मोटरसाइकलमा यात्रा गर्दा यी कुरामा ख्याल गरौँ

 असोज ५, २०७६ आइतबार १५:१६:२६ | सिताराम हाछेथु
unn.prixa.net

दशैँमा घर जाँदा होस् या अरु कुनै यात्रामा निस्कँदा कोही गाडी चढ्नुहुन्छ, कोही मोटरसाइकल  । गाडीको तुलनामा मोटरसाइकलको यात्रा बढी असुरक्षित हुन्छ । अझै राजमार्गमा त झन् बढी जोखिम हुन्छ । 

यदि तपाईँ मोटसाइकलमा यात्रा गर्दै हुनुहुन्छ भने धेरै कुरामा सतर्क हुनुपर्छ । सबैभन्दा पहिले आफू जाने ठाउँको बाटोको बारेमा राम्रो ज्ञान हुनुपर्छ । जाने ठाउँको बारेमा सबै थाहा छ भनेर लापर्वाही गर्नुहुँदैन । त्यसैले बाटो कस्तो छ ? बाटोमा खाल्डाखुल्डी छन् कि ? उकालो–ओरालो के कस्तो छ ? सडक बनाइँदै छन् कि ? बनाइँदै छन् भने कस्तो अवस्थामा छ ? जस्ता सबै कुरा बुझ्नुपर्छ । 

सामान्य रुपमा भन्नुपर्दा बाटो पिच, ग्राभेल वा कच्ची छ कि कस्तो छ ? बाटो समथर, पहाडी, हिमाली कस्तो हो बुझेर जाने हो भने यात्रा सहज हुन्छ ।

बाटोको ज्ञान भएपछि मोटरसाइकलको कुरा आउँछ । तपाईँले चलाउने मोटरसाइकलको कण्डिसन राम्रो हुनुपर्छ । अनि त्यो मोटरसाइकल तपाईँ जाने ठाउँको बाटोमा सजिलोसँग जान्छ कि जाँदैन भन्ने थाहा पाउनुपर्छ । 

मोटरसाइकल सुरक्षित हुनको लागि आफ्नो उचाइ, तौल र शरीरको क्षमताले धान्ने खालको हुनुपर्छ । मोटरसाइकल ठूलो र चलाउने मान्छे सानो भयो कतै मोटरसाइकल ढल्किँदा उसले थाम्नै सक्दैन । मोटरसाइकल अग्लो र चलाउने मान्छे हाेचाे छ भने कतै खाल्डोमा पर्‍याे भने लड्न सक्छ । 

अर्काे कुरा भनेको मोटरसाइकल चलाउँदा बलियो हेलमेटको प्रयोग गर्नुपर्छ । आर्कषणभन्दा पनि सुरक्षातिर ध्यान दिनुपर्छ । सकेसम्म मोटरसाइकलमा पछाडि बसेर जाने मान्छेले पनि हेलमेट लगाउनुपर्छ ।

चालक र पछाडि बस्ने मान्छेलाईसजिलो किसिमको लुगा लगाउन पनि अनुरोध गर्छु । मोटरसाइकल चलाउन सजिलो हुने र पछाडि बस्नेले सजिलै बस्न र ओर्लिन सक्ने खालको लुगा लगाउनुपर्छ । विशेषगरी महिलाले कुर्ता सुरुवाल, पाइन्ट लगाउनुपर्छ । केटा मान्छेले पनि सजिलाेका लागि भनेर हाफ पाइन्ट लगाउनु हुँदैन । हाफ पाइन्ट लगाएर चलाउँदा लडिएकाे खण्डमा धेरै लाग्ने सम्भावना रहन्छ ।

लुगाको साथै सुरक्षाका लागि पञ्जा, बाक्लो किसिमको ज्याकेट, घुँडा र हातमा लगाउने प्याड, चस्मा, मास्कजस्ता सामान छन् भने तिनको पनि प्रयोग गर्दा अझै सुरक्षित हुन्छ । पानी पनि पर्न सक्ने भएकोले रेनकोट पनि लिएर जानुपर्छ ।

कहिलेकाहीँ स्वास्थमा समस्या आउन सक्छ, त्यसैले प्राथमिक उपचारको सामान र औषधिहरु साथमा लान सकिन्छ ।

कहिलेकाहीँ बाटोमा मोटरसाइकल बिग्रेर, पेट्रोल सकिएर अलपत्र परेका हामीले धेरै सुनेको छौँ । त्यसैले आफू जानुअघि जाने बाटोमा कहाँ कहाँ पेट्रोल पम्प छ, कहाँ कहाँ मोटरसाइकल बनाउने वर्कशप छ बुझेर निस्कनुपर्छ । यदि बाटोमा धेरैपछि मात्र पेट्रोल पम्प आउँछ भने बोतलमा पेट्रोल लैजान सकिन्छ साथै वर्कशप छैनन् भने कहीँ कतै वर्कशपको नम्बर लिएर बोलाउन पनि सकिन्छ । अहिले त गुगलमा गएर हेर्‍यो भने कहाँ के छ ? सबै थाहा भैहाल्छ ।

अनि मोटरसाइकल दुई जना यात्रु र केही सामान बोक्नका लागि बनाइएको हो । तर हाम्रोमा त मोटरसाइकलमा तीन जना बस्ने, गाडीमा जस्तो सामान लाने चलन छ । यसले त यात्रालाई झन् असुरक्षित बनाउँछ । सकेसम्म मोटरसाइकलमा दुई जना मात्रै र थोरै सामान मात्रै बोक्नुपर्छ ।

धेरै दुर्घटनाको कारण भनेको तीव्र गति हो । मान्छेसँगै सामान पनि बोकेर तीव्र गतिमा चलाउँदा झन् असुरक्षित भइन्छ । त्यसैले आफ्नो लेनमा रहेर बिस्तारै र मध्यम गतिमा यात्रा गर्नुपर्छ । राजमार्गमा ओभर टेक गर्दा बाटो हेरेर, विपरीत दिशाबाट आएको गाडीको गति बुझेर मात्रै गर्नुपर्छ । र ओभरटेक सधैँ दायाँबाट गर्ने बानी बसाल्नुपर्छ ।

अर्काे कुरा रमाइलो गर्दै जाने भनेर जाँड–रक्सी खाएर चलाउन हुँदैन । 

सडकमा गुड्ने ठूला सवारीबाट सजग रहने अनि सडकमा राखिएका ट्राफिक चिह्नहरुलाई हेर्दै अघि बढ्ने गर्दा सुरक्षित भइन्छ । ध्यान सबै सडकमा दिएर मोटरसाइकल हाँक्नुपर्छ । पछाडि बस्ने मान्छेसँग धेरै कुरा गरेर ध्यान यताउता गर्नु हुँदैन र पछाडि बस्ने मान्छेले पनि चालकलाई अप्ठ्यारो हुनेगरी बस्ने, बोल्ने र चल्ने गर्नु हुँदैन ।

बाटोमा जाँदा कहिलेकाहीँ रात पर्न सक्छ । यस्तो बेलामा भने अँध्यारोमा टल्किने खालको लुगा लगाएर मोटरसाइकल चलाउनुपर्छ । यसो गर्दा पछाडिबाट आउने अनि अर्काे दिशाबाट आउने गाडीले तपाईँलाई सजिलैसँग देख्न सक्छ । 

सडकमा बाटो काट्ने मान्छे र कुनै चौपायाहरु छन् भने यसबाट सचेत बन्नुपर्छ । सडकमा कहिलेकाहीँ मोबिल, बालुवा जस्ता धेरै कुराहरु पोखिएका र छरिएका हुन्छन्, यो कुरामा अझै बढी ध्यानु दिनुपर्छ । विशेषगरी मोडमा मोडिँदा यी कुरालाई ख्याल दिनुपर्छ ।

सबैभन्दा सानो र महत्वपूर्ण कुरा भनेको आफ्नो ब्लुबुक र लाइसेन्स आफूसँगै सुरक्षित राखेर यात्रा गर्नुपर्छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

सिताराम हाछेथु

हाछेथु ट्राफिक प्रहरीका अवकाश प्राप्त निरीक्षक हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया