बझाङमा वडा कार्यालयमा आगजनी, कार्यालयका सामान र कागजात जलेर नष्ट

 असोज ५, २०७६ आइतबार १४:३८:४८ | डीबी बिष्ट
unn.prixa.net

बझाङ - बझाङ जिल्लाको केदारस्युँ गाँउपालिका-७ को वडा कार्यलयमा शनिबार राति आगलागी हुँदा कागजातलगायत धेरै सामाग्रीहरु जलेर नष्ट भएका छन् ।

वडा कार्यालयमा भएका रजिष्टर, सोफासेट, कम्प्युटर, सोलार सेट, फोटोकपी मेशिनलगायत दराजमा भएका सबै कागजातहरु जलेर नष्ट भएको वडा नम्बर ७ का वडाध्यक्ष प्रेम बोहराले बताउनु भयो ।

शनिबार मध्य रातमा नचिनेका मानिसहरुकाे समूहले वडा कार्यालय तोडफोड गरी कार्यालयको आगजनी गरेकाे धामीले बताउनु भयो । आफू शनिबार नवज्याेति प्राविको वार्षिक उत्सव कार्यक्रममा सहभागी भएको बताउँदै वडाध्यक्ष धामीले कसले र किन जलायो भन्ने कुरा थाहा नभएकाे बताउनुभयाे ।

स्थानीय बासिन्दाका अनुसार गाँउकै एक व्यक्तिले वडा कार्यालयमा आगजनी गराएकाे बताएका छन् । गाउँकै नरेन्द्र धामी भन्ने व्यक्तिले आफू विप्लव समूहमा आबद्ध भएको भन्दै वडा कार्यालय तोडफोडका सातै आगजनी गरेकाे स्थानीयकाे आराेप छ । उनीहरुका अनुसार आराेपित धामीले वडा कार्यालयकाे कम्प्युटर लिएर गएको र अहिले फरार रहेका छन् ।

स्थानीयका अनुसार आगजनीबाट वडा कार्यालयमा झण्डै १५/२० लाख रुपैयाँ बराबरको क्षति भएको छ । 

नेत्र विक्रम चन्द (नेकपा) विप्लव समूहका जिल्ला इन्चार्ज विराटले भने वडा कार्यालयमा आगजनी गरिएकाे घटनामा आफ्नो पार्टीको संग्लग्नता नभएको बताएका छन् । अहिले आफूहरुको यसरी आगजनी गर्ने कुनै कार्यक्रमहरु नभएको बताउँदै उनले ती व्यक्ति पहिला आफ्नो पार्टीमा आबद्ध रहेका भए पनि पछिल्लो समयमा उनी निष्कृय रहेको बताए ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेश बमले घटना स्थलतर्फ प्रहरी टोली गएको तर आधिकारिक जानकारी भने आइनसकेकाे बताउनुभयाे । 

वडा कार्यालय गाँउमै भएको महादेव आधारभूत विद्यालयको एउटा भवनमा कोठा भाडामा लिएर सञ्चालन हुँदै आएकाे थियो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया