प्रहरी र कृषि विकास बैंककाे सहकार्यले पाँच अर्ब रुपैयाँ चाेरी हुनबाट जाेगियाे

 असोज ८, २०७६ बुधबार १६:४७:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपालका विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट ५ अर्ब रुपैयाँ ह्याक गरेर चाेर्ने ह्याकरहरुकाे योजना विफल भएको छ।

प्रहरीका अनुसार विदेशी नागरिक काले भनिने पिटरले भारतमा बसेर ह्याकिङकाे याेजना बनाएका थिए । मुख्य याेजनाकार भारतमा बसेकाे र नेपाली नागरिकलाई प्रयोग गरेर कृषि विकास बैंक, पानस रेमिट, कैलाश विकास बैंक र नबिल बैंक लगायतका बैंक तथा वित्तीय संस्थाहरुबाट रकम निकाल्न लगाइएकाे थियाे ।

कृषि विकास बैंककाे लहान शाखाकाे कम्प्युटरबाट कृषि विकास बैंक, पानस रेमिट, कैलाश विकास बैंक र नबिल बैंक लगायतका बैंक तथा वित्तीय संस्थाहरुमा रहेका विभिन्न व्यक्तिगत खातामा रकम पठाइएकाे प्रहरीकाे प्रारम्भिक अनुसन्धानले देखाएकाे छ । ती खाताहरुबाट रकम निकाल्ने क्रममा केही व्यक्ति पक्राउ परेपछि चाेरीकाे रहस्य बाहिर आएकाे हाे। 

मुख्य याेजनाकार पिटरले नेपालका आफ्ना सहयाेगीहरुलाई नबिल बैंक, कृषि विकास बैंक लगायतमा चल्ती खाता खोल्न लगाइ ह्याक गर्दै आएको प्रहरीले बताएको छ। यस पटक ५ अर्ब रुपैयाँभन्दा बढी ह्याक गर्ने योजना बनाएर उनले नेपालमा रहेका सहयोगीसँग भेटघाट गरेको तथ्य पनि प्रहरीले अनुसन्धानका क्रममा पत्ता लगाएकाे छ।

यसरी गरियाे पक्राउ

असोज ५ गते आइतबार पानस रेमिटबाट स्टाफको आइडी प्रयोग गरेर ६ पटक एउटै व्यक्तिले ६०-६० हजार निकालेपछि शंका लागेर पानस रेमिटका कर्मचारीले प्रहरीमा खबर गरे । खबर पाएलगत्तै प्रहरी परिचालन गरियाे । रेमिटमा पेश गरेकाे आईडीका आधारमा प्रहरीले तीन जनालाई पक्राउ गरेकाे थियाे । पक्राउ परेकालाई साेधपूछ गर्दा निकालेकाे रकम नुवाकोटका लवाङलाई दिने गरेकाे बताएपछि त्यसै अनुसार राति १० बजे नै प्रहरीले लवामलाई पक्राउ गर्‍याे ।

पक्राउ परेका लवाङलाई प्रहरीले त्यो पैसा खै? भन्दा उनले पनि पुष्प भन्ने व्यक्तिलाई राख्न दिएको बताए । पानस रेमिटबाट तीन जनाले ६०-६० हजार रुपैयाँ निकालेकाे सूचना पाएकाे भए पनि पुष्प भन्ने व्यक्तिबाट प्रहरीले ३१ लाख रुपैयाँ बरामद गर्‍याे । फेरि उसलाई पनि त्यो पैसा कहाँबाट आयो भनेर सोधपुछ गर्दा कृषि विकास बैंकको खाताबाट झिकेको भन्ने उत्तर दिए । 

कृषि विकास बैंकको एउटा ठाउँको युजर आईडी प्रयोग गरेर अर्को शाखाको खाताबाट पैसा झिकेको प्रहरीकाे अनुसन्धानले देखाएकाे छ । 

झण्डै ५ करोड ट्रान्सफर गरियाे

कृषि विकास बैंकको लहान शाखाबाट मात्र झण्डै पाँच कराेड रुपैयाँ ट्रान्सफर भएकाे थाहा पाएपछि प्रहरीले यो यो खातामा यति यति रुपैयाँ ट्रान्सफर गरिएको छ भनेर कृषि विकास बैंकलाई सूचित गर्‍याे ।

ह्याकरले कृषि विकास बैंकको लहान शाखाबाट झण्डै ५ करोड रुपैयाँ ह्याक गरेर विभिन्न व्यक्तिको खातामा पठाएको देखियो । त्यसमध्ये १०-१५ लाख रुपैयाँ कैलाश विकािस बैंकको खातामा गएको देखियो । प्रहरीका अनुसार याे प्रकरणमा कैलाश बैंक आफैँ संलग्न भएको देखिएको छ । कैलाश बैंकभित्रको काे कर्मचारीकाे संलग्नता छ भन्नेबारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

काे काे पक्राउ परे?

प्रहरीले अनुसन्धानका क्रममा १२ जनालाई पक्राउ गरी उनीहरुबाट ६० लाख रुपैयाँ बरामद गरेको छ । पक्राउ परेकाहरुले हुण्डीमार्फत भारतमा बसेका व्यक्तिलाई पैसा पठाउने गरेको खुलेको छ । पक्राउ पर्नेहरुमा रसुवाकी लक्ष्मी लामा तामाङ, नुवाकोटका लवाङ तामाङ, रसुवाकी निर्मला तामाङ, निमा तामाङ, काठमाण्डाै काभ्रेस्थलीका सञ्जय घले, सर्लाहीका पुष्पराज खड्का, जमजुङका विद्यासागर लामिछाने रहेका छन् ।

त्यसैगरी तनहुँका श्रवणकुमार श्रेष्ठ, भक्तपुरकी सुनिता श्रेष्ठ, भारतको कलकत्ता घर भएर हाल काठमाण्डौ टेबहाल बस्ने शुबकन्दर पन्जा, कैलालीका विजय साह र चन्द्रबहादुर बुढालाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

महानगरीय अपराध महाशाखाका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले समयमै अनुसन्धान र खाेजी नगरेकाे भए झण्डै ५ अर्ब रुपैयाँ ह्याक हुनसक्ने सम्भवना रहेको बताउनुभयाे। उहाँका अनुसार प्रहरीको अनुसन्धान र कृषि विकास बैंकको सहकार्यले गर्दा ५ अर्ब रुपैयाँ चाेरी हुनबाट जोगिएको हाे । 

पक्राउ परेका सबैलाई बैंकिङ कसुर अन्तर्गत संगठित अपराधमा मुद्दा अघि बढाइएको छ । 

कृषि विकास बैंककै कर्मचारीकाे मिलेमताे रहेकाे छ भन्ने सुन्नमा आएकाे भन्ने प्रश्नमा थापाले कर्मचारीको आइडी प्रयोग भयाे वा भएन भन्नेबारेमा अनुसन्धान भैरहेकोले बैंकका कुनै पनि कर्मचारीलाई पक्राउ नगरिएकाे बताउनुभयाे । साथै उहाँले आईडी ह्याक भएको वा कर्मचारीले दिएको हो भन्ने पनि खुल्न नसकेको र त्यसबारेमा अनुसन्धान भैरहेकाे बताउनुभयाे । 

विच्याटबाट कुराकानी

भारतमा रहेका व्यक्तिसँग कुरा गर्न विच्याटकाे प्रयाेग गरिएकाे प्रारम्भिक अनुसन्धानले देखाएकाे छ । विच्याटमा ह्याकरले  भारतमा रहेका व्यक्तिलाई ५ अर्ब रुपैयाँसम्म ती व्यक्तिकाे खातामा राखिदिने विश्वास दिलाएकाे प्रहरीकाे अनुसन्धानले देखाएकाे छ । कमिसनका लागि ह्याकरहरुले नेपालीहरुलाई रकम झिक्ने काममा प्रयोग गरिएको पनि खुलेको छ ।

कृषि विकास बैंकको लहान शाखाबाट ११ वटा खातामा रकम ट्रान्सफर भएको र सबैभन्दा बढी ९९ लाखसम्म ट्रान्सफर भएको पाइएकाे छ । प्रहरीका अनुसार याे गिरोहले अरु बैंकबाट पनि पैसा झिक्न खोजेको देखिएको छ । नबिललगायतका केही बैंकबाट पैसा ह्याक गर्ने प्रयास भए पनि सफल नभएको अपराध महाशाखाका सहकुल थापाले जानकारी गराउनुभयो ।

पब्लिकको पैसा सुरक्षित छ: कृषि विकास बैंक 

कृषि विकास बैंकका उपमहाप्रबन्धक दीर्घ अर्यालले कृषि विकास बैंक २६७ शाखामध्ये लहान शाखाको मात्रै  रकम झिकिएको बताउनुभएकाे छ ।

साइबर सुरक्षाबारेकाे प्रश्नमा अर्यालले बैंकलेे विश्वकै तेस्रो सुरक्षित मानिने सिंगापुरको प्रविधि अपनाएकाे जानकारी दिनुभयाे । उहाँका अनुसार विकसित देशमा पनि ह्याकरले यस्ता घटना  नघटाउने हाेइनन्, तर बैंकसँग नागरिकको अरबौँ पैसा हुने हुनाले सकेसम्म सुरक्षित उपाय अपनाउने गरिन्छ । 

उहाँले कृषि विकास बैंककाे लहान शाखाबाट मात्रै ५ अर्ब रुपैयाँ चोर्न सम्भव नरहेको पनि जानकारी दिनुभयाे । लहान एउटै शाखामा यति धेरै रकम नहुने हुनाले ह्याकरले चाेरीका लागि अन्य बैंकलाईसमेत निशाना बनाएर ५ अर्ब रुपैयाँको लक्ष्य राखेको हुनसक्ने अर्यालकाे बुझाइ छ ।

अन्तिम अपडेट: बैशाख १, २०८१

1 Comments

  • dhama paudyal

    Sept. 26, 2019, 6:57 a.m.

    अब यो देश मा कतै केहि पनि सुर्क्षित छैन भन्ने प्रमाण हो यो । हामी जनाता ले जिउ धन को सुरक्षा को लागी कहाँ जाने ?

  •  0 Reply

तपाईको प्रतिक्रिया