हतियारसहित पक्राउ परेका विप्लव नेतृत्वकाे नेकपाका भोजपुर सेक्रेटरी सार्वजनिक

 असोज ६, २०७६ सोमबार २०:१५:३४ | बुद्ध तामाङ
unn.prixa.net

भोजपुर – जिल्ला प्रहरी कार्यालय भोजपुरले हतियारसहित पक्राउ परेका नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका जिल्ला सेक्रेटरी बम विष्टलाई सार्वजनिक गरेको छ । प्रहरीले सोमबार पत्रकार सम्मेलन गरेर विष्टलाई सार्वजनिक गरेको हो ।

विष्टलाई आइतबार दिउँसो भोजपुर नगरपालिका–१०, भैसीपंखाको गजुरमुखी भिर नजिकको जंगलबाट हतियारसहित पक्राउ गरिएको थियो । विष्टको साथबाट ६ राउण्ड र चार राउण्ड गोली भरिएको इटालियन स्वचालित पेस्तोल दुई थान, ह्याण्ड ग्रिनेड एक थान बरामद भएको छ ।

त्यस्तै १२ वटा सिमकार्डसहित दुई वटा मोबाइल, चन्दाको माग गर्दै लेखिएका पत्र र पार्टीका पर्चाहरु पनि प्रहरीले फेला पारेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक(डीएसपी) नरबहादुर सलामी मगरले जानकारी दिनुभयो ।

पछिल्लो समय नगर क्षेत्रमा चन्दा आतंक गर्ने तथा आपराधिक घटना घटाउने योजनाअनुसार प्रतिबन्धित विप्लव समूहका कार्यकर्ताहरु हातहतियारसहित घुमफिर गरी रहेका छन् भन्ने विशेष सूचना प्रहरीले पाएको थियो । त्यही सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले भैसीपंखामा रहेको अँधेरी खोला नजिकै चेक गर्ने क्रममा विष्टलाई शंकास्पद अवस्थामा नियन्त्रणमा लिएको डीएसपी मगरले बताउनुभयो ।

पक्राउ परेका विष्टलाई जिल्ला अदालत भोजपुरबाट आइतबारबाट लागु हुने गरी हातहतियार खरखजना तथा विस्फोटक पदार्थसम्बन्धी कसूरमा मुद्दा दर्ता गरी थप अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ । 

अन्तिम अपडेट: चैत ७, २०८०

बुद्ध तामाङ

बुद्ध तामाङ भोजपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया