वैज्ञानिक खोज, अनुसन्धान र नयाँ प्रविधिमा जोड दिऔँ : राष्ट्रपति भण्डारी

 असोज ५, २०७६ आइतबार २०:४५:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा हासिल गर्न वैज्ञानिक खोज तथा अनुसन्धानका माध्यमबाट प्राप्त ज्ञान तथा नवीनतम प्रविधिको प्रयोगमा जोड दिन सरकारलाई आग्रह गर्नुभएको छ । 

राष्ट्रपति भण्डारीले अध्ययन र अनुसन्धानको क्षेत्रमा प्राज्ञिक तथा शिक्षण संस्थाहरुलाई थप प्रोत्साहन हुनेगरी प्रतिभा विकास, पहिचान र उजागर गर्न राज्यका सबै निकायको ध्यान पुग्ने विश्वास पनि व्यक्त गर्नुभयो । आइतबार काठमाण्डौमा वरिष्ठ आँखा विशेषज्ञ डा. सन्दुक रुइतलाई ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार’ बाट सम्मान गर्दै उहाँले सरकारले विज्ञान, प्रविधि र अनुसन्धानको क्षेत्रमा प्रोत्साहन हुनेगरी राष्ट्रिय पुररस्कारहरु स्थापना गर्दै गएकोमा खुशी व्यक्त गर्नुभयो । 

राष्ट्रपति भण्डारीले नेपाल परापूर्वकालदेखि नै खोज, अनुसन्धानको थलोको रुपमा रहेको स्मरण गराउँदै त्यस्ता खालको ज्ञान र विज्ञानको विकास गर्न सम्बद्ध निकायहरु उत्तिकै अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले खोज तथा अनुसन्धानको क्षेत्रको विकासका लागि प्रोत्साहन गर्न सरकारले पुरस्कारको पनि व्यवस्था गरेको बताउनुभयो । उहाँले सरकारले कृषि क्षेत्रको विकासका लागि वैज्ञानिक अध्ययन र अनुसन्धानको कामलाई उच्च प्राथमिकता दिएको धारणा राख्नुभयो । 

आँखाको अनुसन्धानमा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत ख्याति कमाउनुभएका वरिष्ठ चिकित्सक रुइतलाई ५ लाख रुपैयाँ नगदसहित पुरस्कार प्रदान गरिएको हो । कार्यक्रममा राष्ट्रपति भण्डारीले युवा वैज्ञानिकद्वय रति मियाँ र विकल्प ढुंगानालाई पनि जनही २ लाख ५० हजार रुपैयाँसहितको ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा अनुदान सहायता’ पुरस्कार प्रदान गर्नुभएको थियो ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया