ने उद्योगलाई पर्याप्त विद्युत् आपूर्ति गर्न प्रसारण लाइन र सब–स्टेसनको निर्माण धमाधम भैरहेको छ ।

बुटवल–लुम्बिनी १३२ केभी प्रसारण लाइन र मैनहिया १३२/३३/११ केभी सब–स्टेसन आयोजनाको समग्र भौतिक प्रगति झण्डै ४५ प्रतिशत छ । रुपन्देहीको योगीकुटी सब–स्टेसनबाट सुरु भ मैनहिया पुग्ने प्रसारण लाइनको लम्बाइ १८ किलोमिटर छ । दुई किलोमिटर भूमिगतसहित प्रसारण लाइन आयोजनाले ५७ टावर निर्माण गर्नुपर्ने छ ।

रुपन्देहीको भैरहवा क्षेत्रमा रहेका उद्योग र आम–उपभोक्तालाई गुणस्तरीय, विश्वसनीय विद्युत आपूर्ति गर्न, चुहावट घटाउन, प्रसारण क्षमता सुदृढ बनाउन यो आयोजनाको निर्माण हुन लागेको हो ।

यसैगरी, चिनियाँ लगानीमा खुलेको होङ्शी सिमेन्टलाई विद्युत आपूर्ति गर्न निर्माण भैरहेको बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइन आयोजनाको निर्माण भौतिक प्रगति झण्डै ४५ प्रतिशत छ । २० किलोमिटर लामो आयोजनाले ६७ टावर निर्माण गर्नुपर्ने छ । त्यसमध्ये ४० वटा टावरको जग हालिएको छ । बर्दघाट सब–स्टेसनको स्तरोन्नति अन्तिम चरणमा पुगेको छ ।

प्रसारण लाइनको टावर रहने स्थानको निजी जग्गा प्राप्ति, वन क्षेत्रको जग्गा प्रयोगमा रहेको अधिकांश समस्याहरु समाधान भैसकेको र निर्माण सामग्री आयोजनास्थलमा आइसकेकाले दुवै आयोजनाका काम  बढीमा ६ महिनामा सकिने बताइएको छ ।

प्रसारण लाइन र सब–स्टेसन निर्माणमा ढिलाइ हुँदा पर्याप्त विद्युत नपाएको गुनासो आएपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शुक्रबार र शनिबार आयोजनाहरुको निर्माणस्थल निरीक्षण गर्नुभएको छ । कार्यकारी निर्देशक घिसिङले आयोजना व्यवस्थापन, ठेकेदारसँग निर्माणमा रहेको जग्गा अधिकग्रहण, वन क्षेत्रको जग्गा प्रयोगलगायतमा देखिएका समस्याबारेमा जानकारी लिनुभएको छ । 

उहाँले बुटवल–लुम्बिनी १३२ केभी प्रसारण लाइन आयोजनाको निर्माण आगामी माघभित्र (जनवरी २०२०) र मैनहिया सब–स्टेसनको काम पुस (डिसेम्बर २०१९) भित्र सक्न निर्देशन दिनुभएको छ । प्रसारण लाइन र सब–स्टेसनको ठेकेदार कम्पनीहरुले तोकिएकै समयमा काम सक्ने प्रतिबद्धता जनाएका छन् ।

‘निजी जग्गा अधिग्रहण, वन क्षेत्रको जग्गा प्रयोगमा रहेका समस्या समाधान गरी हामी साइट उपलब्ध गराउँछौँ, अत्यन्तै महत्वका आयोजनाहरुको निर्माण जतिसक्दो छिट्टो सम्पन्न गर्न जनशक्ति थप्नुहोस्, समयमै काम सक्नुभयो भने फूलमाला लगाएर पुरस्कृत गर्छौँ, ढिलाइ गरेमा ठेक्का सम्झौतामा भएको व्यवस्थाअनुसार कारबाही प्रक्रिया अगाडि बढाउँछौं’,उहाँले ठेकेदार कम्पनीहरुलाई निर्देशन दिँदै भन्नुभयो । 

‘हालको प्रसारण तथा वितरण प्रणालीको क्षमतालाई नधान्ने भएकाले यस क्षेत्रका उद्योगलाई मागअनुसारको विद्युत् दिन सकेका छैनौँ, तपाईँहरुले छिट्टो काम गरिदिनुभयो भने विद्युत माग दुई सय मेगावाटभन्दा बढी बढ्छ, यस क्षेत्रको विद्युत् चुहावट करिब ५ प्रतिशत घट्छ’, उहाँले भन्नुभयो । 

घिसिङले बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइन आयोजनाको बर्दघाट नगरपालिका क्षेत्रमा जग्गा अधिग्रहणमा रहेको समस्या समाधान गर्न त्यहाँका मेयर धीरज शर्मासँग पनि छलफल गर्नुभएको छ । देशको औद्योगिक विकाससँग जोडिएका प्रसारण लाइनको निर्माणमा सहयोग गरिदिनसमेत घिसिङले आग्रह गर्नुभयो । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिमन्ट उद्योगसँग विद्युत् पुर्‍याउने  घोषणाअनुसार यो लाइन बनिरहेको हो । लाइन नपुग्दा होङ्शी सिमेन्टले अहिले डिजेलमार्फत विद्युत् उत्पादन गरी प्रयोग गरिरहेको छ । उद्योगको क्षमता विस्तार गर्न लागेकाले होङ्शीलाई मात्रै झण्डौ ८० मेगावाट विद्युत आवश्यक पर्ने बताइएको छ ।

यसैगरी, चितवनको भरतपुरदेखि नवलपरासीको बर्दघाटसम्मको २२० केभी प्रसारण लाइनको पनि निर्माण धमाधम भैरहेको छ । २४६ वटा टावरमध्ये १८० वटाको जग हालिएको छ भने १५१ वटा खडा गरिएको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया