काठमाण्डौ जिल्लाकै यस्तो ठाउँ, जहाँ बस चढ्न हिउँद कुर्नु पर्छ

 असोज ५, २०७६ आइतबार १३:४६:५ | रासस
unn.prixa.net

काठमाण्डौ – शङ्खरापुर नगरपालिकाको नाङ्लेभारे अझै पनि विकासमा निकै पछि परेको छ । यहाँको पटाप र  छापभञ्ज्याङ तामाङ बस्तीको बाहुल्यता रहेको बस्ती हो । यहाँका बासिन्दाले सहज रुपमा यातायात सेवा पाउन सकेका छैनन् । 

यस्तै साँखु, जरसिंह पौवा हुँदै मेलम्ची पुग्ने सडकखण्डमा बर्खाको समयमा गाडि चल्दैन । अरुबेला पनि यो सडकको अवस्था उस्तै छ । हिलो र खाल्डाखुल्डी गाडी चलाउन मुश्किल छ ।  केराघारीका बासिन्दा सवारीसाधन प्रयोग गर्न एक घण्टा उकालो चढेर छापसम्म पुग्छन् । स्थानीय वीरबहादुर तामाङ यातायातसँगै विद्यालय र स्वास्थ्य चौकीबाट समेत सेवा लिन सहज नभएको बताउनुहुन्छ ।

जहरसिंहपौवाबाट एक घण्टा हिँडेपछि पुगिने बस्ती हो घट्टेकुलो । यहाँका बासिन्दाले यातायातका साधन प्रयोग गर्न हिउँदको समय कुर्नुपर्ने अवस्था छ । गाउँघरमा कोही बिरामी हुदाँ बोकेरै जहरसिंहपौवा पुर्‍याउनुपर्ने अवस्था छ । ‘काठमाण्डौ भनेर के गर्नु ? बिरामीलाई बोकेरै अस्पताल पुर्‍याउनुपर्छ । सडक छ गाडी चल्दैन’, स्थानीय जीतबहादुर तामाङले भन्नुभयो । 

वडाध्यक्ष सन्तबहादुर वाइवा घट्टेकुलोसम्मको सडक मर्मत गरिने बताउनुहुन्छ । प्राकृतिक रुपमा रमणीय जहरसिंह पौवासम्म पुग्न निकै कठिन हुन्छ । हिलो र धुलोका कारण पर्यटक हैरान हुने गरेका छन् । चाबहिल–जहरसिंहपौवा सडकखण्डमा ठाउँ ठाउँमा खाल्टाखुल्टी छन् । ‘भय र त्रासमा यात्रा गर्नुपर्ने अवस्था छ’, सो सडकखण्डमा यात्रा गर्दै आउनुभएका सन्तोष चौलागाईंले भन्नुभयो ।

साँखु बजारबाट तीन किलोमिटर उक्लिने बित्तिकै छापभञ्ज्याङका बस्तीमा पुगिन्छ । लप्सेफेदी र नाङलेभारेमा बर्खाको समयमा बस चल्दैन । ‘बस चढ्न हिउँद नै कुर्नुपर्ने बाध्यता छ ।’ चौलागाईँले भन्नुभयो । साँखुबाट मेलम्चीसम्मको सडक कालोपत्रे गरिएको थियो । कालोपत्रे गरिएको ६ महिना बित्न नपाउँदै सबै उप्कियो । यहाँ विद्यालय पुग्न एक घण्टा उकालो चढ्नुपर्ने स्थानीयवासी गोमा तामाङ बताउनुहुन्छ । ‘हिँड्न नसक्दा कतिपय बालबालिका विद्यालय जानै मान्दैनन्’, उहाँले भन्नुभयो । 

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया