प्रधानमन्त्री ओलीका समकालीन खम्बूको संस्मरण ‘छायाँको लस्कर’ सार्वजनिक

 असोज १०, २०७६ शुक्रबार १२:५०:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - प्राध्यापक केआर खम्बूको जीवनकथा 'छायाँको लस्कर' सार्वजनिक भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले पुस्तक सार्वजनिक गर्नु भएको हो । प्रधानमन्त्री ओलीले खम्बूको पुस्तकले आफूलाई विगतका संघर्षशील दिनहरू सम्झना गराएको उल्लेख गर्नुभयो ।

प्राध्यापक खम्बू झापाको वामपन्थी आन्दोलनदेखि नै राजनीतिमा क्रियाशील व्यक्तित्व हुनुहुन्छ । उहाँ झापा आन्दोलनताका प्रधानमन्त्री केपी ओलीलगायतका नेताहरूसँग निकट रहेर काम गरेका राजनैतिककर्मी पनि हुनुहुन्छ । पछिल्लो चरणमा भने उहाँ प्राज्ञिक क्षेत्रमा क्रियाशील हुनुहुन्छ।

'यो पुस्तकले मलाई आफ्नो विगतको सम्झना गरायो । यस पुस्तकले एउटा राजनैतिक आन्दोलनको कथा समेटेको छ', प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘यो पुस्तकको नाम ‘छायाँको लस्कर’ छ । यहाँ अनुहारहरूको कुरा छैन छायाँको कुरा छ; किनभने खम्बूजीको स्मृतिमा अहिले अनुहारहरू होइनन् छायाँहरू छन् र उहाँले तपाईँ हामी कसैलाई पनि वा जीवनसाथी शुभलक्ष्मीलाई पनि छायाँको रुपमा मात्र महसुस गर्न सक्नु हुन्छ ।‘

नेत्र-ज्योति गुमेका प्राध्यापक केआर खम्बूको वर्तमान अवस्थालाई संकेत गर्दै प्रम ओलीले भन्नुभयो, ‘तर खम्बूजीले देख्न छोड्नु भएको छैन । उहाँको अन्तरदृष्टि खुलस्त छ ।'

प्रधानमन्त्री ओलीले आफू भूमिगत हुँदा लेखकसँग निकट रहेको जानकारी मात्र गराउनु भएन, उहाँले आफ्नै परिचित शैलीमा केआर खम्बूसँगको संगत र निकटताको प्रसंग कोट्याउँदै केही रोचक क्षणहरूको पनि सम्झना गर्नुभयो ।

‘यो किताबमा उहाँको संघर्षशील जीवनको गाथा, व्यथा प्रकट भएको छ । झापा आन्दोलन र त्यसको विस्तारमा र साथै कोअर्डिनेसन कमिटी बनाउँदा ताकादेखि खम्बूजीसँग मेरो संगत हो । तर यो पुस्तकमा मेरो मात्र होइन धेरैको कथा समेटिएको छ', प्रधानमन्त्री ओलीले भन्नुभयो ।

'छायाँको लस्कर' र लेखकका बारेमा प्राध्यापक जङ्गब चौहानले परिचयात्मक टिप्पणी गर्नु भएको थियो । केआर खम्बू आफ्नो मन मिल्ने सहपाठी भएको जानकारी गराउँदै प्राध्यापक जङ्गबले पनि विगतका दिनहरूको सम्झना गर्नुभयो । उहाँले विराटनगरमा क्याम्पस पढ्दाका दिनहरू सम्झँदै लेखक खम्बूबारे आफ्नो धारणा राख्नुभयो ।

'छायाँको लस्कर'मा लेखकले आफूले भोगेको समय र राजनैतिक परिघटनालाई समेटेका छन् । प्राध्यापक जङ्गब पुस्तकबारे यस्तो धारणा राख्नुभयो, 'पुस्तक लेखकको जीवनका भोगाइको वरपर घुमेको र यसका मूल पात्रहरू त्यसबेलाका माले, एमालेका नेताहरू छन् । तर पनि खम्बूको सरल अनि रसिलो भाषाले पुस्तक पढ्दा साहित्यिक कृतिको आनन्द आउछ ।'

प्रधानमन्त्रीबाट आफ्नो पुस्तक सार्वजनिक गराउन पाएकोमा आफू प्रफुल्ल भएको जानकारी गराउँदै प्राध्यापक खम्बूले किताबको रचनागर्भको बारे प्रष्ट्याउनु भएको थियो ।

नेपालय पब्लिकेसन्सले प्रकाशन गरेको 'छायाँको लस्कर'३७० पृष्ठमा समेटिएको छ । पुस्तकको मूल्य ५४५ रुपैयाँ रहेको छ । 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया