पिसाबको संक्रमण र बच्ने उपाय

 असोज ७, २०७६ मंगलबार १०:४३:२४ | विना न्याैपाने
unn.prixa.net

मिर्गौलाबाट पिसाबको थैली हुँदै नलीबाट बाहिर निस्कने जुनसुकै ठाउँमा किटाणुले  हुने संक्रमण पिसाब संक्रमण हो ।  पिसाब संक्रमण यौनअंगको सरसफाइ नगर्दा वा शरीरको कुनै भागमा भएको संक्रमण रगतको नली हुँदै पिसाब नलीमा पुग्यो भने हुने गर्छ । 

अहिले महिलामा यो समस्या धेरै देखिने गरेको छ । महिलामा नै किन धेरै पिसाबको संक्रमण हुन्छ ? संक्रमणबाट बच्न के के कुरामा ध्यान दिनुपर्छ भनेर साथी विना न्यौपानेले मेडीसिटी अस्पतालमा कार्यरत स्त्री रोग विशेषज्ञ डाक्टर विनय राजभण्डारीसँग कुराकानी गर्नु भएको छ । 

महिलामा हुने पिसाबको संक्रमणलाई कसरी बुझ्ने ? 

सामान्य भाषामा भन्दा पिसाबमा किटाणु हुनु भन्ने बुझिन्छ । पिसाबमा इन्फेक्सन  पुरुषको तुलनामा महिलामा धेरै हुन्छ । किनभने पिसाबको नली (युरेथ्रा)महिलामा छोटो हुन्छ । पुरुषमा त्यसको लम्बाई १८ सेन्टिमिटर हुन्छ भने महिलामा जम्मा चार सेन्टिमिटर हुन्छ । 

पिसाब थैली र पिसाब बाहिर आउने नलीको ग्याप थोरै हुनाले इन्फेकसन हुने सम्भावना धेरै हुन्छ । अर्काे भनेको पिसाब फेर्ने जुन ठाउँ छ र योनीको बाहिरी भागसँगै रहने हुनेले योनीको इन्फेक्सन र पिसाबको इन्फेक्सन एउटाले अर्काेलाई गराउने हुन्छ  । त्यसले गर्दा पनि महिलामा पिसाबको इन्फेक्सन हुने सम्भावना धेरै हुन्छ । 

अविवाहितमा भन्दा विवाहितमा धेरै हुन्छ भनिन्छ, यो कसरी हुन्छ ?

हाम्रो अनुभव तथा विभिन्न अनुसन्धानले पनि त्यही देखाएको छ । महिनावारी हुने समयमा ब्लडसँगै किटाणु आउने हुने पनि हुन्छ । त्यस्तै धेरै समयसम्म पिसाब रोकेर राख्दा पनि इनफेक्सन हुने सम्भावना हुन्छ । राम्रो बाथरुमको प्रयोग गरिएन, पिसाब फेरेपछि राम्रोसँग सफा गरिएन भने पनि महिलामा इन्फेक्सन धेरै हुन सक्छ । विवाहित महिला यौन रिलेसनमा हुने भएकाले इन्फेक्सन आउने सम्भावना धेरै हुन्छ ।

कस्तो लक्षण देखा पर्‍यो भने इन्फेक्सन भयो भने थाहा पाउन सकिन्छ  ? 

एउटा लक्षण देखाउने हुन्छ भने अर्को नदेखाउने हुन्छ  । लक्षण यस्तो हुन्छ :

  • तल्लो पेट दुख्ने,  
  • पिसाब फेरेपछि दुख्ने वा पोल्ने,
  • पिसाब गरेर आएपछि फेरि जान मन लाग्ने,
  • आधी आधी घण्टामा पिसाब फेर्न जान मन लाग्ने, तर थोपा थोपा आउने,
  • कहिलेकाहीँ पिसाबमा रगत देखा पर्ने,
  • राती तीन चार पटक पिसाब गर्न मन लाग्यो भने पिसाबमा इन्फेक्सन भयो भनेर शंका गर्नुपर्छ ।

तल्लो पेट दुख्ने भन्नु भयो । यो जति बेला नि दुख्ने हो कि के हो ?

पिसाब फेर्न लागेको बेलामा कटक्क पेट दुख्ने हुन्छ । कसै कसैलाई पिसाब फेर्नु भन्दा अगाडि पनि धेरै दुख्ने हुन्छ । कसैलाई पिसाब फेरेपछि दुख्ने पनि हुन्छ । यदि धेरै नै इन्फेक्सन भएको छ भने दुखिराख्ने पनि हुनसक्छ ।

इन्फेक्सन एक व्यक्तिबाट अर्काेमा सर्छ कि सर्दैन ?

अरु रोग जस्तो सर्ने रोग त होइन । तर सफा पानी प्रयोग गरिएन भने्, त्यो पानी इनफेक्सन भएको व्यक्तिले प्रयोग गरेको छ भने, बाथरुम सफा भएन भने माध्यम बन्न सक्छ र सर्छ ।

समयमा नै उपचार गरिएन भने कस्तो असर गर्छ ? 

  • सबै किटाणुले लक्षण देखाउँछ भन्ने हुँदैन । लक्षण देखाएन भने शरीरले रोगसँग लड्ने क्षमता छ भन्ने बुझिन्छ । तर लक्षण देखाएर पनि उपचार गरेनौँ भने अरु समस्या निम्त्याउँछ । 
  • सबैभन्दा पहिला पिसाबमा भएको इन्फेक्सन सर्दै गएर मिर्गौलमा गएर असर गर्छ । यसलाई पाइलोनेफ्राइटिस भनिन्छ । 
  • हनहनी ज्वरो आउने, कोख दुख्ने हुन्छ । 
  • त्यसबाट रगतमा जान सक्छ, त्यसलाई युरो सेप्सिज भन्छाैँ, त्यसले शरीरभरी ज्वरो फैलाउन सक्छ ।
  • पिसाब थैली र युरेथ्राको ठाउँमा मात्रै किटाणु सीमित भयो भने महिना महिनामा समस्या दोहारिन सक्छ  । 
  • मिर्गाैलाले काम नगर्ने हुन्छ  । 
  • पाठेघरको छेउ छेउमा र ट्युबमा फैलिने डर हुन्छ । 

कस्ता व्यक्ति यसको धेरै जोखिममा पर्ने सम्भावना हुन्छ  ?

  • धेरै जनासँग यौन सम्पर्क राख्ने व्यक्ति,
  • गर्भवती महिला, 
  • सुगर भएका महिला,
  • एचआईभी तथा लगातार भाइरल इन्फेक्सन भएको महिला,
  • एन्टिबायोटिक धेरै लिनुपर्ने अवस्थामा, 
  • सरसफाइमा ध्यान नदिने, धेरै दिनसम्म एउटै भित्री कपडा प्रयोग गर्ने, 
  • मिर्गौला, पिसाब नली तथा पिसाब थैलीमा पत्थरी भएको छ भने यो समस्या हुन सक्छ ।

यस्तोखालको समस्या नहोस् भनेर कसरी बच्न सकिन्छ ? 

  • सबैभन्दा पहिला हाइजिन मेन्टेन गर्नुपर्छ  । 
  • पिसाब धेरै समयसम्म रोक्नु हुँदैन ।  
  • डेढ दुई घण्टाको फरकमा पिसाब गर्नुपर्छ । 
  • पानी प्रशस्त पिउनु पर्छ । तर एकैपटक धेरै पिउनु हुँदैन । ५,६ लिटर एकैपटक पिउँदा मिर्गौलालाई भार पर्छ र झनै असर गर्छ । 
  • एकैपटक होइन कि समय समयमा तीन लिटर पानी एक दिनमा पिउने । एकपटकमा २ सय ५० एमएल मात्रै पिउने  ।
  • आफूले प्रयोग गर्ने बाथरुम सधैँ सफा हनुपर्छ । 
  • महिनावारीको समयमा प्रयोग गर्ने कपडा तथा प्याड समय समयमा फेर्नु पर्छ ।  
  • पिसाबमा केही समस्या हुने बित्तिकै अस्पताल जानु पर्छ ।  
     

अन्तिम अपडेट: चैत ११, २०८०

विना न्याैपाने

विना न्याैपाने उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया