‘भ्वाइस सेवा’का ग्राहक ४ करोड १३ लाख, ‘फोर जी’ ग्राहक झण्डै ४० लाख पुगे

 असोज ८, २०७६ बुधबार २०:१०:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालमा भ्वाइस सेवाका ग्राहक ४ करोड नाघेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो रिपोर्टअनुसार भ्वाइस सेवाका ग्राहकको संख्या  ४ करोड १३ लाख ९५ हजार पुगेको हो ।

यसमध्ये मोबाइल ग्राहकको संख्या ४ करोड ५ लाख ९६ हजार रहेको प्राधिकरणको रिपोर्टमा उल्लेख छ । यस्तै, ल्याण्डलाइन ग्राहकको संख्या ७ लाख ९७ हजार छ ।

यसमध्ये नेपाल टेलिकमका ग्राहक २ करोड २ लाख रहेका छन् । एनसेलका भ्वाइस सेवाका ग्राहक १ करोड ६६ लाख ३७ हजार र स्मार्ट टेलिकमका ग्राहकको संख्या २० लाख रहेको छ ।

ल्याण्डलाइन, सीडीएमए र मोबाइल सेवाका गरी कुल ग्राहक ४ करोड १३ लाख ९५ हजार पुगेका प्राधिकरणले जनाएको छ । नेपालको जनसंख्या २ करोड ९५ लाख १४ हजार ७ सय ४५ लाई आधार मान्दा १ सय ४० प्रतिशत जनसंख्यामा भ्वाइस सेवा पुगेको छ ।

‘फोर जी’ ग्राहक झण्डै ४० लाख पुगे

चौथो पुस्ताको मोबाइल इन्टरनेट अर्थात ‘फोर जी’ सेवा विस्तारमा दूरसञ्चार सेवा प्रदायक कम्पनीहरु आक्रामक बनेका छन् । २०७३ सालको पुसबाट सुरु भएको ‘फोर जी’ सेवाका ग्राहक ३ वर्ष नपुग्दै झण्डै ४० लाख पुगेका हुन् ।

नेपाल दूरसञ्चार प्राधिकरणले प्रकाशित गरेको एमआईएस रिपोर्टअनुसार देशभरि फोर जी प्रयोगकर्ताको संख्या ३९ लाख ४३ हजार पाँच सय २७ पुगेको छ । यसमध्ये नेपाल टेलिकमका ग्राहकको संख्या ८ लाख ९३ रहेको छ ।

तर नेपाल टेलिकमले भन्दा ५ महिनापछि फोर जी सेवा सुरु गरेको निजी क्षेत्रको कम्पनी एनसेलले ग्राहक संख्या २९ लाख ३० हजार १ सय ८९ पुर्‍याएको छ । यस्तै स्मार्ट सेलले २ लाख १३ हजार फोर जी ग्राहक पुर्‍याएको छ ।

इन्टरनेट चलाउनेको संख्या १ करोड ९४ लाख

इन्टरनेट ग्राहकको संख्या १ करोड ९४ हजार पुगेको छ । दूरसञ्चार प्राधिकरणका अनुसार नेपाल टेलिकमको मोबाइल र अन्य माध्यममार्फत इन्टरनेट चलाउने ग्राहकको संख्या ९४ लाख १२ हजार पुगेको छ । यस्तै एनसेलका इन्टरनेट ग्राहक ६७ लाख ६९ हजार रहेका छन् । स्मार्ट टेलिकमका इन्टरनेट ग्राहक २ लाख १३ हजार छन् । 

इन्टरनेट सेवा प्रदायक अर्थात आईएसपीएसका ग्राहक पनि बढेका छन् । आईएसपीएसका ग्राहक ३० लाख ४६ हजार पुगेका छन् । १ करोड ९४ लाख इन्टरनेट ग्राहकमध्ये ५१ दशमलव ६४ प्रतिशत ग्राहक मोबाइल इन्टरनेटका रहेका छन्  । यस्तै तारसहितका फिक्स ब्रोडब्यान्ड ग्राहक १३ दशमलव ४१ प्रतिशत रहेका छन् भने ताररहित ब्रोडब्यान्ड सेवाका ग्राहक शून्य दशमलव ८३ प्रतिशत रहेका छन् ।

२ करोड ९५ लाख १४ हजार ७ सय ४५ जनसंख्यालाई आधार मान्दा ६५ दशमलव ८७ प्रतिशत जनसंख्यामा इन्टरनेट सेवा पुगेको  देखिएको छ । 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया