एसिड आक्रमणमा परेकी मुस्कानलाई वरुण धवन र कृति सेननले पठाए भिडियो सन्देश

 असोज ९, २०७६ बिहिबार १४:१८:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - केही हप्ताअघि वीरगञ्जमा १५ वर्षीया बालिका मुस्कान खातुनलाई स्थानीय दुई किशोरले एसिड प्रहार गरेका थिए । अहिले कीर्तिपुर अस्पतालमा उनको उपचार भैरहेको छ । 

अहिले बलिउडका दुई जना कलाकारले मुस्कानलाई भिडियो सन्देश पठाएर हौसला बढाउने काम गरेका छन् । अभिनेत्री कृति सेनन र अभिनेता वरुण धवनले मुस्कानलाई भिडियो सन्देश पठाएका हुन् । 

सुरुमा यो घटना थाहा पाइसकेपछि पहिला कृतिले मेहबूब स्टुडियोबाट मुस्कानलाई भिडियो सन्देश पठाएकी थिइन् । भिडियोमा मुस्कानले कृतिलाई ‘मलाई तपाईँ मनपर्छ’ र जवाफमा कृतिले ‘म तिमीलाई माया गर्छु’ भनेकी छिन् ।    

साथै कृतिले मुस्कानलाई आफ्नो स्वास्थ्यको ख्याल गर्न र अध्ययनमा ध्यान दिन सुझाएकी  छिन् । कृतिले भिडियाे सन्देशमा भनेकी छिन्, ‘तिमीले आफ्नो ख्याल गर्नेछौ र तिमीलाई चाँडै निको हुनेछ ।’

त्यसपछि कृतिले अभिनेता वरुण धवनलाई यो घटनाका बारेमा जानकारी गराएपछि उनी पनि यसै बस्न सकेनन् र मुस्कानलाई भिडियो सन्देश पठाए । वरुणले भने, ‘म मुस्कानलाई सबै माया र प्रार्थना पठाउन चाहन्छु । मलाई यसबारेमा थाहा दिएकोमा कृतिलाई पनि धन्यवाद !’

 

वरुणले मुस्कानलाई पढाइमा ध्यान दिन र निको भएपछि आफूसँग भेट्न आउन पनि भनेका छन् ।

त्यस्तै 'भ्वाइस अफ् नेपाल' सिजन-२ का कोच राजु लामाले पनि मुस्कानसँग भेटेर सँगै गीत गाउँदै उनको साहस बढाउने काम गरेका थिए । 

वीरगञ्ज महानगरपालिकाका-३ छपकैयाकी १५ वर्षीया छात्रा मुस्कान शुक्रबार बिहान विद्यालय जाँदै गरेको बेला उनीमाथि गएको भदौ २० गते स्थानीय दुई किशोरले एसिड प्रहार गरेका थिए ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया