अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध विपक्षीद्वारा महाअभियोगको औपचारिक प्रक्रिया सुरु

 असोज ८, २०७६ बुधबार ९:५७:५८ | एजेन्सी
unn.prixa.net

अमेरिकाको प्रतिनिधिसभाकी सभामुख न्यान्सी पेलोसीले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोगको प्रक्रिया सुरु गर्ने घोषणा गरेकी छिन् । 

डेमोक्रेट्सले औपचारिक रुपमा महाभियोग प्रक्रिया पनि सुरु गरिसकेको छ ।

ट्रम्पमाथि आफ्ना डेमोक्रेट्स प्रतिस्पर्धी जो बाइडन र उनका छोराविरूद्ध भ्रष्टाचारसम्बन्धी अनुसन्धान गर्न युक्रेनी राष्ट्रपति भ्लोदमिर जेलेन्स्कीमाथि  दबाव दिने प्रयास गरेको आरोप छ । राष्ट्रपति ट्रम्पले उक्त आरोप अस्वीकार गर्दै आएका छन् । 

यद्यपि, उनले आफ्नो राजनीतिक प्रतिद्वन्द्वीबारे युक्रेनका राष्ट्रपतिसँग कुरा गरेको भने स्वीकार गरेका छन् ।

नेन्सी पलोसीले ट्रम्पले अमेरिकाको संविधानको उल्लंघन गरेको आरोप पनि लगाएकी छिन् । उनले भनिन्, ‘राष्ट्रपति जवाफका लागि तयार हुनुपर्छ, कानुनभन्दा माथि कोही पनि छैन ।’

अहिलेसम्म अमेरिकाको कोही  पनि राष्ट्रपति महाभियोगमार्फत् हटेका छैनन् ।

जो बाइडनले पनि महाभियोगको प्रक्रियालाई समर्थन गरेका छन् । उनले भनका छन्, ‘ट्रम्पमाथि महाभियोग चलाउनु दुर्भाग्यपूर्ण हो, तर उनको आफ्नै व्यवहारले यस्तो भइरहेको छ ।’

ट्रम्पले महाभियोग उनका लागि राजनीतिक रुपमा सकारात्मक हुने बताएका छन् ।

के हो घटना ?

गएको साता अमेरिकाको गुप्तचर अधिकारीले राष्ट्रपति ट्रम्पले एक विदेशी नेतासँग कुराकानी गरेकोबारे जानकारी दिएका थिए । ती विदेशी नेता युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की थिए ।

इन्टेलिजेन्स इन्स्पेक्टर जनरलले सूचना दाताको जानकारी ‘ध्यानमा लिन योग्य भएको र विश्वसनीय’ मानेका थिए । यो जानकारीबारे डेमोक्रेट्सले संसदमा माग गरेका थिए तर ह्वाइट हाउस र न्याय विभागले यसबारे जानकारी दिन अस्विकार गरेका थिए ।

ट्रम्प र युक्रेनका राष्ट्रपतिबीच के कुरा भएको थियो भन्नेबारे थाहा भएको छैन तर ट्रम्पले र युक्रेनका राष्ट्रपतिसँग वाइडन र उनका छोराविरूद्ध भ्रष्टाचारसम्बन्धी अनुसन्धान गर्न दबाब दिएको आरोप डेमोक्रेट्सले लगाएको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया