'सरकारले पटक-पटक झुक्याइरहने हाे भने काठमाण्डाैकाे फाेहाेर सिसडोल र बन्चरेडाँडा थुपार्न दिँदैनाैँ'

 असोज ५, २०७६ आइतबार २०:४०:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सिसडोल र बन्चरेडाँडाका स्थानीय जनप्रतिनिधिहरुले काठमाण्डौको फोहोर व्यवस्थापन गर्न नदिने चेतावनी दिएका छन् । 

धुनिबेसी नगरपालिकाका मेयर बालकृष्ण आचार्य, ककनी गाउँपालिकाका प्रमुख मानबहादुर लामा र ककनी गाउँपालिका–२ का वडाध्यक्ष केदार पौडेलले स्थानीय जनतासँग गरिएका कुनै पनि सहमति हालसम्म कार्यान्वयनमा नआएको भन्दै काठमाण्डौको फोहोर सिसडोल र बञ्चरेडाँडामा व्यवस्थापन नगर्न नदिने चेतावनी दिएका हुन् । 

धुनिबेसी नगरपालिकाका मेयर आचार्यले सरकार र काठमाण्डौ महानगरपालिकाले स्थानीयको समस्या समाधान गर्न पटक पटक गरिएको आग्रहलाई बेवास्ता गरेको भन्दै आपत्ति जनाउनुभयो । ‘बञ्चरेडाँडामा काठमाण्डौको फोहोर व्यवस्थापन गर्न दिन सकिँदैन,’ मेयर आचार्यले भन्नुभयो, ‘स्थानीय जनतासँग गरिएका कुनै पनि सहमति कार्यान्वयन नभएकाले जनप्रतिनिधिको रुपमा आफूले त्यो ठाउँमा काठमाण्डौको फोहोर फाल्न दिन मिल्दैन ।’ 

संघीय संसदको विकास तथा प्रविधि समितिले यस सम्बन्धमा सरोकारवाला निकायसँग आइतबार बोलाएको छलफलमा भाग लिँदै उहाँले आश्वासन दिने तर कामै नगर्ने सरकारले स्थानीय जनतालाई पटक पटक झुक्याएको भन्दै आक्रोश पनि व्यक्त गर्नुभयो ।

बैठकमा ककनी गाउँपालिकाका प्रमुख मानबहादुर लामाले सिसडोलका जनतामाथि काठमाण्डौले अन्याय, अत्याचार गरेको उल्लेख गर्दै अब त्यहाँ फोहोर हाल्न नदिने चेतावनी दिनुभयो । दुई वर्षका लागि फोहोर व्यवस्था गर्ने भनिएको १४ वर्ष बितेको सम्झँदै उहाँले त्यहाँ फोहोर फाल्न दिने अवस्था नरहेको बताउनुभयो ।

स्थानीय जनता फोहोरकै कारण ठूल्ठूला रोगको शिकार हुने गरेका र त्यस बापत दिने भनिएको एम्बुलेन्ससमेत सरकारले उपलब्ध गराउन नसकेको प्रमुख लामाको भनाइ छ ।

ककनी गाउँपालिका–२ का वडाध्यक्ष केदार पौडेलले स्थानीयको समस्या तत्काल समाधान गरिदिन संघीय संसदको विकास तथा प्रविधि समितिको ध्यानाकर्षण गराउनुभयो । उहाँले सरकार र काठमाण्डौ महानगरपालिकाले स्थानीय जनतालाई पटक पटक झुक्याएकाले उनीहरुले समस्या गरिदेलान् भन्ने आशा नभएको पनि बताउनुभयो ।

काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भने काठमाण्डौको फोहोर व्यवस्थापनको काम राष्ट्रिय समस्या भएकाले यसको समाधानका लागि पनि राष्ट्रियस्तरकै छलफल हुनुपर्ने आवश्यक्ता रहेको औंँल्याउनुभयो । उहाँले काठमाण्डौको फोहोर व्यवस्थापन गर्न सिसडोल र बञ्चरेडाँडाका स्थानीयको माग सम्बोधन गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

यता सरकारले पनि सिसडोल बन्चरेडाँडाका स्थानीयको माग सम्बोधन गर्न प्रतिबद्ध रहेको जनाएको छ । शहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राईले सिसडोल र बञ्चरेडाँडाका स्थानीयको माग तत्काल सम्बोधन गर्न सरकार तयार रहेको बताउनुभयो । उहाँले काठमाण्डौको फोहोरको उचित व्यवस्थापन गर्न स्थानीय तहलाई अग्रसर हुन पनि आग्रह गर्नुभयो ।

सिसडोल र बञ्चरेडाँडाका स्थानीयले काठमाण्डौको फोहोर व्यवस्थापन गर्न नदिने चेतावनी दिएपछि संघीय संसदको विकास तथा प्रविधि समितिले समस्याको दीर्घकालीन समाधानका उपायको खोजी गर्न सरोकारवाला निकायसँगको छलफललाई अघि बढाएको हो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया