प्रदेश १ : प्रदेश सभाको वर्षे अधिवेशन ६२ घण्टा ८ मिनेट चल्यो, १४ विधेयक पारित

 असोज ८, २०७६ बुधबार २०:२७:४ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ – प्रदेश एकको प्रदेश सभाको वर्षे अधिवेशन बुधबार अन्त्य भएको छ ।

जेठ १३ गतेदेखि सुरु भएको प्रदेश सभाको वर्षे अधिवेशन ५३ वटा बैठकमा जम्मा ६२ घण्टा ८ मिनेट सञ्चालन भएको प्रदेश सभाका सभामुख प्रदिपकुमार भण्डारीले जानकारी दिनुभयो ।

प्रदेश सभामा प्रस्तुत भएका विभिन्न विधेयकहरु समेत पारित गरेको छ । वर्षे अधिवेशनमा प्रदेश सरकारले सभामा पेश गरेको मनमोहन प्राविधिक विश्वविद्यालयमा देखिएको विवाद नै प्रदेश संसदमा प्रतिपक्षी र सत्तापक्षको विवाद चुल्यायो । मनमोहन प्राविधिक विश्वविद्यालय बाहेक अन्य कानुनहरु सहमतिका आधारमा आए ।

यी कानुन आए

१४ वटा विधेयक पारित गर्दै वर्षे अधिवेशन अन्त्य भएको छ । चौथो अधिवेशनको अन्त्यसम्ममा प्रदेश सभाबाट ५ वटा संशोधनसहित ४३ वटा विधेयक पारित भएको प्रदेश सभा सचिवालयले जनाएको छ । ४२ वटा विधेयक सर्वसम्मत पारित भए पनि मनमोहन प्राविधिक विश्वविद्यालयसम्बन्धी विधेयक भने बहुमतका आधारमा पारित भएको थियो । त्यस विधेयकमा कांग्रेसले असहमति जनाएपछि बहुमतका आधारमा कांग्रेसको विरोध र सदन घेराउबीच पारित गरिएको थियो ।

वर्षे अधिवेशनले प्रदेश लोक सेवा आयोग, जाँचबुझ तथा अनुसन्धान आयोग, भवन निर्माण, सहकारी, स्वायत्त संस्था गठनसम्बन्धी विधेयक पारित गरेको छ ।
यस्तै, गाउँ सभा र नगर सभा सञ्चालन, प्रदेशको सार्वजनिक लिखत प्रमाणीकरण कार्यविधि, विनियोजन र आर्थिक कार्यविधिलगायतका विधेयक पारित गरेको हो ।

यो अधिवेशनबाट प्रदेशसभामा टेबल हुन आएका सबै विधेयक पारित भएको सभामुख भण्डारीले बताउनुभयो ।  वर्षे अधिवेशनको अन्त्यको क्रममा प्रतिपक्षीहरुले सरकारको कडा अलोचना गर्दै सरकारको काम कारबाहीप्रति असन्तुष्टि जनाएका छन्  । 

अन्तिम अपडेट: चैत १४, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया