कांग्रेसकाे अवराेधबीच मनमोहन प्राविधिक विश्वविद्यालय विधेयक पारित, दौडिएर रोष्ट्रममा मन्त्री घिमिरे

 असोज ६, २०७६ सोमबार १८:१५:९ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ – कांग्रेसको अवरोधका बीच प्रदेश १ को प्रदेश सभामा पेश भएको मनमोहन प्राविधिक विश्वविद्यालयको व्यवस्था गर्न बनेको विधेयक पारित भएको छ ।

प्रदेश सभाको आइतबारको संसद बैठकमा नाराबाजीका बीच प्रतिवेदन प्रस्तुत भएकोमा सोमबार त्यो पारित भएको हो । सोमबार विधेयक पारित गर्ने क्रममा कांग्रेसका सांसदले मन्त्रीलाई रोष्ट्रम जान रोक्ने प्रयास गरेका थिए ।  सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई रोष्ट्रममा पुग्न निक्कै हम्मे परेको थियो ।  बैठकको सुरुमै कांग्रेसका सांसदहरुले नाराबाजी गर्दै रोष्ट्रम घेरेका थिए ।

मर्यादापालक जस्तै कालो कोर्टमा सदनमा देखिएका मन्त्री घिमिरे दौडिएर रोष्ट्रममा पुग्नु भएको थियो । अस्वभाविक तरिकाले कांग्रेसका सांसदलाई छलेर रोष्ट्रम पुगेका मन्त्रीलाई सत्तापक्ष नेकपाका सांसदले ताली बजाएर स्वागत गरेका थिए ।

मन्त्री घिमिरेले होहल्लाकै बीच मनमोहन प्राविधिक विश्वविद्यालयसम्बन्धी विधेयक पारित गरियोस् भन्दै प्रस्ताव पेश गरेपछि त्यो प्रस्ताव सभामुख प्रदिपकुमार भण्डारीले निर्णयार्थ पेश गरेपछि सत्ता पक्षका सांसदले  ‘हुन्छ’ भनेसँगै  विधेयक पास भएको हो ।

रोष्ट्रम घेर्न पुगेका कांग्रेसका महिला सांसदलाई पुरुष मर्यादा पालकले अस्वभाविक धरपकड गरेको भन्दै कांग्रेस सांसदले बेलबाटै सभामुखको ध्यानाकर्षण गराउन खोजेका थिए ।  यद्यपि सभामुखबाट त्यसकोे कुनै सुनुवाइ भने भएन । कांग्रेस सांसदले एकोहोरो बाटो छेक्ने कोसिस गर्दा मर्यादापालकसँग धकेलाधकेलसमेत भएको थियो ।

कांग्रेसकाे अवरोधका कारण दुई पटक स्थगित भएको संसद बैठक आइतबार पनि नाराबाजीका बीच सञ्चालन भएको थियो । कांग्रेसका सांसदहरुले रोष्ट्रममा गएर ‘संसदीय सर्वोच्चता कायम गर’, ‘अधिनायकवादी अभ्यास बन्द गर’ जस्ता नारा लगाएका थिए।

प्रदेश सभामा नेकपाको दुई तिहाई रहेको छ । नेपाली कांग्रेसको विरोधका बाबजुद सामाजिक विकास समितिको प्रतिवेदनसहित त्यो विधेयक आइतबार प्रदेश सभामा पेश भएको थियो । कांग्रेसले विधेयकमा समावेश गरिएको बोर्ड अफ् गभर्नस नियुक्ति प्रक्रिया र मनमोहन पोलिटेक्निक कलेजका सञ्चालकलाई संरक्षक बनाउनेलगायतका प्रावधानमा असहमति जनाएको थियो ।

अन्तिम अपडेट: चैत ७, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया