ब्लड बैंककाे अभावमा रगत खोज्न सेनाका ब्यारेक धाउँदै डोटीका बिरामी

 असोज ७, २०७६ मंगलबार १६:५८:२ | विमल बिष्ट
unn.prixa.net

डोटी – जिल्ला अस्पताल डोटीले रगत आवश्यक परेकाे बेला नेपाली सेनाका ब्यारेकमा सम्पर्क गर्ने गरेको छ ।

जिल्ला अस्पताल डोटीमा ब्लड बैंक स्थापना भएको झण्डै पाँच वर्ष बित्न लाग्दासमेत सञ्चालनमा आउन सकेको छैन । ब्लड बैंक सञ्चालन गर्न नसक्दा अस्पतालले रगतका लागि नेपाली सेनालाई गुहार्ने गरेको छ । अस्पतालमा शल्यक्रियालगायत बिरामीलाई आवश्यक पर्ने रगत जहिले पनि नेपाली सेनाले उपलब्ध गराउँदै आएको छ ।

जिल्ला अस्पतालसहित अन्य कुनै पनि अस्पतालबाट रगत चाहियो भन्दै फोन आएपछि रक्तदान गर्न सेनाका जवान जाने गरेको डोटीको सिलगढीमा तैनाथ रहेको रुद्रध्वजगणका गणपति तथा प्रमुख सेनानी रत्नकेशर खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो रगत पाएमा बिरामी बाँच्छ भने किन रगत नदिने भन्ने लाग्छ, त्यसैले हामी जहिले जहाँ पनि रगत दिन तयार हुन्छौँ ।’

त्यस गणमा रहेका नेपाली सेनाका जवानदेखि अधिकृतहरु आवश्यक परेमा रगत नदिने कोही छैनन् । रगत दिनेहरुलाई ब्यारेकले एक हप्तासम्म गरुङ्गो अर्थात भारीकाम (धेरैपसिना) आउने काममा नलगाउने, आरामको सहुलियत दिने, हप्तादिनसम्म पोषिलो खानेकुरा दिने गरेको गणपति खड्काले बताउनुभयो ।

जिल्ला स्वास्थ्य कार्यालय डोटीका खोप अधिकृत रामस्वार्थ यादवले जिल्ला स्वास्थ्य कार्यालय डोटीमा रहेको ब्लड बैंक धेरै लामो समयसम्म रगत राख्न सक्ने क्षमताको नहुँदा सञ्चालनमा नआएको र रगतको समस्या आए ब्यारेक बाट माग्ने गरेको बताउनुभयो ।

जिल्लामा बिरामीलाई जुनसुकै समयमा पनि रगत दिइरहनु परेपछि रुद्रध्वजगणका गणपतिदेखि तल्लो तहका कर्मचारीसम्म सबैको रगत समूह छुट्याएर राखिएको गणले जनाएको छ । कस्ले, कहिले रगत दियो भनेर समेत जानकारी राख्ने गरिएको गणका सुबेदार मेजर भोजराज लामिछानेले जानकारी दिनुभयो ।

बिरामीलाई जु्न समूहको  रगत चाहिने हो त्यही रगत समूहको व्यक्ति अस्पतालमै गएर रगत दिने गरेकाे गणपति खड्काले बताउनुभयो । आफूले मात्र रगत दिनुपर्छ भन्ने नभए पनि मानवताका हिसाबले रगत दिने गरेकाे उहाँकाे भनाइ छ।

हालसम्म उक्त गणका १३० जनाले जिल्ला अस्पताल लगायत अन्य अस्पतालमा आएका बिरामीलाई रगत दान गरेको गणको तथ्यांकमा उल्लेख गरिएको छ ।

डोटीमा एचआईभी संक्रमितहरुको संङ्ख्या धेरै रहेकाले पनि रगत बढी आवश्यक पर्ने गरेको जिल्ला स्वास्थ्य कार्यालय डोटीका चिकित्सकहरुकाे भनाइ छ । जिल्ला अस्पताल डोटीका डा. गिरिष अवस्थीले जिल्ला अस्पतालमा पछिल्लो समय ठूलो खालको शल्यक्रिया हुन थालेपछि रगत बढी मात्रामा चाहिने गरेको बताउनुभयो ।

जिल्ला अस्पतालमा सबैभन्दा बढी रगत सुत्केरी (प्रसूति) गराउने महिलाहरुलाई आवश्यक हुने गरेको चिकित्सकहरुकाे भनाइ छ ।  

अन्तिम अपडेट: चैत २७, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया