प्रदेश योजना आयोग भित्रको विवाद सतहमा, सदस्य र उपाध्यक्षबीच तीव्र असन्तुष्टि

 असोज १०, २०७६ शुक्रबार १०:४२:४५ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ – एक नम्बर प्रदेश योजना आयोगका उपाध्यक्ष र सदस्यहरुबीच विवाद सुुरु भएको छ । उनीहरुबीच कार्यशैलीको विषयलाई लिएर एक अर्काेलाई दोषारोपण गर्दै विवाद सिर्जना भएको हो । प्रदेशमा आयोग गठन भएको ९ महिना पुग्दा पनि खासै काम गर्न नसकेको आरोप खेप्दै आएको आयोग भित्रको विवादको कुरा बाहिर आएको हो ।

उनीहरुबीचको विवाद राष्ट्रपतिसम्म पुगेको छ । उपाध्यक्ष सुवोधराज प्याकुरेलले सदस्यहरुलाई मतलब नगर्ने, आफ्नो निर्णय मात्रै लागु गर्न खोज्ने, कार्यक्रमहरुमा समन्वय नगर्ने गरेको आरोप सदस्यहरुले लगाउँदै आएका छन् ।

उनीहरुले आन्तरिक रुपमै असन्तुष्टि जाहेर गरिरहेको बेला प्रदेश योजना आयोगले गर्ने सार्वजनिक कार्यक्रमको विषयमासमेत जानकारी हुन छोडेपछि विवाद बाहिर आएको हो । बुधबार गैह्र सरकारी संस्था महासंघसँग मिलेर प्रदेश योेजना आयोगले गरेको कार्यक्रममासमेत सदस्यहरुले जानकारी नपाएपछि यो विषय सतहमा आएको हो ।

२०७५ मंसिर १९ गते गठन भएको प्रदेश योजना आयोगमा अझै २ जना सदस्य थप गर्न बाँकी छ । प्रदेश योजना आयोग निकट स्रोतले भन्यो, ‘म ठूलो हुँ भन्दै उपाध्यक्षले हेप्न खोज्नु भयो ।’ यो विषयमा उनीहरुले माथिल्लो निकायमा समेत असन्तुष्टि राखेका छन् ।  सदस्य र उपाध्यक्षबीच राम्रो बोलचाल समेत हुन छाडेको छ ।

केही समयदेखि सदस्य पूर्णलक्षम लिम्बू र उपाध्यक्ष प्याकुरेलबीच राम्रो बोलचाल छैन । उनीहरुको विवादका कारण आयोगको बजेटमासमेत असर परेको बताइएको छ । बजेटका विषय पर्याप्त छलफल नगर्दा बजेट भाषणमा आयोगलाई चाहिने बजेट नछुट्टिएकाले असर परेको कर्मचारी बताउँछन् ।

आयोगका सदस्य पूर्णलक्षम लिम्बूले भने आयोगका उपाध्यक्षले अभिभावकत्व निर्वाह गर्न नसकेको बताउनुभयो । लिम्बूले भन्नुभयो, ‘कतिपय कार्यक्रममा हामीलाई थाहा हुँदैन, हाम्रो मतलबै राखिँदैन  ।’

उपाध्यक्षका आफ्नै पीडा 

प्रदेश योजना आयोगका उपाध्यक्ष  सुवोध प्याकुरेल भने घर भित्रको सामान्य समस्या समाधान हुने बताउनुहुन्छ ।  उहाँले योजना आयोगमा सदस्यहरुबीचमा कार्य जिम्मेवारी बाँडफाँड गरेर काम भइरहेको र सदस्यहरुले पनि सोही अनुसार आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको बताउनुभयो । उहाँले भन्नभयो ‘उपाध्यक्षले हामीलाई नसोधि सार्वजनिक कार्यक्रममा पनि जान हुँदैन भन्ने भ्रम सदस्यहरुलाई रहेछ ।’ यस किसिमको भ्रममा नपर्न उहाँले आग्रह पनि गर्नुभयो ।

योजना आयोगले गर्ने कामहरुमध्ये  सदस्यहरुको जिम्मेवारीको बाँडफाँड गर्ने  र समन्वय गर्ने,  प्रशासनिक कामको निर्णय दिने, सर्वोच्च नीतिगत निर्णय गर्न बसेको मुख्यमन्त्रीसहितको बैठकलाई सहजीकरण गर्ने काम नै उपाध्यक्षको रहेको प्याकुरेलले बताउनुभयो । ‘सदस्यहरुले कुरा नबुझेर नै यो भ्रम सिर्जना भएको हो ।’ उपाध्यक्ष प्याकुरेलले भन्नुभयो ।

केही कुरामा स्पष्ट नहुँदा गुनासो आउन सक्छ तर ती कुरा आपसमा बसेर मिलाउने उहाँले बताउनु भयो ।  कुनै पनि संस्थामा सूचना आदान प्रदान रोकिँदा पनि समस्या हुनसक्ने प्याकुरेलको भनाइ छ ।

कतिपय आफ्नो क्षेत्रअधिकार बाहेकका कुरामा पनि उहाँहरुले चासो राख्ने र आफुहरुलाई जानकारी दिनु पर्ने भन्दै अनावश्यक विषय जोड्ने गरेको प्याकुरेलले बताउनुभयो ।  
 
फेसबुकमा आएको फोटोले तरंग

केही दिन अघि दुई जना सदस्य मिना भण्डारी र पूर्णलक्षम लिम्बूले मात्रै राष्ट्रपतिलाई भेटेको प्रसंगले समेत आयोगभित्र हल्लिखल्ली मच्चिएको छ ।  सदस्य भण्डारी र लिम्बूले राष्ट्रपतिलाई भेटेको फोटो सामाजिक सञ्जालमा राखेका छन् । यस विषयले आयोग भित्रका तिता कुरा राष्ट्रपति कार्यालयसम्म पुगेको हुनसक्ने  भन्दै थप असन्तुष्टि चुलिएको छ ।

आयोगका सदस्यबीच मतमतान्तर भए पनि सात वटा प्रदेशमध्ये १ नम्बर प्रदेशको आवधिक योजना राम्रो बनेको आयोगको दाबी छ । आउँदो आइतबार वा सोमबार आयोगले प्रदेशको आवधिक योजना सार्वजनिक गर्ने कार्यक्रम तय गरिसकेको छ ।

प्रदेश योजना आयोगमा तत्कालीन एमालेको तर्फबाट उपाध्यक्षमा सुवोध प्याकुरेल र सदस्यमा मीना भण्डारी र तत्कालीन माओवादीबाट पूर्ण लक्षम लिम्बू रहेका छन् ।

अन्तिम अपडेट: फागुन २९, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया