असोज १३ गते नेपाललाई खुला दिसामुक्त क्षेत्र घोषणा गरिने !

 असोज ९, २०७६ बिहिबार २०:०:१ | भाेजेन्द्र बस्नेत
unn.prixa.net

काठमाण्डाै – आउँदो असोज १३ गते नेपाललाई खुला दिसामुक्त देश घोषणा गरिने भएको छ । 

देशका ७७ वटै जिल्लालाई खुला दिसामुक्त क्षेत्र घोषणा गरिसकेकोले असोज १३ गते विशेष समारोहका बीच नेपाललाई खुला दिसामुक्त क्षेत्र घोषणा गरिने खानेपानी तथा सरसफाइ मन्त्रालयले जनाएको छ । 

खानेपानी तथा सरसफाइ मन्त्रालय अन्तर्गतको खानेपानी तथा ढल निकास विभागको तथ्याङ्कअनुसार देशका ५६ लाख ६० हजार दुई सय १४ सबै घरधुरीमा चर्पी निर्माण कार्य सकिएको छ । पालिकाहरुको अग्रसरतामा सबै घरमा चर्पी निर्माण सकेपछि पालिकाहरु हुँदै सबै जिल्लालाई खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको विभागअन्तर्गतको राष्ट्रिय सरसफाइ स्वच्छता समन्वय समितिका सदस्य सचिव देवेन्द्र झा बताउनुहुन्छ । 

विक्रम संवत २०६८ साल असार १० गते पहिलो पटक कास्की जिल्लालाई खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको थियो । विक्रम संवत २०७६ साल असोज ४ गते भोजपुरलाई खुला दिसामुक्त क्षेत्र घोषणा गरिएपछि देशका सबै जिल्ला खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको हो ।    

के हो खुला दिसामुक्त क्षेत्र ?

सरसफाइ गुरु योजना २०६८ अनुसार ‘खुला दिसामुक्त भन्नाले खुलारुपमा दिसा नगर्ने अवस्थालाई बुझिन्छ । दिसामा झिँगा बस्न नसक्ने गरी खाल्डोमा ढक्कन लगाइएको अवस्थालाई (चर्पीमा) खुला दिसामुक्त जनाउँदछ । तर ढक्कन नभएको खाल्डोमा दिसा संकलन गरेपछि त्यो अवस्थाले चाहिँ खुला दिसायुक्त अवस्था नै जनाउँदछ ।’

राष्ट्रिय सरसफाइ स्वच्छता समन्वय समितिका सदस्य सचिव देवेन्द्र झा भन्नुहुन्छ, ‘ढल व्यवस्थापन, चर्पीको सही प्रयोग, चर्पीको सरसफाइ लगायतका कुराहरु पूर्ण सरसफाइ अन्तर्गत पर्छन्, खुला दिसामुक्त अभियान भनेको मात्र खुला ठाउँमा दिसा गर्ने काम रोक्नु, दिसा छोप्नु वा चर्पीमा दिसा गर्नु हो, यो पूर्ण सरसफाइको प्रस्थान बिन्दु हो ।’

जग्गा नभएका, घुमन्ते जीवन बिताइरहेका तथा सार्वजनिक शौचालयभन्दा पनि घर भएकाहरुमा ‘एक घर एक चर्पी’ बनाएर खुला दिसामुक्त क्षेत्र घोषणा गर्न लागिएको झा बताउनुहुन्छ । 

नेपालमा खुला दिसामुक्त अभियान

नेपालमा सरसफाइ गुरुयोजना २०६८ अहिले कार्यान्वयनमा छ । सन् १९९० को एक तथ्याङ्कअनुसार त्यसबेला नेपालमा ६ प्रतिशत घरधुरीले चर्पीको प्रयोग गर्थे । यस्तै सरसफाइ गुरुयोजना २०६८ कार्यान्वयन पूर्व नेपालका ४६ प्रतिशत घरधुरीले चर्पी प्रयोग गर्ने गरेकोमा अहिले सबै घरमा चर्पी बनाउने काम सकिएको खानेपानी तथा ढल व्यवस्थापन विभागको तथ्याङ्क छ । 

बग्रेल्ति समस्या 

भारतले पनि आउँदो असोज १५ गते आफ्नो देशलाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्दैछ । भारतभन्दा छिटो भएर दक्षिण एसियामै पहिलो खुला दिसामुक्त देश बन्नको लागि असोज १३ कै मिति तोकिएको खानेपानी तथा सरसफाइ मन्त्री विना मगरले सार्वजनिक कार्यक्रममै बताइसक्नुभएको छ । 

तर पहिलो हुने हतारले धेरै काम बाँकी हुँदै नेपाललाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्न लागिएको सरसफाइ क्षेत्रमा काम गर्नेहरु बताउँछन् । अझै थुप्रै घरमा चर्पी बन्न बाँकी रहेको, बनाइएका चर्पी प्रयोगमा आइनसकेको, चर्पी बनाउने नाममा प्यान मात्र जडान गरेर त्यहीँ भान्छा कोठा बनाएको जस्ता खबरहरु सार्वजनिक भइरहेका छन् । 

राष्ट्रिय सरसफाइ स्वच्छता समन्वय समितिका सदस्य सचिव देवेन्द्र झा पनि केही समस्या रहेको स्वीकार्दै भन्नुहुन्छ, ‘अहिले एक घर एक चर्पी बनाउने अभियान हो, यहीअनुसार काम भएका छन्, बाँकी रहेका केही समस्या सम्बन्धित पालिकाहरुले सल्टाउने प्रतिबद्धता गरेका छन्, सार्वजनिक शौचालय, भूमिहिन, घुमन्ते बसोबास भएकाहरु, ढल निकास लगायतको समस्या पूर्ण सरसफाइ कार्यक्रममा समेटिनेछ ।’   

अब पूर्ण सरसफाइ अभियानतर्फ 

राष्ट्रिय सरसफाइ स्वच्छता समन्वय समितिका सदस्य सचिव देवेन्द्र झा असोज १३ गते नेपाललाई खुला दिसामुक्त क्षेत्र घोषणा गरेर त्यही दिन पूर्ण सरसफाइ अभियानको घोषणा गर्ने बताउनुहुन्छ । 

पूर्ण सरसफाइमा योजना तर्जुमा तथा व्यवस्थापन, चर्पीको समुचित प्रयोग, व्यक्तिगत सरसफाइ, सुरक्षित पानीमा पहुँच तथा प्रयोग, सुरक्षित खानाको प्रयोग, घरायसी एवं संस्थागत सरसफाइ र वातावरणीय सरसफाइ गरी सात वटा सूचक तोकिएका छन् । यी सूचकमा रहेर कार्यक्रम कार्यन्वयन हुँदा खुला दिसासम्बन्धी समस्याहरु समाधान हुने सदस्य सचिव झा दाबी गर्नुहुन्छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

भाेजेन्द्र बस्नेत

भाेजेन्द्र बस्नेत उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया